• २०८१ मंसिर २९ शनिवार

उपाध्यायको बालकविता ‘साइकल’ सार्वजनिक

कास्की- साना बालबालिका उपहार पाउँदा खुसी हुन्छन् । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहका बीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन ।

अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको अमोस सेवा नेपालमा उनले बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बालकविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

बाल मनोविज्ञानलाई नयाँ बिम्ब प्रतीक मार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचार मार्फत् चेतनापनि सँगसँगै भर्छन् । प्रमुख वक्ताको रुपमा सहभागी फेदीखोला गाउँपालिका नवनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखन मार्फत् आवाज उठाउँदै आएको तारिफ गरे ।

अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता सहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरेका छन् । सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेख, रचना प्रकाशन गरेको समेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिबद्धता समेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौँ । प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्दछु ।’

फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रय विहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् । उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्यकार्यका लागि भरपर्दो सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपालकी विद्यार्थी अमृता गुरुङले बालबालिकाको विषयमा बोलेकी थिइन् ।

‘साइकल’ उपाध्यायको तेस्रो कृति हो । यस अघि उनको एक गजल संग्रह र चिल उड्यो आकाशुमा बालकविता संग्रह प्रकाशन भइसकेका छन ।