• २०८१ पौष २८ आइतबार

जीवन र न्याय’ पुस्तक सार्वजनिक

काठमाडौँ

पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको आत्मसंस्मरणात्मक पुस्तक ‘जीवन र न्याय’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा लेखकसहित पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाललगायतकाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

उमेरले ९२ वर्षमा प्रवेश गरेका श्रेष्ठले आफ्नो जीवनकालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठले पञ्चायतकालमा अड्डाको हाकिम, सरकारी अभियोक्ता र न्यायाधीशका रुपमा लामो समय सरकारी सेवामा आफ्नो जीवन व्यतित गरे । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभव मार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको पूर्व प्रधानन्यायाधीश कार्कीले बताइन् । ‘यो पुस्तक समाजका लागि आयाम र देन हो’, उनले भनिन्, ‘पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे उहाँले लेख्नुभएको छ ।’

पुस्तकले एक आदर्श, दृढ व्यक्तिले समाजलाई उठाएको इतिहास उल्लेख भएको उनले सुनाइन् । वरिष्ठ पत्रकार रिसाल, नेपाल सरकारका पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेल, पूर्व महान्यायाधिवक्ता राघवलाल वैद्य लगायतकाले श्रेष्ठलाई त्यतिबेलाको समाजका लागि मेलमिलाप तथा न्याय दिन सक्ने न्यायाधीशका रुपमा रहेको सुनाए ।

आफ्नो जीवनका कैयौं स्मरणहरु लामो समयदेखि सम्झना बनेर गुम्सिरहेको अवस्थामा छोराहरुको हुटहुटीले नै पुस्तकमा रुपमा बाहिर आएको श्रेष्ठले सुनाए । उनका अनुसार उनका कैयौं स्मृति तथा अनुभवहरु पुस्तकमा समेटिएका छैनन् ।

श्रेष्ठले आफ्नै अग्रसरतामा मेलमिलाप गराउने न्यायाधीशको छवि बनाएका छन् । उनले जिल्लान्यायाधीशका रूपमा रहँदा ६० प्रतिशत भन्दा बढी मुद्दामा दुवै पक्षलाई सँगै राखेर मेलमिलाप गराउन सकेको विवरण पुस्तकमा उल्लेख गरेका छन् । २०३१ सालमा प्रमाण ऐन आएपछि प्रमाण जुटाउन सक्ने व्यक्तिले मात्रै मुद्दा जित्ने अवस्था बनेपछि आफू मेलमिलाप तिर लागेको पनि उनले बताए ।