• २०८३ बैशाख २२, मंगलवार

इलामामा दुई दिने इलाम साहित्य महोत्सव समापन

इलाम ।

दुई दिनसम्म चलेको इलाम साहित्य महोत्सव शनिबार समापन भएको छ । पहिलो दिन साहित्य, समाज, राजनीति र विकासका बहसले तातेको उत्सव अन्तिम दिन शिक्षा, इतिहास, सीमासाहित्य र भूराजनीतिबारे चर्को बहससँगै समापन भएको हो । पहिलो सत्रमा ‘शिक्षा विधेयकको सकस’ विषयमा टंक गौतम, डा. योगेन्द्रमान श्रेष्ठ र पूर्ण गौतमबीच गहन बहस भयो। पत्रकार सटेन्द्र जबेगूले सञ्चालन गरेको उक्त सत्रमा शिक्षा प्रणालीका चुनौती, नीतिगत अस्पष्टता र कार्यान्वयनका चुनौतीमाथि छलफल भएको थियो । त्यसैगरी ‘सीमावर्ती साहित्य’ शीर्षकमा दार्जिलिङका कवि विनिता क्षेत्री, कृष्ण बराल र डा. ज्ञानेन्द्र यक्सोले सीमाक्षेत्रका सांस्कृतिक अन्तरसम्बन्ध र साहित्यिक प्रभावबारे बहर गरे । यो सत्र डा. हेम भण्डारीले सहजीकरण गरेका थिए ।

‘कथाः हिमालवारि हिमालपारि’ शीर्षकको अर्को सेसनमा पत्रकार सुधीर शर्माले समसामयिक भूराजनीतिक सन्दर्भ र नेपाली समाजमाथि विमर्श गरे । यस सत्रको सञ्चालन दीपक सापकोटाले गरेका थिए । त्यस्तै ‘इलाम डेभलपमेन्टः ओरेन्ज एन्ड ग्रिन इकोनोमी’ विषयमा प्रतिनिधिसभा सदस्य निस्कल राईले एकल सम्भाषणमार्फत इलामको सम्भावित आर्थिक रूपान्तरण, कृषि र पर्यावरणमैत्री विकासका आयाम प्रस्तुत गरे । ‘जराको कुरा’ शीर्षकको अन्तिम सत्रमा मोहन मैनाली, युद्धप्रसाद वैद्य र सुजित मैनालीले पुस्तान्तरण, अनुभव र समयक्रमसँगै समाजमा आएको परिवर्तनका विविध पाटो केलाए ।