स्वयम्भुको भर्याङबाट ओर्लिदै गर्दा एउटी अधबैँसे महिला मेरो पछाडि पछाडि आउँदै थिइन ।
हातमा एउटा प्लास्टिकको झोला थियो । झोलाभित्र प्रष्ट देखिन्थ्यो फुटेको नरिबल अबीर धुप र देउतालाइ चढाइएको फूल । हेर्दा मङ्गोलियन अनुहार कि तिनी म भन्दा अलि जेठी देखिन्थिन् । म अघि अघि उनी पछि पछि । कहिले काही समदुरिमा हुन्थौँ हामी ।
मैले तिनको अनुहार हेर्न भ्याइसकेको थिए । अलिकति चिन्ताले कोपिला हालेको थियो आँखामा । मुहारको मध्य भागबाट व्यथाको नदी बगिरहेको जस्तो देखिन्थ्यो । यस्तो लाग्थ्यो कि तिनले स्वयम्भुमा केही भाकलको पुजा गरेर आएकी थिइन ।
घरी घरी उनले मलाई हेरे जस्तो लाग्यो अनि यसो छलेर म पनि पुलुक्क हेर्न भ्याउँथे । हामीले एकले आर्कालाइ हेरिरहेका छौँ भन्ने कुरा दुवैलाई थाहा थियो । उनी बोल्न खोजे जस्तो पनि लाग्छ । बाटो अलिक साँगुरो आयो अब भने अझै नजिकियौं हामी । नजीक भएपछि बोल्न त्यति गाह्रो थिएन । उनले मसँग बोल्ने कुनै बहाना खोजे जस्तो लाग्यो ।
समय थाहा हुँदाहुँदै पनि मैले हातमा बाधेको घडी हेरेँ ।
त्यही बेला उनले सोधिन “कति बज्यो ?“ स्वयम्भुको अन्तिम भर्याङ्गको खुड्किलामा आइपुग्दा बिहानको आठ बजिरहेको थियो । म शोभा भगवती तिर लम्किए । मेरै पाइला पछ्याउँदै उनी पनि आइन । समय भनि सके पछी हाम्रो वार्तालाप बाक्लियो । नाम, काम, घर, थर, बर सबै सोधपुछ भयो । श्रीमान बितेको तीन बर्ष भएछ । असन न्हैकन्तलामा बुटिक चलाएर बस्दि रहिछिन । सोह्रखुट्ठे पाटि हुँदै असन निस्कनु थियो मलाई पनि । शोभा भगवतीको पुलबाट म देब्रे लाग्न खोजे ।
हामी बिचको कुराले किनारा लाग्न पाएको थिएन । उनी अनुरोध गर्छिन मलाई न्हैकन्तला हुँदै जान । मैले नाइ भन्न सकिन । नारी जातीमा त्यस्तो के जादु छ कुन्नी एउटी अपरिचिताले जता जाउँ भने पनि उतै लाग्छ पुरूष । खोइ के ले छोप्छ कुन्नि मनलाई जता घुमाए पनि घुम्छ । बाटोमा सवारी आवागमन बाक्लिसकेको थियो ।
“मेरो बुटिकमा गएर चिया पिउने है” ? मलाई चियाको तल तल लागेको तिनले थाहा पाई सकिछन् ।
“बिहान मर्निङवाक गर्दा म चुरोट पिउदिन । तर यतिबेला सम्म भने म चिया र चुरोट हातमा लिएर पत्रीका हेरिरहेको हुन्थेँ ”
“हजूर चुरोट पिउनु हुन्छ र ?”
“पिउछु तर त्यस्तो धेरै अ्म्मली चै होइन ।”
“रक्सी पनि पिउनु हुन्छ होला नि”?
“पिउँछु तर त्यस्तो जड्या चै होइन ।”
“जुवा पनि खेल्नु हुन्छ होला नि ?”
“खेल्छु तर त्यस्तो जुवाडे चै होइन ।
“केटी पनि खेलाउनु हुन्छ होला नि”?
“खेलाउँछु तर त्यस्तो फुडो चै होइन”।
हिंड्दा हिड्दै उनले सोधेका धेरै प्रस्नहरूको जवाफदिएँ । कुनै कुरा पनि ढाँटिन मैले । नारीको अगाडि ढाट्न सक्दिन म किन भने ढाँटेको कुरा महिलाले सिधै पत्ता लगाउछन् । जे सोधे नी सिधै उत्तर दिए । मलाई पनि प्रस्न सोधपुछ गर्न मन लाग्यो । फेरि माइन्ड पो गर्नी हुनकी जस्तो पनि लाग्यो । आ जे त होला आँट दर्हो गरेर सोधेँ –
“चुरोट पिउनु हुन्छ”?
“धित मारेर पिउछु”।
“रक्सी पिउनु हुन्छ ?”
“मज्जाले पिउछु । आमाले बनाको कोदाको मात्रै ।”
“तास खेल्नु हुन्छ ”?
“खेल्छु तर प्रायः हार्छु कहिले जितेको थाहा छैन ।
“केटा पनि खेलाउनु हुन्छ ?”
“मन मिल्नेसँग मात्रै”।
“मन मिल्ने कति जना भेटियो त आजसम्म” ?
“मन मिल्नेहरू प्रायः भेटिनन्न् । भेटिएका पनि चाडै मेटिन्छन्”
“कति जना पुरुष साथी छन् ?”
“अतितमा एउटा थिए मेरा श्रीमान तर गाडी दुर्घटनामा बिते छोटो समयका लागि अनि ।
“गाह्रो छैन विधवा भएर बाच्न ”?
“बाच्न नजान्नेलाई त गार्है होला तर म सहज ढंगले बाचिरहेँ ”
“एक्लै बाँच्दा बोर हुदैन ?”
“कामले गर्दा जिन्दगी बारे सोच्ने फुर्सद नै हुँदैन”।
“अहिले को को हुनुहुन्छ ”?
“म र मेरो बुटिक अनि समय ”।
“मलाई एउटा खत्तम पुरुष सोच्नु भो होला है”?
“किन र ?”
“जे पनि गर्नी भएर”।
“कसैको हत्या त गर्नुभएको छैन नी” ?
“हैट छैन त्यस्तो अपराध पनि गर्छन”।
“कसैलाई अपहरण त गर्नुभएको छैन नी” ?
“एकचोटि त गरियो जिन्दगीमा”
“आम्मा कसलाइ नि ?”
“भु पु गर्लफ्रेन्डलाई ।
“अनि अहिलेको बहालवाला श्रीमतीलाई होला हैन” !
“हजूर ।”
“हसाउने गला र फसाउने कला रहेछ तपाईंसँग हा हा”।
हाँस्दै बुटिकको सटर खोलिन उनले । न्हैकन्तला उसो त दिउसै अँध्यारो गल्ली । त्यो माथी पनि धुम्म बादल लागेको दिन । जाडो अचाक्लि बढेको थियो । कुर्ता साडी र महिलाका भित्री अंगका कपडाले पुरै भरिएको थियो पसल । विभिन्न साइजका ब्रा र पेन्टीहरू झुन्डिएको भित्तामा एकजना पुरूषको श्यामश्वेत फोटोमा माला लगाएको देखेँ । हेर्दा निकै खाइलाग्दो र भलाद्मी पुरूष मेरो साथी दिक्पाल के.सी. पो थिए । झसङ्ग भएँ । ऊनी सानो ग्यास चुलो बालेर चिया पकाउदै थिइन । कता कता मेरो मुख बाट दिक्पाल ! शब्द भन्न आएछ । म झस्केको देखेर उनले सोधि हालिन् ।
“किन झस्केको ?”
“मेरो जिग्री दोस्त दिक्पालको फोटो यहाँ कसरी ?”
“मेरा भु पु श्रीमान तपाईंको साथी पो ?”
“भु पु चै कसरी ?”
“साथमा नभएपछि भु पु होइन त ?”
अलि मजाक र हासेर बोल्ने बानी रहेछ उनको ।
दिक्पालको फोटो देखेपछि कतारमा हामीले सँगै बिताएका रमाइला क्षणहरू सम्झिएँ । ऊ र म एउटै म्यानपावर कम्पनीबाट गएको हेभी गाडी चलाउन । मालबाहक गाडी एकै रातमा दोहा देखि दुवइ पुर्याउँथ्यो ऊ । र फर्किने बेलामा बोर्डर क्रस भएपछि फोन गर्थ्यो मलाई-
“बाहुन बाजे दाल तडका र चिकन फ्राइ गर है मज्जाले खानुपर्छ भरे भ्याट सिक्स्टि नाइन दुई बोतल ल्याएको छु”।
बेला बेलामा ऊ घर सम्झिन्थ्यो । भर्खरै बिहे गरेर आएको । बैँशकी श्रीमती छोडेर बिदेश आउदा गाह्रो हुँदोरहेछ भनेर गुनासो सुनाउँथ्यो मलाई । हेभी गाडी चालकलाइ हम्मेसी छुट्टी मिल्दैन । दुईबर्षसम्म छुट्टी नमिलेपछि ऊ दिक्क भको थियो । पछि त श्रीमतीसँग झगडा हुन थाल्यो । र बिस्तारै फोन सम्पर्क पनि हुन छोडयो । रक्सी टन्न पिएर फोन गर्दथ्यो । श्रीमतीले वास्ता गर्न छोडे पछि उ जिन्दगी देखि नै बिरक्तिएको थियो ।
समय समयमा जिन्दगीबारे सम्झाउँथे म । तर ऊ बढी नै भावुक भैसकेको थियो । जिन्दगीका बारेमा बुझाउन खोज्यो भने त धेरै दार्शनिक नबन बाजे भन्थ्यो । सारै असल मिजासको थियो । बिहे गरेको पन्ध्रौं दिनमा घर छोडेर हिडेको दुई बर्षसम्म छुट्टी नमिलेपछि मलाई प्रायः भन्थ्यो “अब मेरी श्रीमती पोइल गै होली” । त्यस्तो केही होइन दिक्पाल चिन्ता नगर तिम्री श्रीमती तिमी घर नगएर पो रिसाउनु भएको पख म साहुलाइ भनेर तिमीलाई छुट्टी मिलाउने कोसिस गर्छु”
घरसँग सम्पर्क टुटेपछी “त्यत्रो पैसा खर्च गरेर बिहे गरेको न धन रह्यो न इज्जत रह्यो न श्रीमती नै बसि”
निन्द्रामा पनि यहि कुरा बड बडाउथ्यो ।
साहुको ब्यापार भ्याइ नभ्याइ थियो । छुट्टी मिल्ने कुरा पनि फेरि सेलायो । बिहे गरेपछि प्रायः नारीहरू सगोलमा बसेर सासू ससुरा नन्द देवर र जेठानी देउरानीको बुहार्तन खप्न सक्तैनन । त्यही गुनासो पोखी छ उसकी श्रीमतीले पनि र भए भरको कमाएको पैसा पठाइ दिएछ श्रीमतीलाई । न्युरोडमा बुटिक खोलेकी छ त भन्थ्यो मलाई ।
कहिलेकाही म आफै पनि अति भावुक हुन्थे र सोच्थे । सम्पत्ती, समाज, बिहे, प्रेम, यौन, घृणा, नाता कुटुम्ब, छरछिमेकी, पसिना, आँसु, देश आदिआदि ।श्रीमती कै लागि भनेर पचास डिग्रीको तातोमा श्रमको पसिनाले निभाउँछ एउटा युवकले परिवारको भोक तर ! त्यही श्रीमती बैशको तीर्खा खप्न नसकेर अर्कैसँग सम्बन्ध गाँस्छिन । के यौनको आगो यति असह्य हुन्छ र ? जो आफ्नो मान्छेको आँसु र सपनाहरूलाई समेत कुल्चिन बाध्य हुन्छे एउटी नारी ? किन सहन सक्तिनन् धरती भनेर चिनिने नारीले बैँशको आवेगलाइ ? बैँशको भोक महत्त्व हो कि पेटको भोक महत्त्व हो मैले बुझ्न् सकेको छैन आज सम्म ।
यौनको मामिलामा मनुष्य कुकुर भन्दा पनि तल हुने रहेछ । एक ऋुतुमा मात्रै चराचुरूङ्गी र जनावरहरू सन्तानोत्पती क्रियामा सम्लग्न हुन्छन् तर मनुष्य हरबखत यौनको भोक पालेर बाँचिरहेको हुन्छ अनि कसरी भन्ने मनुष्यलाई प्राणि भन्दा श्रेष्ठ ? मान्छे असमाजिक जनावर हो । सिङमात्रै भको भए उसले के बाँकी राख्थ्यो होला र आफ्नो सामान्य दुश्मनलाई पनि ।
गिलासमा तातो चिया र एउटा सुर्य चुरोट सल्काएर ल्याईन । उनीसँग कुरा गर्दागर्दै म पनि यति भावुक भए छु कि मेरो जिग्री दोस्त दिक्पालको सम्झानामा आँसुनै खसेछ । भावुकताले खसेको आसुको केही थोपा चियामा कतिबेला मिसियो थाहै भएन ।
“आँखा रसिलो छ नि ?”
“जिग्री दोस्तको सम्झनामा”
“मैले त बिर्सिसके”
“अब किन सम्झिनु र ? सबै बन्दोबस्त गर्देकै रे छ”
“अब लाग्छु म पनि”
“बस्नु न के को हतार छ र ?
“मेरो पनि भु पु श्रीमतीले घरमा खाना बनाउदै होलिन”
खोइ कुन्नी उसले कुरा बुझिकी बुझिन तर अब भने मलाई किन पो हो त्यहाँ एकछिन उभिन पनि मन लागेन । उसको मोबाइलमा अघि देखिनै फोनको घण्टी बजिरहेको थियो तर उठाकि थिइनन खोइ किन हो । वातावरणलाई सहज बनाइदिदै म निस्किए । एक टुक्रा उदास बादल मेरो आँखाबाट हेलिदै असनको बुद्द स्तुपा माथी उडिरहेको थियो ।
लक्ष्मण सिटौला
[email protected]