• २०८० फागुन ९ बुधबार

आठ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षा सेवामा समर्पित शिक्षाविद् डा. सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी सनातन हिन्दू धर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्रा.डा. माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमि प्रति गरेको विशिष्ट योगदानका निम्ति श्री भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देश देशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत जनमनका प्रिय कलाकार श्री सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा.डा. दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा. भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।

गीति कविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै मैथिली तथा नेपालीभाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेले वापत डा. रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्र सहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो ।