यो शहरको प्रसिद्ध `पुस्ता कोलोनी´ को कथा हो । शहरका घरहरू कस्ता नमिल्दा ढंगले बसोबास गर्छन् । शहर घरहरूको जंगल हो । जंगलमा कुनै रूख अग्ला हुन्छन्, कुनै पुड्का, कुनै मोटा र कुनै सुकेनास लागे जस्ता । कतै बनमाराले बाटै छेकेर बस्छन् । कतै चोकमै सिस्नो झैँ उम्रेका हुन्छन् । कुनै रूख बूढो भएर कुप्रो परेर बसेको हुन्छ । कुनै घर माटो र ढुङ्गाले बान्ता ओकल्ने पोजिसनमा बसिरहेका हुन्छन् । फेरि कुनै कुनै त सुकेको हाँगा जस्तै हावाको वेगको ठक्करबाट भाँचिने दिन कुर्दै बसेका हुन्छन् । शहरमा झाङ्गिएको जंगलभन्दा ठ्याक्कै फरक छ, पुस्ता कोलोनी । पुस्ता कोलोनी शहरको कोलाहलमय वातावरणबाट चोखो छ । शहरको धुँवा र धुलो खासै भ्रमणमा आउँदैनन्, यस कोलोनीमा । शहरको दुईतीन माइलमा अवस्थित छ, पुस्ता कोलोनी ।
कोलोनी पनि घरहरूको जंगल नै हो तर कोलिनीका रूखमय घर एकनासका छन् । सिक्का जस्ता बराबर, चुरोटका खिल्ली जस्ता एकै किसिमका, ए-फोर साइजका पेपर जस्ता एक तमासका । ड्रोनको आँखाबाट पुस्ता कोलोनीका घरहरू स्कुलको एसेम्बली एरियामा प्रार्थना गर्न सतर्क पोजिसनमा उभिएका विद्यार्थीको समूह जस्तो देखिन्छ । पुस्ता कोलोनीलाई चारैतिरबाट पर्खालले घेरिएको छ । जसमा मुख्यद्वारबाट मात्र प्रवेश गर्न सकिन्छ । मुख्यद्वारको गेटको माथि ठूला अक्षरमा `पुस्ता कोलोनी´आकर्षण ढंगले लेखिएको छ । पुस्ता कोलोनी लेखेको तलपट्टि सानो इटालिक शैलीमा `यहाँ अटाउँछन् हरेक पुस्ता´ भनेर लेखिएको छ । यसलाई पुस्ता कोलोनीको ट्याग लाइनको रूपमा राखिएको हुनुपर्छ । यसले `यो पारिवारिक कोलोनी हो´ भनेर बुझाउँछ । पुस्ता कोलोनीमा जम्माजम्मी हजारवटा घरहरू छन् । जसको शैली एकै छ । एउटा लाइनमा दशवटा घर छन् । प्रत्येक घर दुई तलाका छन् । एउटा कौसी छ, फूलवाटिका छ । एक लाइनमा दशवट घर त्यसपछि एउटा कलात्मक ढुङ्गाको गलैँचा बिछ्याइएको जस्तो बाटो, अनि फेरि अर्को लाइन सुरू हुन्छ, दशवटा घरको । यसरी यस्तो लाइन सयवटा छ । उस्तै दुरूस्तै शैलीमा । प्रत्येक घरलाई नंवरको नामले न्वारान गरिएको छ, घर नं. १, २, ३….. गरेर । जब दशवटा घरको लाइन सकिन्छ, सुरू हुन्छ अर्को लाइन घर नं. ११, १२, १३ गरेर । यहाँका हजारवटा घरमा कतै तीन पुस्ता, कतै दुई पुस्ता र कतै तीन पुस्ता बसोबास गर्दछन् । यहाँका हजारवटा घरको कथा भन्न उपन्यास नै लेख्नुपर्ने हुन्छ । त्यसैले म कथा भन्न आएकोले आजको कथा दुईवटा घरको मात्र कथा भन्छु । एउटा घर नं. एक को कथा र अर्को ठीक त्यसको सामुन्नेको घर नं. एघारको कथा ।
*****
घर नं. १ जसमा चार जनाको सानो परिवार बस्छन् । परिवारको ज्येष्ठ सदस्य -फत्तबहादुर परियार उमेरले पैसठ्ठी नाघे । उनका छोरा बुहारी र एकजना नाति बाँकी सदस्य हुन् । फत्तबहादुर विदुर हुन्, दस वर्ष पहिले आफ्नो सहयात्रीलाई गुमाइसके । छोराबुहारी फत्तबहादुरलाई भन्दा उनको नाममा रहेको सम्पत्तिलाई बेस्सरी माया गर्छन् । फत्तबहादुर गुलियोको खानी हुन् । चिनी कारखाना हुन् । महको चाको हुन् । गुलियो भएरै होला उनलाई चिनी रोगले पनि माया गर्छ । चिनी मिसिएको उनको रगत बाक्लिएर विपिले पनि सहयात्रा गर्छ । उनका छोराबुहारी चिनी र प्रेसरले बुवालाई माया गरेर मायावी दुनियाँको संसारबाट अलग्गिने दिन कुरेर बसेका छन् । बुहारी फत्तबहादुरलाई देख्ने बित्तिकै हत्तपत्त मुख बङ्ग्याएर प्यारालाइसिस भएको बिरामीको जस्तो अवतार लिन्छिन् । छोरा बुवाले योग अभ्यास गरेको देख्यो कि, बुढोको आयु बढ्ने चिन्ताले तनावग्रस्त हुन्छन् । नाति आफ्नो हजुरबुबासँग भन्दा ल्यापटपसँग बढी समय व्यतित गर्छन् । तीन पुस्ताको बसोबास रहेको यो पुस्ता कलोनीमा अग्रज पुस्ताको मूल्य शून्य अङ्कको जस्तै छ । जिन्दगीभर ईश्वरलाई वास्ता नगरेका फत्तबहादुर आजको दिनमा हार्मोनियममा भजन गाएर आफ्नो समयलाई भक्तिमार्गमा व्यतित गर्छन् । पत्रपत्रिकामा छोराबुहारीले आफ्नै आमालाई वृद्धाश्रममा पुर्याएको समाचार पढेर उनी झस्किन्छन् । आफ्नो श्रीमतीलाई सम्झिन्छन्, आँसुका थोपाले पत्रिकाको पानालाई मुख धोइदिन्छन् ।
*****
घर नं. एघारमा बस्छिन्, साठी वर्षिया गोमा अर्याल । उनको छोराबुहारी र नाति नातिना गरेर परिवार सङ्ख्या पाँच छ । उनी पनि परिवारबाट घृणित व्यवहार गरिने पात्र हुन् । उनी विधवा हुन् । एक वर्ष मात्र भयो उनको बाहुनले छोडेर गएको । एक वर्ष पहिला उनका बाहुनले सबै सम्पत्ति आफ्नो छोराको नाममा पास गरेर गए । त्यसपछि गोमा प्रत्येक दिन अपहेलित हुनु परेको छ । छोराबुहारी आमाको उपस्थितिलाई पटक्कै मन पराउँदैनन् । उनी बिहानै सूर्य भन्दा पहिले उदाउँछिन् । एक घन्टा पूजा कोठामा आराधाना र ध्यानमा व्यतित गर्छिन् । भजन गाउँदा उनको स्वरमा तारादेवी आएर बसे जस्तो लाग्छ । उनी छोराबुहारीको खस्याकखुसुक कुराकानीबाट आफूलाई वृद्धाश्रममा पठाइने कुरासँग अवगत छिन् ।
*****
पुस्ता कोलोनीको बार्दलीमा सन्ध्याको मधुरो किरण आएर फुल्छ । गोमाले कातेको कपासको बाती चुडेर दुईटा टुक्रा हुन्छ । उनी मनमनै सोच्छिन्, `जति नै लामो तन्काएर काते पनि बाती आखिर जल्नु न छ तर जल्नु नै परेपछि सही समयमा हो भने कति आनन्द हुन्छ । कपासको बाती जले पनि कति सुन्दर देखिन्छ । प्रकाशको निशब्दतामा कति धेरै गुञ्जन हुन्छ । जल्नु त आखिर दियो जस्तै भएर जल्नु राम्रो । हुन त दियोले आफ्नो वरिपरि उज्यालो छरे पनि आफूमुनि निष्पट अँध्यारो नै हुन्छ ।´ आफ्ना छोराबुहारीलाई सम्झिन्छिन् । अनि एक्लै बरबराउन थाल्छिन्, `मैले र मेरो बाहुनले मिलेर छोरालाई संसार भरिको दियो किनेर उज्यालोको लेप लगाइदियौँ तर आज ऊ उज्यालो छ र म ठ्याक्कै त्यहीँ दियो मुनिको अँध्यारो भएको छु ।´
****
पुस्ता कोलोनीको ठ्याक्कै त्यस्तै सन्ध्याको घामको मधुरो किरण फत्तबहादुरको झ्यालबाट बिना अनुमति पस्छ, हरेक उज्यालो दिनमा । फत्तबहादुर मधुरो घाम र आफ्नो जीवनलाई तुलना गर्छन् । `घाम मधुरो भएपछि त नाथे मान्छेका दृष्टिले पनि हेप्छ । जुन घामलाई मध्यान्हमा आँखा जुधाउन सकिन्न, त्यहीँ घामसँग आँखा लडाउन तयार हुन्छन् मानिसका आँखा । मधुरो हुँदै गएपछि घामलाई अँध्यारोले पनि हस्तक्षेप गर्न थाल्छ । दिउँसभरि लुकेर बसेको चन्द्रमा पनि मधुरो घामलाई जितेरै प्रकट हुन्छ । घाम मधुरो भएपछि न हो विलीन हुँदै जाने क्षितिजको रेखामुनिबाट । घाम मधुरो भएपछि घरमा परिवारको उदय हुँदै जान्छ तर मेरो जीवनमा न घाम उदाउँदा छोराबुहारी उदाउँछन् न त घाम अस्ताउँदा नाति उदाउँछ । हरेकको जीवनमा दुईवटा घाम हुने रहेछ ! एउटा घाम जो आकाशमा फुल्छ अर्को घरमा तर मेरो घरको घामको फ्युज उडिसकेको छ । मलाई किन लाग्छ कि घाम डुब्नु भनेको अँध्यारो हुनु होइन बरू सीतारामलाई स्वागत गर्नु हो । जूनको किरण पिउनु हो । थकानले गलेका ब्याट्री जस्तै देहलाई रिचार्ज गर्नु हो । निराशा उम्रेका मस्तिष्कलाई सपनाको जुनकीरी बाल्नु हो । मलाई मधुरो घामले दिएको यो जीवनपाठ, मैले अनुसरण गर्नै पर्छ ।´
*******
साउने सोमबारको बिहानी छ । फत्तबहादुरका छोराबुहारी बोलबम यात्रामा छन् । नाति, बाउआमा नभएकोले प्राय घर आउँदैन । साथीको घरतिरै बस्छ । फत्तबहादुरले कौसीमा हार्मोनियम लिएर बजाउँदै भजन गाउन थाल्छ, `कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो ।
यो भजन गोमाको कानमा गएर ठोकिन्छ । गोमाको परिवार पनि घरमा छैनन् । एक महिने विदेश भ्रमणमा छन् । एक्ली गोमाले फत्तबहादुरको भजन खुब चाख दिएर सुन्छिन् । मनमनै फत्तबहादुरको भजनसँगै गुनगुनाउँछिन् । फत्तबहादुरको भजनले उनलाई चुम्बकले झैँ तान्छ । अचानक गोमाको मनमनैको भजन ठूलो स्वरमा गुञ्जिन्छ, `कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो ।´
सुरिलो अवाज श्रवण भएपछि फत्तबहादुर घर नं. १ बाट घर नं. ११ को कौसीतिर नजर फाल्छन् । गोमाको भजनको सुर समात्न औँलालाई आदेश दिन्छन् । यसरी उनीहरूको एक्लोपनलाई मेटाउन सत्संगको माहोल सिर्जना हुन्छ । यो क्रम एक घण्टासम्म चलिरहन्छ । एक घण्टाको भजन दोहोरीले उनीहरूमा खुसीको हिमपात गराउँछ ।
*****
गोमा आफ्नो कोठामा प्रवेश गर्छिन् । आज उनको मन आनन्दित छ । फूलको मालाभित्र भित्ताको सोफामा आँखा उघारेर उनको श्रीमान एउटै भावमा मुस्कुराइरहेको दृश्य हेर्छिन् । उनी सोच्छिन्, `पक्कै पनि उहाँ मेरो खुसी देखेर मुस्कुराउनु भएको हुनुपर्छ ।´ गोमा बाहिर बगैँचामा गएर फूललाई पानी पिलाउँछिन् । आज बगैँचामा फुलेका फूलमा बेग्लै सुगन्धको परागपान गर्छिन् । फूलको रसपान गर्न आएका भवरालाई हेरेर उनी मख्ख पर्छिन् । अरू दिन भएको भए उनले फूलको चास्नीमा डुबेका भवरालाई धपाउने गर्थिन् । आज उनलाई धपाउन मन लागेन । आज उनले फूल र भमरामा राधाकृष्ण देखिन् । फत्तबहादुरको हार्मिनियमको नादको उनको कानमा मात्र होइन मनमै गुञ्जियो । `यो खुसी, यो उमंग, यो तरंग अचानक कहाँबाट आयो ? फत्तबहादुर जो मेरो छिमेकी हो । आजसम्म उसमा मैले त्यो प्रेमिल भाव देखिनँ । उसको बारेमा जानकारी पनि थिएन । म लज्जावती झार झैँ लजाएर मुर्झाउनुमा फत्तबहादुरको अमूर्त स्पर्श छ ।´ मनमनै आफैसँग गफ लगाइन् ।
*****
घर नं. ११ मा फत्तबहादुर स्नानगृहमा छन् । आज उनलाई रूझाइरहेको पानीले अर्कै काउकुती लगाउँदै छ । यति मीठो काउकुती उनले आफ्नो श्रीमतीसँगको पहिलो चोटिको स्पर्शमा अनुभव गरेका थिए । उनले साबुनको गाँजलाई आफ्नो शरीरको उनानब्बे प्रतिशत भागमा लगाए । उनी कल्पिन थाले, `यो साबुनको गाँजले मेरो जीवनका दुःखका मैलोलाई सफाचट गर्दै छ । म दुःखको फोहोरबाट निक्लिएर स्वप्निल स्वर्गीय आनन्द बस्तीमा पुग्दै छु । यो कस्तो चमत्कारी साबुन, यो साबुन गोमा हुन् ।´
*****
आज मङ्गलवारको बिहानी । फत्तबहादुर हिजो जस्तै कौसीमा बसेर हार्मिनियमको कान निमोठ्दै छ्न् । घर नं. एघारको कौसीमा गोमा अघि नै आँखा ओछ्याएर बसेकी छिन् । फत्तबहादुरले सुर लगाउँदै, अहँ अहँ गर्छन् । हार्मोनियमको सुरमा फत्तको अवाज गुञ्जिन्छ, `राधे राधे……….. ।´ उताबाट गोमाले युगल भजनमा साथ दिन्छिन्, `कृष्ण कृष्ण ……. । ´
यो क्रम निरन्तर करिब एक घण्टासम्म चल्छ । एक घण्टामा गोमा राधा बन्छिन्, फत्तबहादुर कृष्ण । प्रेमको रंगले निश्चित उमेरको भित्तामा मात्र रंग पोत्दैन । प्रेमको रंगको बुरूस गोमा र फत्तबहादुरको मनमुटुमा पनि गएर पोतिन्छ । गोमाको चाउरी परेको गालामा प्रेमको लाली चढ्छ । फत्तबहादुरको जीर्ण परेको शरीरमा प्रेमले मृग बनाउँछ ।
****
मध्याह्नको समय छ । गोमा घर नं. एघारबाट घर नं. एकमा नजरको पुल बनाएर फत्तको मनको बार्दलीमा पुग्छिन् । पार्कतर्फ जाने सांकेतिक चिठ्ठी प्रेषित गर्छिन् । फत्तबहादुर तुरून्तै इसारा पत्रको जवाफ फर्काउँछन्, जुङ्गा मुसार्दै, हुन्छ भन्ने भावमा ।
गोमा र फत्तबहादुर पुस्ता कोलोनीको पार्कमा भेट्छन् । पार्कमा रङ्गीबिरङ्गी फूल छन् । युनिक वनस्पति छन् । मझौला पीपलको चौतारी छ र त्यो चौतारीको हाँगा पोखरीको पानीमा छाया बनेर पौडिरहेको छ । चौतारीको डिलमा दुबैजना एकर्कालाई बस्न आग्रह गर्छन् । दुबैजनाको बैठक सुरू हुन्छ ।
गोमा- `कति शीतल यो पीपल बोटको छहारी ।´
फत्तबहादुर- `सन्तानले पनि शीतल छहारी दिने भए कस्तो मीठो हुन्थ्यो है ।´
गोमाले- भिज्न लागेको आँखालाई पुछ्दै- `छहारी बन्ने जिम्मा त अभिभावकको मात्र रहेछ । सन्तानले त छहारी हुँदासम्म शीतल ताप्छन् । जुन दिन छहारीको पात सुक्न थाल्छ, त्यस दिनदेखि बोटै काट्ने योजना बनाउँछन् ।´
फत्तबहादुर- `गोमा हेर्नोस् न यो पोखरीका माछाहरू कति आनन्दित छन्, पोखरीमा । जुन दिन पोखरीबाट पानी विलय हुन्छ, त्यो दिन माछाको जीवन नष्ट हुन्छ । हामीहरूको जिन्दगी पनि यो पानीको पोखरी जस्तै हो । जहिलेसम्म हाम्रो जीवनमा पानी छ, तबसम्म हामी सुरक्षित छौँ । हाम्रो जिन्दगीबाट पानी सुकाइँदै छ । हामी यो पानी सुक्नुपूर्व पोखरीबाट नदीको बाटो लाग्नु पर्छ । नदीलाई सुकाउन जो कसैको हिम्मत हुन्न । हामी एक अर्काको छहारी बन्न पर्छ ।´
गोमा- आशाको दीपक बोले झैँ मुहार बताउँछिन्, ` बगैँचामा फुलेका फूल फुल्छन् अनि झर्छन् । फूल झरेपछि त्यसका बीज माटोमै मिल्छन् । त्यहीँ माटोमा अंकुरित हुन्छ नयाँ फूल । फत्त ! हजुरको हृदयको माटोमा म अंकुरण हुन चाहन्छु । यो पाकेर झर्न लागेको फूलका बीजलाई हजुरको बगैँचामा अटाइदिनुहोस् ।´
फत्तबहादुर- `म सानो जातको मान्छे । तपाईं ब्राह्मणी मसँग फुल्न सक्नुहुन्छ ?´
`मेरा आफ्ना जातका छोराबुहारीले त मलाई संरक्षण दिएनन् । मानिसको जात मानवता, करूणा र प्रेमको आधारमा मापन हुनपर्छ फत्तजी । मेरो लागि यो समय हजुरको ममतामयी प्रेम भन्दा अर्को कुनै ठूलो जात छैन । जातलाई यसका आधारमा नाप्ने हो भने हजुरभन्दा ठूलो जात अर्को कोही छैन । ´
दुबैजना यसरी गफिएछन्, घाम डुब्न लागेको पत्तै भएन । पश्चिमतर्फ नवदुलहीको टीका झैँ आकाशको निधारमा झुण्डिएको छ, सिम्रिक घाम । फत्तबहादुरलाई त्यो घाम टिपेर गोमाको खाली निधारमा लगाइदिन मन लाग्छ ।
निकै अनुशासित भएर उभिएका पुस्ता कलोनीलाई एक- एक नजरपान गर्छन् दुबैले ।
गोमा- `यो पुस्ता कोलिनीका घर कति सुन्दर छन्, है ! कुनै परेड खेल्न उभिएका सिपाहीको झुण्ड जस्तै तर बाहिरबाट जति सुन्दर छ, पुस्ता कोलोनी, भित्रबाटै त्यति नै कुरूप छ । नाम चाहिँ पुस्ता कोलोनी रे तर कहाँ अटाउन सकेका छन् र हामी जस्ता पुराना पुस्ता ?´
फत्तबहादुर- ` बरू शहरका झोपड बस्ती सुन्दर छन्, गोमा ! जहाँ घर सानो होला, फोहोर होला तर मन कति ठूलो र सफा छ । सबै पुस्ता कति मायाले बस्छन् । यो ठूलो शहरमा ठूलो कोलोनीमा, ठूलाठूला मान्छे बस्छन् तर यी ठूला छवि भएका मानिसको मन कति सानो है !´
सन्ध्या आरतीको समय भयो भनेर एकर्कालाई फेरि भेटौँला हात हल्लाउँदै घर नं. एक र एघारतर्फ मोडिन्छन् उनीहरूका पाइताला ।
******
एक वर्ष पछि
गोमा र फत्तबहादुर हिमालको काखमा नदीको किनारमा अवस्थित एउटा आलयमा छन् । उनीहरूसँगै अरु थुप्रै वृद्धावस्थाका मान्छे पनि छन् । सबै जना खुसी देखिन्छन् कोही समूह बनाएर चुट्किला सुनाउँदै बेस्सरी हाँस्दै छन् । कोही फूटबल खेल्दै छन् । कोही कुर्सीमा बसेर दृश्य पिउँदै छन् ।
*****
एक वर्ष पहिले
पार्कबाट फर्किएर घर पुग्पछि गोमाको मनमा कुरा खेल्न थाल्यो , `जुन घरमा उनको उपस्थितिलाई मनपराइन्न । त्यो घरमा बस्नुको के अर्थ ? यो घरमा म बसेँ भने एकदिन मलाई वृद्धाश्रम पुर्याउने पक्का छ ।´उनको दिवंगत बाहुनको तस्वीर अगाडि उभिएर उनले भनिन्, `हजुरले अन्तिम श्वास लिनु अगाडि मलाई खुसी भएर बाँच्न कसम खुवाउनु भएको थियो । त्यहीँ कसमको लाज राख्न गइरहेकी छु । ´म अब खुसी भएर बाँकी जीवन हजुरको नाममा समर्पण गर्न चाहन्छु ।´
उता घर नं. एकमा फत्तबहादुरको मनमा पनि हलचल चलिरह्यो । उनले गोमालाई फोन गरे, `गोमा हामी अब यस्तो ठाउँमा जानुपर्छ । त्यहाँ गएर एउटा वृद्धाश्रम खोल्नु पर्छ । हामी जस्तै सन्तानबाट अपहेलित आमाबुवालाई जम्मा गरेर राख्नुपर्छ । अब हामी हाम्रो मात्र होइन हामी जस्तै धेरैको खुसी बन्न सक्नुपर्छ । पैसाको चिन्ता नगर्नू । मेरो नाममा अथाह सम्पत्ति छ । त्यो सम्पत्तिको एक टुक्रा पनि म छोराबुहारीलाई दिन्नँ । सबै सम्पत्ति बेँचेर हामीले आश्रममा लगानी गर्नुपर्छ । एउटा सुनौलो संसारको निर्माण गर्न हामी भागेर कतै टाढा जानुपर्छ ।´
गोमाले खुसी हुँदै भनिन्- `हुन्छ´
यसरी गोमा र फत्तबहादुर भागेर हिमालको काखमा आएर `एक र एक एघार´ नामक वृद्धाश्रम खोले । आजभोलि उनीहरू सन्तानको मायाबाट वञ्चित आमाबुवालाई खोजेर आश्रममा ल्याउँछन् । उनीहरूको स्याहारसुसार गर्छन् । खुसीको ताल्चा लागेका ओठलाई प्रेमको चाबीले खोलेर मुस्कुराउन सिकाउँछन् ।
जनक कार्की, तानसेन , पाल्पा
[email protected]