कविता-हिन्दी

२०१९ सालको भदौ १० मा
इलामको माघेमा जन्मे,
बाले पनि पछि
दसैँमा घर आउँदा मात्र
मलाई देखेका हुन् ।
फिक्कल माघेकै स्कूलमा पढेँ
पछि करफोकबाट एसएलसी सकाएर
काठमाडौँ आएँ,
र पुल्चोकमा ओभरसियर पढ्न थालेँ ।
२०३८ सालमा ओभरसियर भएर
रसुवा गएँ जागिर खान
तर घुस नखाने ओभरसियर
र राजा मान्दिनँ भन्ने कमल थापाजस्तै
त्यहाँ टिक्न सकिनँ
र एक वर्षमै जागिर छोडेंँ ।
०
फेरि काठमाडौँ फर्किएर
पब्लिक युथमा बीकम र सँगसँगै
प्राइभेट आइए पढ्न थालेँ
तर खै डेबिट- क्रेडिट मिलाउनै सकिनँ
र बीकम छोडेर
फेरि त्रिचन्द्रमा बीए पढ्न सुरू गरेँ
नेपाली साहित्य र दर्शनशास्त्र
त्यहीँबाट होला मनले अलिक सन्तोष मानेको
त्यहीँबाट होला साहित्य पढ्न थालेको
त्यहीँबाट होला सायद थाहै नपाई
एउटा नयाँ बाटोतिर पाइला चालेको ।
०
किशोर नेपालको ‘रङ्गमण्डल’ ले
साह्रै प्रभाव पार्यो
उनलाई भेट्ने बाटो खोजेँ
केही नलागेपछि सोझै भेट्न गएँ
रमाइलो भो भेटघाट
म रङ्गमण्डलकै ‘केदारनाथ’ भएर पुग्दा
उहाँले मलाई जाँच्न-
सात सालको राजनीतिमा सक्रिय
तर अहिले सुस्ताएका तीन जनाको
अन्तरवार्ता ल्याउन भन्नु भो ।
त्यतिवेला थानकोटको त्रिभुवनपार्कमा जागिर थियो
त्यही प्रयागराज सिंह सुवालले
सुझाइ दिनुभयो तीन/चारवटा नाम
र सुरू भयो मेरो पत्रकारिताको यात्रा ।
०
किशोर दाइले नै भनेर
फेरि ओभरसियरको जागिर छोडेँ
र उनैसँग काम गर्न थालेँ
काम मात्र गरिरहेँ तर पैसाको भने
सधैँ अभाव नै रह्यो
दसैँ- तिहार आउँथ्यो- अभाव बनेरै
पैसा भने कहिल्यै आएन
तर पनि किशोर दाइले पत्रकारिता सिकाए
ठाउँ दिए- नाम दिए ।
०
यही गाह्रोका बीचमा ४४ सालतिर
भारतदत्त कोइरालासँग भेटेँ
उहाँले हेमबहादुर विष्टलाई भेट्न भन्नुभो
त्यहाँबाट अलिक नियमित
त्यही १५ सय, दुई हजार
तलब आउने काम गर्न थालेँ ।
नाटक हेर्थें, रिभ्यू लेख्थेँ
त्यही क्रममा क्यानिडियनका लागि
दोभाषेको काम गर्न रसुवा गएँ
सम्बन्ध राम्रो भो,
सायद काम मन पराएर होला
पछि क्यानाडानै गएँ ट्रेनिङ् का लागि
अलि सजिलै काम पाउन थालेँ
नेफेजसँग जोडिएँ
जीवन सजिलो भयो ।
०
अँ यसबीचको एउटा कुरा भन्छु
४३ सालतिरै कन्या क्याम्पस
डिल्लीबजारको गेटमा
एउटी राम्री केटी देखेँ
मन तानियो/फेरिफेरि हेर्न गएँ
मनमन आफ्नो बनाएँ
धेरैलाई गफ लाउने क्रममा
भाउजू (छत्रदाइकी श्रीमती) लाई पनि गफ लाएँ
उनको नाता नै पर्ने भएर होला
सहज भो, कुरा अगाडि बढ्यो
भाइमार्फत् बुबालाई भनेँ
बा आउनु भो, टीकाटालो भो ।
अदिति र आलोक दुईजनाको बा बनेँ ।
०
जीवन सहज भो
‘आँखीझ्याल’ महत्वपूर्ण बन्यो
‘हिमाल’को सम्पादनले पनि सन्तुष्टि दियो
तर काम, काम, मात्र काम गरिरहेँ
यति धेरै काम गरेर होला
भित्र कतै थाकेको अनुभूति भयो
र काठमाडौँ छोड्ने मन बनाएँ ।
हुन त काठमाडौँ जस्तो
लच्छिनको सहर अरू कुनै छैन होला
यसले सहजै मान्छेलाई स्वीकार्छ/आफ्नो बनाउँछ
१५ देखि ५० वर्षसम्म काठमाडौँ बसेर
म इलाम फर्किएँ ।
जिन्दगी मलाई खोलाजस्तो लाग्छ
जवानीमा पहाडे छाँगाजस्तो छँगछँग बग्ने
उमेर बित्दै गएपछि
तराईको कुनै शान्त खोलाजस्तो ।
०
धेरैले धेरै कुरा गरे-
तर मैले सधैँ त्यही गरेँ- जे मेरो मनले भन्यो
अहिले सोच्छु, पत्रकारिता गरेर के पाएँ
अरूले भन्छन् यत्रो गरेर पनि
काठमाडौँमा एउटा घर बनाएन केदारले
तर म भन्छु-
मैले मेरो भावना र विचारलाई
कुण्ठित बनाएर बस्नु परेन
खुलेर बाँचे, चोखो कमाइले
छोराछोरीलाई राम्रो स्कुलमा पढाएँ
मान्छेले चिनेँ/मनले स्याब्बास भने
अहिले पनि त्यही कामले चिन्छन्
उनका आँखाभरिको सम्मान नै
मेरो अहिलेसम्मको कमाइ हो ।
०
अहिले आएर बुझ्दैछु-
मेरो रूचिको विषय त कविता पढ्नु
र गफ गर्नु मात्र रै छ
अनि अँ थरिथरीको खाना पनि मेरो रूचि हो
यो रूचि पहिले नै थाहा पाएको भए
सायद ‘सेफ’ हुन्थेँ होला
कुनै असन्तोष छैन जीवनमा
चाह छ घुम्ने- देश- विदेश सबैतिर घुम्ने
बस् स्वस्थ रहूँ…अकाल मृत्यु नहोस् ।
राजेन्द्र शलभ
[email protected]