क्यानभासले भनिरहेका महिलाका व्यथा - Aksharang
  • २०७९ असार १६ बिहीबार

क्यानभासले भनिरहेका महिलाका व्यथा

रजस्वलामा हुने विभेद मात्र नभई समाजले दिने अन्य प्रताडनालाई चित्रमा उतारिएको छ ।

काठमाडौँ- सुदूरपश्चिममा अझै पनि महिनावारीको बेला महिलालाई छाउगोठमा राख्ने छाउपडी प्रथा यथावत् छ । शिक्षित र सहरिया घराना भनिएकाहरू कहाँ समेत आफ्नै प्रकारका छाउ घर छन् ।

भूगोल र संस्कार फरक होला तर रजस्वलालाई प्राकृतिक रूपमा स्विकार नगर्ने जमात अझै पनि कायम नै रहेको चित्रकार रुकुमनी श्रेष्ठको ठम्याइ छ । ललितपुर, लुभुको सहरी माहोलमा जन्मे हुर्किएकी उनी आफ्नो रजस्वला पीडा पनि सुदूर पश्चिमका महिलाको व्यथाभन्दा भिन्न नभएको जिकिर गर्छिन् । रजस्वलाको समयमा हुने शारीरिक पीडा त्यसमाथि धर्मका नाममा हुने सामाजिक विभेदलाई भोगेकी श्रेष्ठले यी सम्पूर्ण पीडालाई चित्रमा पोखेकी छन् ।

रजस्वलालाई मुख्य विषय बनाएर महिलाका पीडाहरू चित्रण भएका उनका प्रिन्ट इचिङ माध्यमका कलाकृति अहिले पाटन ढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । चित्रकार श्रेष्ठले पनि सुदूरका महिलाले जस्तै छाउ बारिन्  । रजस्वलाको समयमा घरदेखि बाह्य परिवेशमा अलग्गै बस्नुपरेको तीतो अनुभव उनीसँग थुप्रै रहेछन् । सुदूरको छाउ र त्यहाँका महिलाको भोगाइलाई भने उनले पछि मात्र थाहा पाइन् ।

‘सुदूर पश्चिमतिरको छाउबारे हजुरआमा, आमाबाट थाहा पाउँदा सुरुमा म निकै स्तब्ध र निःशब्द भएँ,’ उनले भनिन्, ‘यहाँ हामीलाई सबै कुरा व्यवस्था भएको ठाउँमा महिनावारी हुँदा अलग्गै बस्दा गाह्रो महसुस हुन्छ भने उहाँहरूलाई एक्लै गोठमा बस्दा कस्तो भयो होला भन्ने कुराले असाध्यै दुःख लाग्यो ।’ यस्तो अमानवीय परम्परालाई समाजबाट हटाउनुपर्छ भन्ने विचार मनमा उब्जिएपछि उनले कलाको साहरा लिइन् । झन्डै आधादशक देखि उनले महिनावारी र महिलासँग जोडिएका अन्धविश्वासलाई कलाकै माध्यममा उठान गरिरहेकी छन् । समय, अवस्था र व्यवस्थाले परिवर्तनको छनक दिएपनि महिलासँग जोडिएका हरेक सवालहरू अझै यथास्थितिमै रहेको उनको भनाइ छ । भन्छिन्, ‘हामीले आफूलाई जति नै विकसित र शिक्षित वर्गमा राखे पनि महिनावारी भएको समयमा चार दिन भान्सा भन्दा अलग्गिएर ढोका बाहिरै बसेर खाने अवस्था अझै फेरिएको छैन । यो हाम्रो विडम्बना हो ।’ मानवअधिकारबाट वञ्चित गर्दै धर्मका नाममा महिलामाथि गरिने विभेदलाई उनीअमानवीय परम्पराको संज्ञा दिन्छिन् । श्रेष्ठले आफ्नो प्रदर्शनीलाई नै ‘विडम्बना’ शीर्षक दिएकी छन् ।

सामान्यतः हिन्दु महिलाहरू महिनावारीको समयमा पवित्र स्थानबाट टाढा रहन्छन् । ‘हाम्रो जीवनको सुरु नै यहीबाट हुन्छ । सृष्टिको सुरुवाती बिन्दुलाई नै कसरी हामी अपवित्र मान्न सक्छौं  ?’ सिंगो समाजलाई उनी प्रश्न राख्छिन् । आज समग्र महिला केवल रजस्वलाका नाममा गरिने विभेद मात्र होइन समाजको गिद्धे दृष्टिबाट उत्तिकै प्रताडित बन्नुपरेको वास्तविकतालाई उनले चित्रमा उतारेकी छन् । सुन्दर फूलको रंगमा फूलेकी महिलाका प्रतिविम्बका साथ पृष्ठमूभिमा रहेका अनगिन्ती आँखाहरू, मखुन्डोधारी मानव जगत्लाई दर्साउने उनका सिर्जनाहरूले समाजमा महिलाको यथार्थ चित्रण गरेका छन् । छाउगोठमा बसिरहेकी महिलाको चित्रण उनले ‘छाउपडी’ शीर्षकमा नै उतारेकी छन् । हरियो रंग र फूलको विम्बले महिला तथा महिलाको रजस्वला प्रक्रियालाई पवित्र सिर्जनाको रूपमा उनले निकै मिहिन ढंगले केलाएकी छन् । उनको चित्रमा रजस्वलाको समयमा महिलामा हुने पीडा झल्किएका छन् । उनका कला नियाल्ने जो कोही दर्शकले अनेक आयामबाट महिला माथि भइरहेका शारीरिक तथा मानसिक हिंसालाई बोध गर्न सक्छन् ।

कलासिर्जनामा सुदूरका मात्रनभएर समग्र महिलालाई उतार्नु श्रेष्ठको कलाकाविशेषताहुन् । उनले समग्र जातिभित्रकामहिलालाई सांस्कृतिकपहिरनमार्फत खुट्याएकी छन् । जाति र परिवेश फरक भएपनिमहिलाले भोग्नुपर्ने कतिपयबाधाहरू समान रूपमा रहेको श्रेष्ठको बुझाइ छ । उनले जोडिन्, ‘हामीलगभग उस्तै परम्परा र मान्यतामाजोडिएका छौं । महिनावारीको पीडा, समाजले महिलामाथि राख्ने दृष्टिकोणले उस्तै खालका छन् । समाज र यहाँको सोच हाम्रालागि काँडाजस्तै छन् ।’
महिलालाई देवी, कुमारी, सुन्दर जसरी समाजले परिभाषित गरे पनि समाजबाट उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । सामाजिकव्यवस्था र दृष्टिकोण महिलाप्रतिअझै नग्न नै रहेको भन्दै उनले त्यसलाई प्रतीकात्मक रूपमाचित्रमार्फत व्यक्त गरेको बताइन् । उनको प्रदर्शनी वैशाख १४ सम्मजारी रहनेछ  ।