• २०८२ माघ १८, आईतवार

भरत आचार्यका चार दशैँ मुक्तक

भरत आचार्य

भरत आचार्य

दुईचार हजारको अप्ठेरो पर्दा ,साह्रै नमजा
हितैषी सम्झ्यो उहि चमेरो पर्दा, साह्रै नमजा ।।
विधिको विधान टारेर टर्दै नटर्ने कसै गरि
दशैं तिहारमा जुठो सुत्केरो पर्दा, साह्रै नमजा ।

पर्ख पर्ख ! शुभेच्छुक दशैं आउन बाँकी छ
भरियाको काम छैन आफ्नै कलम साथी छ ।।
दुईचार अक्षर लेखेर शुभकामना पठाऊ
कति बन्छौ हुलाकी दुई शब्द नै काफी छ ।

चाडवाड आए मुखमा पैसा फल्दैनन् रुखमा
कमाउन नि गाह्रै छ मन गएन कमिसन घुसमा ।।
महङ्गीको चेपमा निम्न/मध्यमवर्ग चेपिन्छन
धर्म संस्कार जोगाऔंँ मितव्ययी बनी दुखमा ।

मीठो नौलो खाना खाइन्थ्यो र पो दशै जस्तो दशैं थ्यो ।
नयाँ चप्पल पड्काइन्थ्यो र पो दशैं जस्तो दशैं थ्यो ।।
चोकचोकमा लठ्ठे/ चौंडाले पिङ्ग कहाँ पाउनु हजुर-
चरर..हुई.. भन्दै मच्चाइन्थ्यो र पो दशै जस्तो दशैं थ्यो ।


भरत आचार्य
[email protected]