• २०८१ मंसिर १७ सोमबार

मुक्तक

ऋषि बराल

ऋषि बराल

सदभाव राखौं मनाऔं चाड घरभित्र नै
दुस्मन बन्दैछन् त्यसैले आफ्नै मित्र नै
छद्म रूप ले कोही पस्यो की सम्बन्धमा ?
न भन्न सकिन्न न लेख्न सकिन्छ चित्र नै

दिन या रात के हुँदैछ तिम्रो सहरमा ?
रूवाबासी छ यता कोरोना कहरमा
सरकार भन्छ सक्दिन अब उपचार गर्न
कसरी बाँच्नु यस्ता नालायक को भरमा ।

चुनावमा मासु भातको गाँस देखाउँछन्
क्षणभङ्गुर भरोसाको आश देखाउँछन्
नेता, सभासद्, मन्त्रीहरू जति फेरे पनि
अन्त्यमा जनतालाई काराबास देखाउँछन् ।

दुईचारको के कुरा हजारको गन्ती भएन
सुख दुःखमा साथदिने कोही आफन्ती भएन
कोरोना कहरले लकडाउनमा थिचिएर
मर्दाको मलामी अनि ज्युदाको जन्ती भएन

बन्छ यहाँ काम अलि बेसी धायो भने
सँगै बसी यौटै थालमा जुठो खायो भने ।
कानुन त आफ्ना लागि नै बनाउछन् तर
छोरो पनि सिध्याउछन् शङ्का लायो भने ।

आउँछ्यौ कहिले गीत कहिले गजल बनेर
डुब्छु हरदम तिम्रो यादमा सजल बनेर ।
नभेट्दा तिमीसँग सोध्छु पखेरो र नदीलाई
यहीं छु भनि बोल्छ्यौ नदीको कलकल बनेर ।


ऋषि बराल, पोखरा
[email protected]