जेठ २५, काठमाडौँ
शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाद्वारा थाहा पुस्तकालय, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्की को निबन्धकृति जीवनका विविध आयामको लोकार्पण गरिएको छ कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य वरिष्ठ आख्यानकार माया ठकुरीले लोकार्पण गरेकी हुन् ।
कार्यक्रममा मातृभमि साहित्य समाजद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको मायादेवी मातृभूमि साहित्य पुरस्कार गङ्गा कर्माचार्य पौडेल, मायादेवी साहित्य सेवा सम्मान सविता श्रेष्ठ बेहोसी र मातृभूमि सामाजिक सेवा सम्मान हाम्रो बाल संरक्षण धरोहर नेपालकी सञ्चालिका बिनिता अर्याललाई प्रदान गरिएको थियो । उक्त पुरस्कार तथा सम्मान अन्तर्गत क्रमशः नगद रु २१ हजार, ११ हजार र १० हजार पनि रहेको थियो । ती सबै पुरस्कार र सम्मान लेखिका रुकु कार्कीले स्थापना गरेकी हुन् ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माया ठकुरीले रुकु कार्कीको लेखन यात्राको आफू पनि साक्षी रहेको बताउँदै नयाँ कृतिका लागि बधाई दिइन ।
विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले कार्कीको बन्धनबाट मुक्ति कृतिबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै नयाँ कृति पनि उत्तिकै पठनीय भएको धारणा राखे ।
कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले व्यक्ति, घटना र विषय केन्द्रित निबन्धहरू रहेको लोकार्पित कृतिमा निबन्धकारका विचार र धारणाहरू स्पष्टसँग आएको उल्लेख गरे ।
वरिष्ठ समालोचक ज्ञानु अधिकारीले रुकु कार्कीले आफ्ना निबन्धहरूमा आफूलाई इमानदारीका साथ प्रस्तुत गरेको बताउँदै उनका निबन्धहरू अर्गानिक भएको बताइन् ।
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल र संस्थापक अध्यक्ष ह्यग्रीव आचार्यले समाजको स्थापना, विभिन्न पुरस्कारहरू र संस्थाका गतिविधिहरूबारे जानकारी दिँदै समाजलाई अझ अगाडि बढाउन सक्रिय भएर लाग्ने अठोट व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनमा सहकार्य अझ बढ्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा हेटौंडाका कविहरूको कविता वाचन कार्यक्रम काठमाडौंमा गर्ने विषयमा योजना बनाउँदै गरेको जानकारी दिए ।
कार्यक्रममा लोकार्पित पुस्तकका स्रष्टा रुकु कार्की, थाहा पुस्तकालयका अध्यक्ष अस्मिता सुमार्गी, गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ र पुरस्कृतहरूका तर्फबाट गङ्गा कर्माचार्य पौडेल तथा कवि यादव भट्टराईले पनि बोलेका थिए ।