नसोध्नु पर्ने
तर, तिमीले सोधिहाल्यौ
तिमीसित प्रेम गर्नुको कारण
सायद म शब्दले बताउन नसकूँला ।
भावको राजदूत
शब्दलाई बनाएको छु तिम्रो प्रश्नको जवाफ दिन
तिम्रो अगाडि उभिएर
तर, बाटो नछेकी
तिम्रो हातलाई स्पर्श नगरी
तिम्रो अङ्ग–प्रत्यङ्गको प्रशंसा नगरी
तिम्रा हाउभाउ, कटाक्षको बयान नगरी
तिम्रो रूप
तिम्रो आँखा गाजलु नभनी
तिम्रो लालुपाते ओठको रङ नसोधी
प्रेम–प्रस्ताव राख्दा
तिमीले सोधेकी थियौ मसित कि–
मलाई किन प्रेम गर्छौ !?
मलाई पूर्वज्ञान थिएन
प्रेम कुनै कारणवश हुन्छ भनेर
मलाई थाहा थिएन
सूर्यले धर्तीसित सोधेर स्पर्श गर्छ
हावाले
फूल, पात, कोपिला
रूख, पहाड वा पर्यावरणसँग
सोधेर जिस्किन्छ भन्ने पनि थाहा थिएन
नदी
पत्थरसित
म तिमीसित रत्तिन सक्छु कि भनेर सोध्दै
सागरमा मिसिन हिँडछ भन्ने पनि थाहा थिएन मलाई
यद्यपि
मैले तिम्रो प्रश्नको जवाफमा भनेको थिएँ–
‘कहाँ जन्मन चाहन्छस् सोधिएन मलाई !
कसको कोखबाट जन्मन चाहन्छस् ?
त्यो पनि सोधिएन मसँग ।
कुन वर्ग
कुन धर्म
कुन समाजमा जन्म लिने हो
बहुउत्तरात्मक प्रश्न पनि सोधिएन मलाई
आमा, बुवा, इष्ट, कुल
समुदाय र समाज छान्ने छुट थिएन मलाई
आफ्नो इच्छा
आफ्नो अनुसारको भूगोल छानेर
जन्मिने अधिकार पनि थिएन
गुरुकुल र गुरु
दाजुभाइ र दिदीबहिनी पनि
मेरो स्वभाव अनुकूल भएन
मेरो चाहनाअनुसारको भएनन्
मौसम र पर्यावरण
मलाई जन्माउनेले
मेरो स्वास्थ्य र स्वभाव पनि आफू अनुकूल बनाएँ
तिमीले नसोधे नि हुने प्रश्न सोध्यौ
असहज प्रश्नको जवाफ
परीक्षाहरूमा पनि ड्रप गर्ने बानी छ मेरो
तर, ज्यान
तिम्रो असहज प्रश्नलाई पनि प्रेम गरेर बताउँछु
एकचित्त गरेर सुन–
मैले आफ्नै तप र परिश्रमले विकास गरेको
मेरो चेतनाले मलाई
दुइटा कुरा छान्ने
नैसर्गिक अधिकार दिइएको छ
पहिलो– देशको सरकार
र
अर्को– मेरो मुटुको शासक !
रामगोपाल आशुतोष
[email protected]