वसन्तवेला

चोट खस्दैन मुटुबाट
उप्कन्छ बरू वर्तमान
खाटो अतीत बनिदिन्छ
तप्कन्छ रगत बन्दै आँसु ।
नदीका किनारा भएर
तप्केका आँसुहरू
काँस बनेर उठ्छन्
रहरका बगरहरू
तन्केकाछन् रातका जून छामेर
युवती खोला बगिरहन्छे अविच्छिन्न
धेरैले किनारामा जीवन विसर्जन गरेकाछन्
धूवाँ उठ्छ आँधी बनेर दुःखको
बालुवाको तातो र आँखाको तुँवालो
तप्प खस्छ पसिना टाउकोमाथि
र झर्छ बाढी खुसीमा बालुवा भर्दै
लाखौँ लाख मेट्रिक टन
अझ बढी अर्बौंअर्ब मेट्रिक टन
अझै बढी नाप्नै नसकिने गरी
यो हो खास भोगको जीवन
खास जीवन
बढारिन्छ रहर
र धनी बनिरहन्छ बगर
उमारिरहन्छ रूखो काँस ।
(निरौला स्थापित साहित्यकार हुन् ।)
[email protected]