श्री बबरसिंह–देवकुमारी थापा सेवागुठी विराटनगरले यस वर्षको देवकुमारी थापा स्मृतिसम्मान आख्यानकार कवि विन्द्या सुब्बालाई प्रदान गर्ने घोषणा गरेको छ । पाँचदशक भन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र आख्यान विधामा दिएकोयोगदानका लागि साहित्यकार सुब्बालाई एकाउन्न हजार राशिको उक्त सम्मान प्रदान गर्नेभएको हो ।
यसै गरी तीन दशकभन्दा बढी समयदेखि कविता सिर्जना र अनुवादमा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा दिएको योगदानका लागि कवि- अनुवादक सुमन पोखरेललाई पच्चीस हजार राशिको बबरसिंह थापा स्मृतिसम्मान प्रदान गर्नेभएको छ ।
साहित्यकार प्रमोद प्रधान, विवश पोखरेल, दिनेश श्रेष्ठको तीन सदस्यीय सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त सम्मान दिने निर्णय गरेको हो ।
सेवागुठीका अनुसार उक्त सम्मानहरू आगामी २०७९ वैशाख ३ गते विराटनगरमा प्रदान गरिने छ ।