म देशभित्र थिएं वा परदेशमा । बाटैबाटो हिंडे वा दूर्बाटो । र एकदिन, समुद्रका छाल जस्तै भएर भिडहरूले घेरिएको थिएं । ‘जय जयकार’ले आकाश गुन्जायमान भइरहेको थियो । मेरा यश, कीर्तिमान तथा अजस्र सफलताको गुणगानले भरिएका फूलहरूको वृष्टिले वातावरण मनमोहक र चन्चल बनाइरहेको थियो । म दङ्ग थिएं ।
म झल्यास्स भएं ! सम्झे हजुरामालाई ! भन्दै हुनुहुन्थ्यो कुनै दिन, “हुलमा हराउनु अघि, पछाडि फर्किएर पनि हेर्नू पर्छ !”
पछाडि फर्के । आँखा चिम्म गरें । नियाले मनभित्र ! म निर्वस्त्र थिए !
आँखा उघारे । सामुन्ने हजुरामाहरू हुनुहुन्थ्यो ! उनीहरूको दुबैहातहरूमा दिव्य-वस्त्रहरू थिए । पहिराई दिनु भयो । लेखिएको थियो, ‘नहराउनु भिडमा ! गर्वले नबिर्सनु धरातल ! आफ्नो माटोको सुगन्ध नभुल्नु !’
कात्यायन, चाबहिल, काठमाडौं – ७
[email protected]