५ वैशाख, २०७९, न्यूह्यामसायर
अनेसास न्यूह्यामसायरले शनिवार एक भव्य समारोह बिच बालप्रतिभा प्रदर्शन तथा चारवटा पुस्तकहरूको संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको- ‘केही फूलका थुंगाहरू’, ‘गोपाल भण्डारीका छन्द कविताहरू’, सरिता अर्यालको- ‘खुसीको फड्को’ र हरिमाया अधिकारीको ‘छोपिएको भाग्य रेखा’ गजलहरू छन् । कृति माथि क्रमशः गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, ईश्वरी भट्ट र रामचन्द्र भण्डारीले विवेचना गर्नुभएको थियो । विवेचना पश्चात कार्यक्रममा लेखकहरूले क्रमशः आफ्ना भनाइहरू राख्नु भएको थियो ।
अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि, अनेसास वि. ओ. टी. अध्यक्ष गीता खत्री र विशेष अतिथिहरूमा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सल्लाहकार राम खत्री, कवि लालगोपाल सुवेदी, सरिता अर्याल लगाएत थुप्रै साहित्यकार एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बाल- बालिकाहरूको प्रतिभा उजागर गर्ने हेतुले संचालित उक्त कार्यक्रममा ६ बर्ष देखि ११ बर्षको एक समूह र १२ देखि १८ सम्मको अर्को समूह थियो । जसमा बाल- बालिकाहरूले आ- आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।प्रतियोगितामा ६- ११ समूहमा प्रथम आन्या वैध्य, द्वितीय अनुसा तामाङ, तृतीय ग्रूपडान्समा जुनीपर गुरूङ, दिक्षीता गुरूङ, विदीसा गुरूङ र सिनोरा गुरूङ भएका थिए भने, १२-१८ समूहमा प्रथम देव शर्मा, द्वितीय रितेष आचार्य र तृतीय रिदम भण्डारी भएका थिए । कार्यक्रम पश्चात निर्णायक मण्डलका महेश्वर पन्त, शुशील गौतम र डा मधु माधुर्यको तर्फबाट महेश्वर पन्तले विजेता उपविजेताहरूको नामावली प्रस्तुत गर्नु भएको थियो । दुवै समूहका प्रथमले ३०० डलर, द्वितीयले २०० डलर र तृतीय हुनेहरूले १०० डलरका दरले पुरस्कार पाएका थिए भने सबै उप- विजेता सहभागिहरूलाई आकर्षक उपहार एवं प्रमाण-पत्र प्रदान गरिएको थियो । कार्यक्रममा न्यूह्यामसायरका झण्डै दुई दर्जन बालबालिकाहरूले भाग लिएका थिए ।