प्यालेस्टाइनको कविता

के हो यो धुवाँ जस्तै उडिरहेको ?
न पूरा सेतो देखिन्छ न पूरा कालो देखिन्छ,
कसैले जिन्दगी हो भनिदिए भने
मैले आश्चर्य मान्नु किन ?
न पूरा देखिन्छु न पूरा देखिन चाहन्छु
मैले जे देखिन चाहे पनि जिन्दगीले
आफूबाट मलाई पर देख्न चाहन्छ,
मैले यस्तै जिन्दगी केहीदिन अझै बाँच्न चाहे
भने ‘म’ भित्रको मृत्युले मलाई बाँच्न देला कि नाइँ ?
जे देख्छु जति देख्छु
बाच्ने प्रयास गरिरहेका देख्छु
घरी जीवन बेच्छन् घरी आफैँलाई बेच्छन्,
के देख्दैछु यो, जिन्दगी या मृत्यु ?
मृत्यु हो भनौं मैले अझैसम्म बाँच्न नि
जानेको छैन,
जिउँदो छु र पो वर-पर दुःख देख्छु
नत्र त वर-पर धुवाँसंगै जलेर धुवाँ
भइदिने मुर्दा देख्थेँ,
आखिर के हो यो ?
न रित्तिने न पूरा हुन सक्ने !
सकिन्थ्यो भने केहि बेर बिलौना गर्न पाउँथे
पूरा हुन्थ्यो त केहि बेर बाँच्न पाउथे,
श्वासको त्यान्द्रोमा अडिएको
परिधीभित्र सिमित समयमा
सिमित खुशीहरू
असिमित संघर्ष
सिमित सपनाहरू
र असिमित आँसुहरू
लोक जोशी
[email protected]