• २०८१ फागुन ६ मङ्गलबार

सूर्य लाकोजुको घामको पर्खाल माथि चर्चा सम्पन्न

काभ्रे ।

कवि सूर्य लाकोजूको घामको पर्खाल नामक नवीनतम कृतिको हालै एक समारोह बीच परिचर्चा सम्पन्न भएको छ । घाम प्रिय कवि लाकोजूको उक्त कृतिमाथि समालोचकीय मन्तव्य राख्दै समालोचक श्रीहरि फुयालले लाकोजूको कविता लेखन प्रतिभा अद्वितीय रहेको विचार व्यक्त गरेका छन । उनले मानवीय संवेदना र यथार्थबोधी भावनाले युक्त कविताहरु समेटिएको प्रस्तुत कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति हो भन्ने विचार पोखे । त्यस्तै सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्यता हुनु उनको विशेषता भएको मत राखे । अर्का कार्यक्रमका वक्ता विजयद्वज थापाले लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे । सूर्य चम्किलो र उज्यालो छ । उनको साहित्य यात्रा पनि निक्कै उज्यालो छ । उनको उज्यालो निक्कै पर पुगेको छ भन्दै अब काव्य सिर्जनामा लाग्न लाकोजूलाई उनले सुझाए ।

घामको पर्खाल कविता सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमध्येबाट कवि सुभद्रा अधिकारी, पूर्ण श्रेष्ठ, मीना चौलागाइँ, उत्तम विचार, लव खड्काले एक एक कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार मदन नेपाल, नवराज पोखरेल लगायतले मन्तव्य पोखेका थिए ।

लाकोजूको कविता सङ्ग्रहमा शासन कौशल, परोपकार,समयसापेक्ष सोच, हार्दिक कोमलता, देशको रक्षा, मानवीय विडम्बना, प्रेम भाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, स्वच्छ शिक्षा, शोषण रहित समाज, सद्ज्ञान, गरिबी, परिश्रम, विवशता, देशभक्ति, प्रगति, शान्ति, उदारता, उत्साह, धैर्य, सहिष्णुता, संयम, जस्ता मानव जीवनसम्बद्ध विशिष्ठ आशययुक्त कविताहरु समावेश छन् ।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन ।