‘बर्सोस् अनगिन्ती खुसी सबैको झोलीमा ।
बितोस् जीवन सबैको हाँसो र ठठ्यौलीमा ।।
लगाऊँ रङ मदमस्त भई एक–अर्कालाई ।
नछुटोस् यो प्रेमरङ, रहोस् अर्को होलीमा ।।’
होली हिन्दुहरूको पारम्परिक तथा सांस्कृतिक प्रमुख चाड हो, जसलाई प्राचीन समयदेखि भारतवर्षमा मनाइँदै आइएको छ । यस चाडले सबै धर्म, सम्प्रदाय, जातिको बन्धन फुकालेर आपसमा सप्रेम जीवन व्यतीत गर्ने सन्देश दिन्छ । होलीले वसन्त ऋतुको आगमनको सन्देश बोकेर आउँछ । यस चाडमा मनुष्य मात्र नभएर प्रकृति पनि निकै रमाउने गर्छ ।
होली फाल्गुण पूर्णिमाको होलिका- दहनपश्चात् चैत्र कृष्ण पक्षमा धुमधामसित मनाइन्छ । भारत वर्षमा मनाइने चाडहरू प्रायः केही न केही पौराणिक कथासँग जोडिएका हुन्छन् ।
आदिकालमा हिरण्यकश्यपु नामका एक जना दैत्यराजा आर्यावर्तमा राज गर्थे । उनी नास्तिक थिए अनि आफैँलाई ईश्वर ठान्दथे । प्रजाहरूलाई डराइ- धमकाई आफ्नो पूजा गर्न लगाउँथे । प्रजाहरू राजासँग डराएर उसको पूजा गर्न बाध्य भए । दैत्यराजाका एउटा छोरा थिए, जसको नाम प्रह्लाद थियो । प्रह्लाद भगवान् विष्णुका भक्त थिए । दैत्यराजालाई छोराको भगवान् विष्णुप्रतिको भक्तिभाव पटक्कै रूचेन । आफ्नो अवहेलना राजाबाट सहन भएन र उसले छोरालाई मार्ने नानाथरीका षड्यन्त्र रच्न थाले । आखिरमा केही सिप नलाग्दा राजाले आफ्नो बैनी होलिकासँग मद्दत मागे । बैनी पनि आफ्नो दाइको मद्दत गर्न राजी भइन् । होलिकालाई आगोमा नजल्ने वरदान प्राप्त थियो । त्यसर्थ उनले प्रह्लादलाई काखमा राखी चिताको अग्निमा बसिन तर.. भगवान् विष्णुको कृपाले प्रह्लाद सुरक्षित रहे, होलिका जलेर भष्म भइन् । यसले अधर्ममा धर्मको विजय भनेर ज्ञात गराउँछ । यही कथादेखि होलिका दहनको प्रथा प्रचलित भएको हो ।
एउटा अर्को कथन पनि छ ।यति वेला किसानले सालभरि परिश्रम गरी उब्जाएको फसल पाकेर तैयार हुन्छ । आफ्नो मेहनतको फल हावामा बयेली खल्दै गरेको देख्दा उनीहरू खुसी भई बडो हर्षोल्लासपूर्वक यो होलीको चाड मनाउने गर्छन् ।
भगवान् श्रीकृष्णको नगर भारतको मथुरा, वृन्दावनमा एक हप्ता पहिलेदेखि नै होलीको चहल- पहल देख्न पाइन्छ । त्यहाँको होली अति नै रोमाञ्चकारी हुन्छ । भारतवर्षमा ब्रज, मथुरा, वृन्दावन, बरसाना अनि काशीको होली धेरै नै विख्यात छ ।
यो रङको तिहार सम्पूर्ण भारतवर्षमा मनाउने गर्छन, तर ब्रजधाममा जुन प्रकारको होली मनाइन्छ, त्यसको आफ्नै प्रमुख विशेषता छ । बरसाना गाउँ (श्रीकृष्णकी प्रेमिका राधाको गाउँ) मालट्ठमार भन्ने एक प्रकारको होली खेल्ने प्रथा प्रचलित छ । होलीको यो रङ्गारङ र रोमाञ्चकारी दृश्य हेर्नको लागि देश- विदेशबाट दर्शकहरूको जमघट लाग्छ । यसलाई लट्ठमार होली किन भनिन्छ भने नन्द गाउँका पुरुष यस प्रमुख चाडमा आफ्नो सिरमा ठूल- ठूला फेटा बाँधेर होली खेल्छन् । बरसानाका महिलाहरू लाठीले फेटामा प्रहार गर्छन् । लाठीको प्रहारबाट जोगिनका निम्ति नन्दका पुरुषहरू यता- उति भाग्छन् । यो रमणीय दृश्य हेरी दर्शकहरू अति आनन्दको अनुभुति गर्छन् । होलीको पावन अवसरमा सबै आपसी बैर- भाव बिर्सिएर मानवजाति एकअर्कासँग अङ्कमाल चलन पनि छ, यसलाई नयाँ मित्र बनाउने र शत्रुता समाप्त गर्ने चाडका रूपमा पनि लिइन्छ ।
यो हिन्दु्हरूको चाड हुँदाहुँदै मुस्लिम शासकहरू पनि यस चाडलाई धुमधामले मनाउँथे भन्ने प्रमाण कतैकतै पाइन्छ ।
ती शासकहरूमध्ये लखनउको वाजिद अली शाहको नाम सर्वप्रथम आउँछ । वाजिद अलीले कृष्णको कविता गाउथे अनि होलीमा टिप्पणी पनि लेख्थे ।होलीको अवसरमा अमिनावाद, लखनउको केसर वागमा रङ्गारङ सांस्कृतिक कार्यक्रमको आयोजन पनि गर्दथे। यसबाट होली एउटा विशुद्ध प्रेम र सद्भावनाको चाड हो भन्ने स्पष्ट हुन्छ ।
होलीका दिन सबैजना एकअर्कालाई विभिन्न रङ लगाएर अँगालो हाल्छन् । त्यस दिन घर- घरमा नाना थरीका मिष्टान्न पकवानहरू पाक्दछन् ।थरीथरीका मिठाइहरू पनि बन्दछन् । तर हिजो- आज होली मनाउने प्रथा नै बेग्लै भएको छ । कोहीकोही व्यक्ति मदिरा पान गरी अभद्र व्यवहार गर्छन् ।शुद्ध अबिर र अरू रङको सट्टा रसायनिक पदार्थ उपयोग गरेर अनुहारमा पोत्छन । जसले गर्दा छालामा नराम्रो असर पर्छ । यो होलीको विरुद्ध भएको घृणित कार्य हो । यसले सनातनदेखि चलिआएको मित्रवत् सम्बन्धमा असर गर्दछ । समाजमा त सबै जातिको आ- आफ्नो संस्कृति र संस्कार हुन्छ । यसलाई हामीले सही ढङ्गले मर्यादापूर्वक मनाउनुपर्छ । यसमा समावेश भएका कुरीतिहरू बहिष्कार र बर्खास्त गरी सुन्दर, सद्भावपूर्ण र प्रेमिलरूपमा यसलाई मनाउनु र संरक्षण गर्नुपर्छ अनि मात्र हामीमाझ हाम्रो संस्कृति सदैवका निम्ति जीवित रहनेछ ।
(गुवाहाटी, असम, भारत)
neetagurung59@gmail .com