म श्रमिक !
पर्वका झोलाहरूमा रमझम बोकेर
फ़र्कि फर्कि शरद त्यसरी नै आएर अभिवादन गर्छ
नदेखेझैँ गरी डराउँछु म
फर्काउन अभिवादन,
बाद्य छु
अभावका जुलुसहरूमा
पसिनासंग दिनभरी गीत गाउँदै
बाँच्ने कलामा व्यस्त हुन,
चपाएर भोकका स्वाभिमानहरू
जीवनको पटाङगिनीमा उभिएका
अभाव दुःखसंग भिडीरहन,
प्रतिपक्षी बनेर आइरहने चाडवाडसँग
घम्साघम्सी गर्न तयार रहन ।
विवशता !
यो अनवरत नटुटने श्रृंखलामा
पटक पटक यसरी नै
भरिभरी भएर
भरिएका लाई पोखाउन र
नभएकालाई रित्याउन
श्रमका ठेलाहरू र अभावका मेलाहरूमा
बास बस्न आउँछ दशैँ र
मस्त निदाउँछ अनिदा आँखाहरूमा
मेरो थोत्रो झुप्रोमा ।
थाहा छैन उसले बोकेको झोलामा के के हुन्छ ?
जगत हेर्दा हर्ष नै हर्ष बोकेर फर्केको परदेशीझैँ लाग्छ
सायद झोलाभित्र खुसी नै हुनुपर्छ
नभए त अभावको झुप्रो पनि किन यसरी मुस्कुराउँछ
श्रमिकको मन किन उज्ज्यालिंन खोज्छ
सम्पन्नताले स्वर्गको बैँश चोर्छ
अभावले सुका सुका गरी
पसिनाको मुल्य जगेडा गर्छ
र त्यही जगेडाले
टाल्दै कठिनाईका भित्ता र चुहिएको छानो
दशैंको स्वागतमा
उही पुरानो छाप्रोले पनि टिका टाँस्छ र
जमरा सिउरिन्छ
थोरै तिनैमा पनि छाप्रो थोते दाँत देखाएर मुस्कुराउँछ
सर्को मार्छ पिंङका डोरीहरूसंगै बिर्सेर अभाव
कति मीठो मुस्कान, आहा ! दशैँ
शारदीय पूर्णिमा आउनु अघि नै
घामका पहेँला किरण संगै
चिसो हिउँ बोकेर
टुप्लुक्क हिमाल सोध्न आउँछ
दशै कस्तो भयो ?
तब उल्टै सोध्न मन लाग्छ
प्रिय दशैँ !
छातिमा टाँस्दा झन चिसो हुन्छ
आँखैमा राख्दा पनि बिझाउँछ
जति लय तानेपनि बज्न मान्दैन माल श्री धुन
जति प्रयास गर्दा पनि मच्चिन्न पिङ
जति नै पटक छरे पनि मौलाउँदैन जमरा
अभावले गरेको प्रार्थना र कामनामा
सँधै मौन छ इश्वर
श्रमिकले मनाउने दशैँ किन फरक हुन्छ ?
श्रमले बाँच्नेहरूका लागि किन आउँछ विपक्षी बनेर दशैँ ?
तिमीसँग उत्तर छ की चिसो हिमाल ?
रञ्जना निरौला
[email protected]