• २०८१ माघ ५ शनिवार

साहित्य, कला तथा नाट्य महोत्सव हुने

काठमाडौँ/२१ चैत २०७८

जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा चैत २३ देखि २५ गतेसम्म आयोजन हुन लागेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव- २०७८ को तयारी पूरा भएको छ । तीन दिवसीय महोत्सवमा साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल र भारतका एक सयभन्दा बढी स्रष्टा सहभागी हुँदैछन् ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले आइतबार पत्रकार सम्मेलन आयोजन गरी कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तथा उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका गिरिराजमणि पोख्रेल, एमालेका सत्यनारायण मण्डल, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालसहित अन्य राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरु पनि सहभागी हुने जानकारी दिए ।

तीन दिवसीय महोत्सवको क्रममा भाषाविद् प्रा.डा. रामावतार यादव, प्रा.डा. रामदयाल राकेश, डा. राजेन्द्र विमल, डा. रेवतीरमण लाल, रामभरोस कापडि ’भ्रमर’, डा. अमरकान्त झा, डा. गोपाल झा, गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई, राजनीतिक समीक्षकहरू सिके लाल, चन्द्रकिशोर र तुलानारायण साह, मिथिला चित्रकलाका विशेषज्ञ एससी सुमन, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा ’विह्वल’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य धीरेन्द्र प्रेमर्षिसहितका स्रष्टाहरू सहभागी हुनेछन् ।

यसैगरी भारतबाट समीक्षक डा. रमानन्द झा ‘रमण’, तारानन्द वियोगी, कमलमोहन चुन्नु, अजित आजाद, किसलय कृष्ण, गुञ्जनश्री सहित दर्जनौँ साहित्यकार सहभागी हुनेछन् ।

कार्यक्रममा जनकपुरको मिथिला नाट्यकला परिषद्ले महेन्द्र मलङ्गिया लिखित तथा प्रमेश झा निर्देशित ‘गाम नै सुतैए’ नाटक मञ्चन गर्ने छ भने पटनाको भङ्गिमा नाट्य समूहले मैथिली नाटक प्रदर्शन गर्नेछ । यसैगरी दरभङ्गाको नाट्य समूहले अभिशप्त देवव्रत, भारत मणिपुरको अखोक नाट्य समूहले हिन्दी भाषाको एच सिस्टर तथा वेज प्रा लि काठमाडौँले नेपाली भाषाको ‘ढल्केको सालैजो’ नाटक प्रदर्शन गर्नेछन् ।

महोत्सवको क्रममा सन्ध्या रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको आयोजन हुने अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा नेपालका सुनील मल्लिक, आभास लाभ, ललित कामत, रमा मण्डल, सङ्गीता देव, नवीनकुमार मिश्र तथा भारतबाट कुञ्जविहारी लगायतका गायक-गायिकाहरू सहभागी हुँदैछन् ।