कार्यालय प्रमुखको कक्षमा निकै गम्भीरताका साथ बहस सुरु भएको थियो । वातावरण निकै तनावपूर्ण देखिन्थ्यो, मानौं कुनै संकट आइलागेको होस् । अरु कर्मचारीहरूको अनुहारमा देखिएको संकटको गाढा छाँया हाकिमको अनुहारमा भने अलि फिक्का देखिएको थियो । अझ भन्नुस त्यो भित्री प्रचण्ड प्रकाशलाई बाहिरी कृत्रिम अन्धकारले छोप्ने असफल प्रयास गर्दै थियो । मानौँ संकटको जड बनेको यो तथ्य उनले बर्षौं देखि स्थापित गर्न खोजेर पनि नसकेको अवस्था थियो, र आज परिस्थितिले स्थापित गर्ने अवसर दिएको थियो ।
त्यहाँ संकटको कारक बनेर कोहि आएर गएको थियो । त्यो अरू कोही नभएर त्यो हाकिम भन्दा पनि माथिको र त्यो कार्यालय भन्दापनि माथिको कार्यालयको कोही थियो भनेर बुझ्नुस् । अनि त्यो माथिको हाकिमले त्यो कार्यालयको हाकिमलाई यस्तो केही भनेर गएको थियो, जसलाई आजसम्म आम मान्यतामा कसैले स्विकार्न सकेको थिएन । र त्यो स्विकार्न सकिने खालको पनि होइन भन्ने सबैको बुझाई थियो । तर, हाकिम भने बिस्तारै द्वैधताबाट एकता तिर प्रकट हुने र लाने प्रयासमा लागे- अं.. हेर्नुस् माथिल्ला हाकिम भनेका माथिकै हाकिम हुन्छन्, वहाँहरूको ज्ञान, चेतना र तर्कनालाई हामीले चुनौती दिन सक्छौँ भन्ने औकात हामीले राख्नु हुँदैन । त्यस्तो क्षमता राख्छु भनेर हामीले सोंच्नु पनि हुँदैन । जति तल्लो तह उतिनै हामीमा भेंडोपनको बढोत्तरी, त्यसरी नै हामीले स्विकार्नु पर्छ । एउटा सिपाहीले हाकिमको वचन भूईँमा खस्न नपाउँदै हस् भनेर पालना गर्छ, हामीले पनि हाम्रो हाकिमले कुनै अभक्ष कुरा खा नै भन्यो भने पनि कुनै प्रश्नन गरी उसको वचन भुइँमा खस्न नपाउँदै त्यो खाइहाल्नु पर्छ । हामी त अरिङ्गाल बन् भन्यो भने अरिङ्गाल बन्ने, हनुमान बन् भन्यो भने हनुमान बन्ने हो । हाम्रो औकात तेति नै हुनुपर्छ । अझ कुनै विद्वानले आफ्ना महानतम प्रवचन पछि त्यसले आफ्ना श्रोताहरूमा संचार गरेको प्रशन्नता र प्रभाव हेर्न चारै तिर हेरे जस्तो गरी हाकिमले सबैको मुहारमा हेरेका थिए र आफूले पनि मुहारमा सन्तुष्टिको उत्कर्ष प्रदर्शन गरेका थिए । तर, अन्य कर्मचारीमा प्रशन्नता प्रकट गर्न सकस भैरहेको थियो । उनिहरूलाई यो स्विकार्न गाह्रो भैरहेको थियो वा उनीहरू बीच पहिले अर्को कसैले प्रशन्नता प्रकट गरोस् भन्ने आशयले प्रशन्नताको प्रकटीकरणमा ढिलाइ भैरहेको थियो । जे पनि हुनसक्छ भनेर बुझ्नुस् । माईन्युट लेख्न बसेको कर्मचारी भने बडो अन्योलमा परेको थियो । यो कार्यलाई भोलिसम्म धकेल्न पाए साँप पनि मर्ने लठ्ठी पनि नभाँचिने कुनै उपाए निस्कन्छ कि भन्ने आशमा थियो । आश्चर्य लाग्दो ढंगबाट मान्युट लेख्ने कार्य भोलिसम्म सार्न हाकिम सहमत भएका थिए ।
त्यो भोलि पनि आइपुग्यो र माईन्युट लेख्ने कर्मचारी पनि आई पुग्यो।
ऊ भित्र पस्ने बित्तिकै हाकिमले मुस्कुराउँदै माइन्युट बुक निकालेर दिए र भने माईन्युट लेखि सकिएको छ, हामीले त हस्ताक्षर गरिसक्यौं तपाइँले पनि गर्नुस् । झन् ऊ भावशून्य अवस्थामा देखिएको थियो र आफ्नो आशन ग्रहण गरे पछि उसले सबैको मुहार तिर हेर्ने प्रयास गरेको थियो- सबै मुस्कुराइरहेका थिए । एक जना सबै भन्दा बयस्क कर्मचारीले मुस्कुराउँदै भने- अ.. हेर्नुस्, अब हाम्रा अग्रजहरूले भनेको र गरेको अभ्यास नै हामीले पनि पालना गर्दै आएका न हौं । के खाने र के नखाने कुरा हो भनेर हाम्रा अग्रजले भने र त्यहि कुरा हामीले मानेको न हो । जे अभ्यास गरिंदै आयौँ त्यही स्वभाविक लाग्ने न हो । कुकुरलाई पनि त गु नखाने बानी पार्यो भने खाँदैन । हाम्रा माथिल्ला हाकिम हाम्रा अग्रज जस्तै हुन्, हाम्रो जस्तो देशमा बसेर हाकिमको कुरा बिरुद्ध जाने सोंच्न पनि सकिंदैन, त्यसैले उनले आएर जे भने त्यसलाई मान्ने कुरालाई हामीले स्वभाविक रूपमा लियौं र माइन्युटमा सहि गर्यौँ । तपाईंले पनि त्यसै गर्नुस् ।
उसले माइयूट बुक खोलेर हेर्यो । अं ….. अब आईन्दा यस कार्यालयका सबै कर्मचारीले वहाँको गु र अन्न एकै हो भन्ने अमुल्य मार्गदर्शनलाई हार्दिकता पूर्वक आत्मसात गर्दै कडाईका साथ पालना गर्ने र पालना नगर्ने कर्मचारीलाई….यति पढेर उसले भावशून्य मुद्रामा सबैको अनुहार तिर हेर्यो । हिजैदेखि उसको मनमा लेखिएको …जब सम्पुर्ण परिवेश तिम्रो आदर्शको विपरीतलाई स्वभाविक मान्छ भने एक्लै कतिदिन टिक्न सक्छौ ? ….भन्ने वाहियात प्रश्नलाई उसले सर्लक्क मेट्यो र अरु सँगसँगै मुस्कुरायो । सम्पूर्ण कार्यालय चास्नीमा रसबरी डुबे जस्तै मुस्कानको रहमा डुब्यो ।
तर अर्को दिन हाकिम आगो देखिएका थिए । कसैले त्यस कार्यालयमा यस्तो निर्णय भयो भन्ने सुचना ती मार्गदर्शक कहाँ पुर्याईदिएका रहेछन्, उनी आगो भएर हाकिमलाई फोन गरेर हप्काए छन् । अनि हाकिमले मातहतका कर्मचारीलाई हप्काए- ‘मैले जहाँ भन्यो त्यहीँ सहि गर्ने ? ठिक बेठिक बिचार गर्नु पर्दैन ?.. माइन्युट लेख्ने कर्मचारीको मनमा एउटा सुस्केरा जन्मियो- ‘के संसार तिमीलाई च्युत नगर्दासम्म तिम्रो मान्यता विपरीत जान तिमीलाई प्रेरित गर्छ र तिम्रो मान्यताबाट तिम्रो पतन पछि तिम्रो पतन प्रति झनै उचाईका साथ उसैले औंला ठड्याउँछ’ ?
खासमा मार्गदर्शकले- यस्तो पाराले काम गर्ने हो भने गु खाए हुन्छ झ भनेका रहेछन्, हाकिमले गु खाने निर्णय गराएछन् भनेर बुझ्नुस् ।
श्रवणकुमार ढुंगाना
[email protected]