• २०८२ आश्विन ८, बुधबार

काठमाडौँमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

काठमाडौं, असार ५ गते ।

नेपाल मिथिला येँ ग्यालरीमा ‘इनोभेसन अफयुथ’ शीर्षकमा राखिएको कलाप्रदर्शनी आइतबार समापन भएको छ ।
भारतका चित्रकार सञ्जयकुमार सहानी र श्रीमती सञ्जिदा खनामका कलाकृति एकैसाथ प्रदर्शनमा राखिएको हो । सञ्जय र सञ्जिदाका २० वटाभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन् ।

‘इनोभेसन अफ युथ’ शीर्षक राखिएको ‘कन्टेम्पोररी’ कला प्रदर्शनीमा युवा र प्रकृतिलाई केन्द्रीत गरेर कोरिएका कला देख्न सकिन्छ । सञ्जयका अनुसार पाँचदिनको कला प्रदर्शनमा विभिन्न रंगहरु मिसाएर बनाइने कलाको ‘लाइभ डमोस्ट्रेसन’ पनि देखाएको हो ।

गत २५ वर्ष देखि कला क्षेत्रमा लाग्नुभएका सञ्जयले अहिलेको पुस्ताले प्रकृति, शिक्षा, घर, भविष्य, समाज र परिवारको मानसिक दबाब बोकेर हिँड्नुपरेको यथार्थलाई कलामार्फत् अभिव्यक्त गरेको बताउनुभयो ।
आजको समयमा युवाले बोकेको बोझ जुनसुकै भूगोलमा पनि एकै खालको रहन्छ, आफ्ना कलाकृतिले सबै भूगोलका युवाअवस्थालाई चित्रण गर्ने उहाँको अनुभव छ। ‘कन्टेम्पोररी’ अर्थात् समकालीन आर्ट भनेकै कलामार्फत् चरित्र झल्काउने काम भएको उहाँको भनाइ छ ।

“चित्रकारले आफ्नो कलामा सधैँ विचारलाई प्राथमिकता दिने गर्छ अर्थात् कलाले भूत, वर्तमान र भविष्य देखाउने गर्छ,” सञ्जय भन्नुहुन्छ, “प्रत्येक घरका भित्तामा प्रकृति झल्काउने चित्र राख्ने हो भने ‘प्रकृतिलाई जोगाऔं’ भन्ने भाव आउँछ ।”

लामो समयदेखि नेपालमा एकल चित्रकला प्रदर्शनी गरेको अनुभव रहेको बताउँदै उहाँले समकालीन कलामा प्राकृतिक चरित्र झल्किने गरी कला कोर्नु पर्ने बताउनु भयो । सञ्जयका लागि कला जीवनको पाटो हो । आफूले कल्पना गरेको र बाँचेको क्षणनै कलामा उतार्ने गरेको उहाँले बताउनुभयो।