समाचार

पुख्र्यौली जमिनको टालो
बक्सिङ्–रिङ् भएको छ ।
त्यहीँ चिन्छौँ हामी
एकअर्काका संवेदनशील अङ्गहरू ।
त्यहीँ सिक्छौँ हामी
विभिन्न चाल र प्रहारको व्याकरण ।
कसरी ताक्दा को कसरी लुक्छ
कसलाई कसरी हिर्काउँदा कति दुख्छ
सफल र असफलको मापदण्ड यहीँ छुट्टिन्छ ।
सफलहरू जान्दछन्-
कुन छाला टल्काउन कति घोट्नुपर्छ
कुन दहीको हाँडी फुटाउन कति टाउका टेक्नुपर्छ
कति भोट बराबर एउटा भोटब्याङ्क हुन्छ ?
कति गठबन्धन बराबर एक बाली शासन ?
असफलहरू छाता किन्न पनि
मौसमविज्ञान विभागको पूर्वानुमान पर्खिन्छन्
असफलहरू आफ्नै छालाको डुङ्गा चढी पसिनाको नदी तर्छन्
एउटा जाबो इन्द्रेणीका लागि आकाश- आकाश पर्खिन्छन्
सफलहरू आँकडालाई औँला औँलामा नचाउँछन्
असफलहरू त्यही आँकडामा थिचिएर मर्छन् ।
निसानाहरू गलत हुन्छन् कहिले
कहिले गलत नै निसाना हुन्छन् ।
खेलको व्याकरण नै हो
दुखेर पनि नदुखेको हुनु
नदुखे पनि दुखेको हुनु।
वरपरिका दुम्सीघोचाइबाट
सिकिरहनु, सिकिरहनु नयाँनयाँ प्रहारको वर्णमाला ।
भण्डारी स्थापित साहित्यकार हुन् । कालेबुङ, पश्चिमबङ्गाल, भारत
[email protected]