• २०८१ माघ २ बुधबार

मुस्कानको पर्दा

वसन्त चौधरी

वसन्त चौधरी

सजिलो छ आज साथी बनाउन । सामाजिक सञ्जालले संसारभर साथी बन्न, बुझ्न र हेर्न पाएका छौँ । म पनि उनीसँग फेसबुकमार्फत् नै साथी बनेको थिएँ । फेसबुकमा उनले लेखेका शब्दहरू पढेर मलाई रमाइलो लागेको थियो । उनी लेख्थिन् । फाट्टफुट्ट कविता, लेखहरू आइरहन्थे । उनका लेख र कविता अलगै खालका थिए । तिनमा न त जीवनसँग गुनासो नै थियो न त समय र परिस्थितिसँग । यथार्थसँगको स्वीकारोक्तिमा सम्भावनाहरू, अदृश्य शक्ति र संयमता अनि प्रकृतिको गुनगान– उनका कविता र लेखहरू यस्तै हुन्थे । समग्रमा भन्नुपर्दा रमाइला लाग्ने कल्पनाका सुन्दर नगरहरू निस्फिक्री डुलेजस्तै, प्रकृतिसँग आनन्दले झुमेजस्तै । उनका तस्बिर हेर्दा लाग्थ्यो, खुसीले स्फुटित मुस्कानहरू अधरले पोखिरहेका छन् बिनासङ्कोच ।

काव्यिक लय र भाषाले मलाई चाँडै आकर्षित गर्दछ । साहित्यका जुनसुकै विधा पनि आकर्षित छन् मेरा लागि । कथा, कविता, मुक्तक जे आउँछ त्यो म पढिहाल्छु । लेखक चिनिरहनु पर्दैन । प्रथमतः उनका चार हरफ पढेपछि मैले उनको प्रोफइल खोलेर हेरेँ । सुन्दर तस्बिरमा भरिएका ओठहरू मुस्कुराइरहेका थिए । साना दुई नानीहरूको बीचमा मुस्कानकै प्रतिविम्बमा उभिएकी थिइन् उनी । नजानिँदो किसिमले कतिखेर ती साना नानीहरूप्रति मन आकर्षित भयो । थाहा थिएन किन भयो होला, ती नानीहरूप्रतिको आकर्षण । मैले धेरैपटक तस्बिर खोलेर हेरेँ । जतिपटक हेरे पनि नयाँ र सुन्दर लागे ती तस्बिरहरू । प्रविधिले संसार यौटा आँगनजस्तै भा’को छ । प्रायः सबै खबरहरू सामाजिक सञ्जालमार्फत् शीघ्र अवगत भइहाल्छन्– दिनदिनको, जमघटको, यात्राको अनि काव्यको पनि । फेसबुकमा पढ्दा वा केही लेख्दा आत्मसन्तुष्टिको आभास हुन्छ मलाई पनि । कविता पढ्ने लत बसेको थियो, छ र लेख्न पनि । उनका कविताहरू पढथेँ । उनले पनि मेरा कविता पढेर प्रायः प्रतिक्रिया दिन्थिन् । उनको प्रतिक्रियामा पनि काव्यको अनुभूति गर्थें म, राम्रो लाग्थ्यो मलाई । उनका लय, शब्द, भाषा मीठा हुन्थे कवितामा– समयको चक्र, प्रकृतिको साक्षात्कार अनि कल्पनाको दुुनियाँ । उनी पनि मेरो प्रेमपूर्ण कविता राम्रा छन् भनेर हौसला दिन्थिन् ।

सबैभन्दा मलाई मन परेका उनको काव्यिक आचरणमा प्रकृतिसँगै कल्पनाको उडान अनि प्रकृतिलाई मानवीकरण गरेको । उनी कहिले बादल, कहिले कहिले फूल, अनि कहिले नदीसँग बगेको कुरालाई कविता बनाएर देख्थिन् । पढ्दा लाग्थ्यो साँच्चै नै उनीभन्दा कोही सुखी र आनन्दी छैन यो धर्तीमा, जेसँग पनि झुमिरहने, रमाइरहने । प्रथमतः उनीसँग मेसेजमा कुरा भयो । उनले मेरो कविताको पुस्तक पढिछन् र मेरो कवित्वको प्रशंसा गरिन् । मैले त भनँ नै ‘कस्तो मीठो लेखाइ तिम्रो’ भनेर । कविता, गीतहरू आफ्नै सन्तानजस्तै हुन्छन्, जसले राम्रो भन्दा पनि आनन्द आउने । उनको प्रशंसाप्रति कृतज्ञता व्यक्त गर्दे भनेँ– “भेटौँ न ’ यसो कविताका कुरा गरौँ, गीतका कुरा गरौँ !” उनले हुन्छ त भनिन् तर त्यसताका म विश्वकाव्य यात्रामा निस्किएको थिएँ । आफ्नो साहित्य, सङ्गीत र भाषालाई कसरी संसारसँग परिचित गराउने भनेर लागेको थिएँ म र छु । काव्ययात्राको व्यस्तताले उनीसँग अनौपचारिक कुरा भएको झन्डै छ महिनापछि मात्र थोरै समयका लागि भेट भएको थियो । मुस्कराइरहेका ओठहरू, भरीभरी गाजल लगाएर बोलिरहेका ती ठूला आँखासँगको उनको उपस्थिति कुनै सुन्दर कविताभन्दा कम थिएन । मैले “बाबु के छ खबर ?” भनेर सोध्दा धेरै निस्फिक्री र आनन्दमा मुुस्काउँदै भनिन्– “सबै ठीक छ, सबै राम्रो छ । हजुरको के छ खबर ?” उनको कुरा सुनेर लाग्थ्यो, संसारमा राम्रो मात्र छ । उनको जीवनमा पनि राम्रैमात्र छ । आनन्दै मात्र छ र रमाइलो मात्र छ । त्यस दिन सानो जमघटमा औपचारिकतासँगै कविता र गीतका संक्षिप्त कुरा गरेर हामी छुिट्टयौँ । फेरिफेरि भेटघाट गर्ने भाषा र साहित्यका कुरा गर्ने आश्वासनका साथमा ।

दिन त्यसै बित्यो । विश्वकाव्य–यात्राको मेरो यात्रा अमेरिकातिर पुग्यो । एक महिनासम्म म उतै व्यस्त भएँ । भाषा र साहित्य मेरा लागि प्राणप्रिय वस्तु हुन् । यिनको प्रवद्र्धन, सम्बद्र्धन र उन्नतिका लागि मैले सकेको गरिरहेकै हुन्छु । यसमा आनन्द अतीव लाग्छ मलाई । विश्वकाव्य–यात्राको म यात्री अमेरिका गइरहेको छु भन्दा उनले भनिन्– “फर्किंदा हाम्रा लागि कविता र निबन्धका कोसेली ल्याउनुहोला । मैले एकछिन सोचेर भनेँ– “कोसिस गर्छु है !” विदेशयात्रामा व्यस्तताका अनेक मोडहरू हुँदै अमेरिकाका विभिन्न सहरहरूमा म व्यस्त भएँ । अमेरिकी र नेपाली अमेरिकीहरूको व्यस्त जीवनशैली, भर्खरै फैलिन लागेको हिउँको च्यादर अनि चिसो मौसममा पिङगुको हिउँको घर सम्झेर, कल्पना गरेर केही लेख्नसक्थेँ होला तर कलम नै उठाइनँ मैले । होटलको झ्यालबाट देखिने मनोरम दृश्य, पाखुराको बलले निर्माण भएका कृत्रिम सौन्दर्य हेरेर मलाई आफ्नै देश राम्रो लाग्यो । मेरो देशमा गुराँस फुल्छ, झर्छ फेरि फुल्छ र फेरि झर्छ तर यहाँका पहाडहरूमा गुराँस सधैँ फुलिरहन्छ । एकनासे दिक्दारपनका दृश्यमा कृत्रिमता बोकेर । सफा र चिल्ला सडकहरूमा सम्पन्नता हाँस्छ । कर्ममा विश्वास गर्ने प्रचलनले भाग्यवाद टिकेको छैन र त अमेरिका आज अमेरिका भएको छ । ठूलाठूला भवन र सुन्दर निर्माणले सम्पन्नतालाई माथ दिइरहेको अमेरिकाभन्दा सुन्दर र प्रिय लाग्छ मलाई धूलो र मैलो बाटो, मोड र चोकमा देवता भेटिने मेरो देश । अभावमा भए पनि मुस्कान साटेको, कहिलेकाहीँ फुर्सदले दुःखसुख बाँडेको । धूलो उड पनि, फोहोर अग्लिए पनि पानी र बत्तिको अभाव सधैँ भए पनि मलाई मेरै आँगन प्रिय लाग्यो, सुन्दर लाग्यो, रमणीय लाग्यो– सबैले निर्धन भनेर चिनाएकोे भए पनि । सुन्दरताको समृद्घि र सम्पन्नता बोकेर बसेको मेरी नेपाल आमा सम्झेर कविता कोरौँकोरौँजस्तो नलागेको होइन । यसो दुइचार हरफ लेखेँ पनि तर पूरा गरिनँ ।

अमेरिकाबाट फर्केपछि मेरो कुरा मेसेजमार्फत् उनीसँग भैरह्यो । सञ्चो–विसञ्चो अनि कविता र काव्यका । कहिले प्रेमका, कहिले पर्वका त कहिले कल्पनाका मीठामीठा रङ भरिएका उनका कविताहरू आइरहन्थे । गुनासो नभएका, गाली नभएका समय–घटनाप्रति स्वीकार तर घृणा नभएका । कहिले प्रोफाइल परिवर्तन, कहिले कविताका प्रतिक्रियाहरू भइरहे मेरो पनि र उनको पनि । यसैताका वसन्त ऋतुको आगमन हुन लाग्या थियो या भइसकेको थियो । प्रणय दिवसको संस्कार यहाँ पनि आइसकेको हुनाले यो युवामाझ लोकप्रिय बन्दैछ । यसै बेला उनले यौटा पत्र पोस्ट गरिन्, प्रेमदिवसलाई लक्ष गरेर । त्यसमा लेखिएको ‘प्रिय समीर !’ भन्ने उद्घरणले मलाई धेरै तान्यो । त्यो पढेपछि उनलाई मैले मेसेज लेखेर वर्णन नगरिरहन सकिनँ र लेखेँ– “कति राम्रो लेख्छौ तिमी, कति मिठास छ तिम्रो भावनामा ।” धन्यवादको प्रतिउत्तर पठाइन् ।

दिन यसै बित्यो । भेटेर कुरा गरौँ भन्दाभन्दै कहिले उनी व्यस्त, कहिले म बेफुर्सद । त्यसपछि धेरै महिनासम्म भेट हुन नै सकेन हाम्रो ।

एक दिन हामीले भेटर कविता र साहित्यका कुरा गर्ने योजना बनायौँ । निश्चित समयमा उनी आइन्, ओठमा त्यसै गरी खेलिरहेको मुस्कान अनि सुन्दर आँखामा चञ्चलता बोकेर । मुहारमा त्यही प्रसन्नता, गफमा उही सम्मोहन । हामीले कविताका कुरा ग-यौँ, गीत र सङ्गीतका पनि कुरा ग-यौँ । उनी आफूले पत्र–साहित्यअन्तर्गत पत्र–सङ्ग्रह निकाल्न लागेको कुरा खोलिन् । मैले नानीहरूको खबर के छ, तिमी अहिले केमा व्यस्त ? भनेर सोधिसक्न नपाउँदै ‘सबै ठीक छ, राम्ररी चल्दैछ, नानीहरू पनि ठीक छन्’ उनले एकै सासमा निस्फिक्री आनन्दले उत्तर दिइन् । मैले फेरि सोधेँ– “ज्वाइँसाब केमा व्यस्त हुनुहुन्छ नि !” उनी निमेष भर गम्भीर भइन् । उनको अधरबाट त्यो मुस्कान हठात् बेपत्ताजस्तो भयो । अनि आफूलाई अलि सम्हाल्दै भनिन्– “ज्वाइँ स्वर्गवास भएको त चार वर्ष भैसक्यो ।” उनका आँखामा हल्का खहरे उर्लेजस्तो भयो । नजानिदो गरी बग्न आतुर त्यो खहरेलाई थुन्न परेलीहरूमा सलको किनारा घुमाइन् र लामो एक निश्वास छोडिन् र भनिन्– “तर म सबैलाई विदेशमा हुनुहुन्छ भन्छु । मलाई बिचरी भनेको रामै्र लाग्दैन ।” अनि फेरि उनी मुस्कुराइन् । तर म झस्किएको थिएँ । मेरो मुटु हल्लिएको थियो । केही समयसम्म मेरो ओठबाट बोली नै फुटेन । म स्तब्ध र निःशब्दजस्तै भएँ । केही बोल्ने आँट पनि गरिनँ । मैले पनि लामो सुस्केरा छोडेँ । वातावरण छिनमै उदास भएजस्तो लाग्यो । अनि केहीबेर पछि हिम्मत गरेर सोधेँ– “अहिले कहाँ कोसँग छौ त ?” “घरका मान्छेले बस्न दिएनन, अहिले माइतमा छु मुद्घा मामिला चल्दैछ । यस्तै हो चल्दै गर्छ ।” फेरि उनको मुस्कानमा कुनै कमी थिएन । तर अप्ठ्यारो मलाई भएको थियो । जति धेरै नदीमा पानी, उति बढी वेग भएझैँ । जति आकाश भारी, उति ठूलो वर्षा भएजस्तै । उनी त यतिकै सरल तरिकाले मानौँ कसैले भन्दिनू भनेको खबर सुनाएझैं जीवनका मर्महरू बोल्दै थिइन् तर ती बोलीहरूमा कति सहजता थियो त ? कतै दुखेको छैन या त धेरैपटक दुखेर पीडाको अनुभूति हुन छाड्यो, खाटा बसेको पुरानो घाउजस्तै । या त समष्टिमै उनमा उदासी भाव रहेन कि उमेरभन्दा अगावै वैराग्यको भावना पलायो ? ओहो ! उनी सम्झेर मलाई साह्रै नमीठो लाग्यो– मेरी पनि छोरी छिन् …! उनी मेरी छोरीजस्तै हुन्, म पनि बाउ हुँ । म यतिखेर बाउ बनेर झस्केँ ।

उनीसँग म धेरैबेर बस्नै सकिनँ । उनी सौहार्दता र सहजपनमा उस्तै गरी हाँसेर अपनत्वको भावमा विदा भइन् । म भने धेरैबेरसम्म उठ्नै सकिनँ । ती चञ्चल आँखाबाट कति आँसु बगे होलान्, अनुमान गर्न सकिन्न । निश्चय नै बिछोडको पीडा भयावह हुन्छ । तैपनि सधैँका लागि, पीडाले हृदय कति विक्षिप्त बन्यो होला भनेर सोचेँ । र सोचेँ, मानिसको वाह्य आवरण हेरेर उसको जीवन अनुमान गर्नु कति मूर्खता नै रहेछ । मानिस कलाकार हो । मुस्कानको मेकअपले आफूलाई ढाकेर संसारलाई छोप्नु सबैभन्दा ठूलो कला हो भन्ने लाग्यो मलाई । यौटी नारीले भोग्ने सबैभन्दा तीतो पीडाको हकदार भएर पनि कहाँ थियो त पीडा उनको मुस्कानको पर्दा पछाडि ? दुखिनन् त उनी पक्कै पनि । खुसीले त रूवाउँछ नारीलाई भने यस्तो भयावह दुःखले त झन् मार्छ नै । जो कोहीले हेर्न सक्ला–नसक्ला तर मलाई उनको पर्दा पछाडिको जीवन–घटनाले सोचमग्न बनायो । अनि मनमनले भनेँ– यो संसार पनि अजिबको छ । मुस्कान र खुसीले आफूलाई पूरै छोपेर दोहोरो भूमिका निर्वाह गर्ने कलाकार बनाउँदो रहेछ समयले । मुस्कान र खुसीले आफूलाई छोपेर सबैलाई खुसी देखाउनु र आफूलाई लुकाउनसक्नु त झनै ठूलो कलाकारिता हो । मुस्कान भन्ने कुरा पनि गज्जबको पर्दा रहेछ वाह्य अधरभरि फुलेर जीवनमा तीता सत्यहरू, दुःख र वेदनालाई छोपिदिएर सबैलाई झुक्याउने रहेछ । उनलाई सम्झेर मैले भनेँ– के उनी साँच्चैको खुसीमा रमाउँछिन् ? या त समयको फैसलालाई सहजरूपले स्वीकारेकी छिन् कठिन भए पनि । मैले केही बुझ्नै सकिनँ । मात्र मैले उनका ओठहरूमा सधैँभरि यसरी नै मुस्कान र हृदयमा खुसी फुलिरहून् भन्ने कामना गरेँ, दुःखी भएर ।