• २०८१ भाद्र २७ बिहीबार

तिम्रो याद आउँछ

सुरज राना

सुरज राना

बिहानीमा सिरसिर हावा बहन्छ
रातमा झिलमिल तारा उदाउँछ
तिम्रो याद आउँछ
बस्, तिम्रो याद आउँछ

चराहरू उडी जान्छन्
रूखबाट पात खस्छ
बज्छ मन्दिरमा घन्टी
मनमा झन्कार उठ्छ
एकलासको सन्नाटाले
मीठो बात मार्छ
आशाको नूतन चिराग
दिलभित्र जल्छ
हिउँदमा बाटोभरि तुँवालोको फूल फुल्छ
बर्सात्मा पानीले मन छुने कोरस गाउँछ
तिम्रो याद आउँछ
बस्, तिम्रो याद आउँछ

सासको समुद्रमा
आगोको छाल उठ्छ
ढुकढुकीको आकाशमा
आँधीको जहाज उड्छ
आँखाको आगनमा
सपनाको हाट लाग्छ
जिन्दगीको किनारैमा
घाम र जून खस्छ
हावाको हत्केलाले स्वागतको कलश बोक्छ
मौसमको छातीनेर तरूणो गुलाब फुल्छ
तिम्रो याद आउँछ
बस्, तिम्रो याद आउँछ ।


सुरज राना
[email protected]