• २०८१ श्रावाण ११ शुक्रबार

कान्छीको दसैँ

लक्ष्मी घिमिरे

लक्ष्मी घिमिरे

शारदीय मौसमको
चिसोपनामा
मिठो वातावरणको उन्माद
कान्छीले अनुभव गरी
दशैँको रौनकतामा
कताकता उड्दै उड्दै त्यहीँ पुग्यो
कान्छीको मन
जहाँ बितेको थियो
सुन्दर बालापन

बलापन हुर्केको
त्यो ठूलो आँगन, चौडा पिँढी
माटे घर
सगोलमा रमाएको
आफ्नाको आत्मीयपन
अनि न्यानो माया

स्मृतिमा कान्छीले भेटी
सबै आफ्ना र आफन्तको मिठो मुस्कान
मन रमाइरह्यो उमङ्गमा

निलो मिडी र आकासे रङको सर्ट दिँदै
बाको आवाज कानमा ठोक्कियो
‘‘नमैल्याउनू नि !
दसैँको लुगा र
स्कुलको ड्रेस त्यही हो

त्यहीलुगामा
रमाएर टीका थाप्दै
हिंडेको बालापन
अहिलेझैँ लाग्छ
रोटे पिङ, लिङ्गे पिङ
घर लिप्ने कमेरो र रातो माटो
लङ्गुर बुर्जाका मारा छक्का
‘‘तिमारको खसीभन्दा त
हाम्रो खसी ठुलो बाई ! ’’
भन्दै साथीहरू माझ लगाएको धाक

कान्छीका आँखामा झलझली नाच्न थाल्यो
बाल्यकालको दशैँ
मन रमाउँदै गयो,
नाच्दै गयो
त्यही बालापनमा
रमाएकै मन लिएर कान्छी उठी
यता उति नियाली
सहरको साँघुरो गल्ली
साँघुरा मन भएका मान्छे
अनिआफू बस्ने साँघुरो कोठा
मधुरो बत्ती
भुइँमै ओछिएको ठुलो लम्पट
त्यही लम्पटमाथि
लहरै सुतेका तीन छोरी
तिनै सन्तानका भविष्यका लागि
परिवार र आफन्तसँग
टाढिएर अर्काको देशमा
आफ्नो अमूल्य श्रम बेचिरहेको
उसको कान्छालाई सम्झेर
आज ऊ धेरै दुःखी भई

आज कान्छीले बल्लबुझी
बाले निभाएको कर्तव्य
आमाले धानेको घरव्यवहार र पीडा
बुढौलीले गाँजिरहेको उमेरसँगै
अहिले उसका बा का
धमिला आँखाले
हामी सन्तानको न्यानो मायालाई
कति खोज्दो हो ?
कान्छीले सोची
आमाको मातृत्वले
अन्तै गुँड लगाई बसेका
आफ्ना बचेरालाई कति पुकार्दो हो ?
घाँसैघाँसले ढाकेको आँगन
अनि भत्किएको पिँढीको
एकएक छेउमा बसी बाटैतिर
आँखा बिछ्याउने बा आमालाई
सन्तानको आगमनको खुसीमा
रमाउन कति मन लाग्दो हो ?

यस्तै अनेक भावनामा डुब्दै गर्दा
कान्छीले बल्लबुझी
रमाइलो दशैँ त
बालापनमा मात्रआउँदो रहेछ !
बाले मेरा लागिदिएको खुसी जस्तै
मैले मेरा छोरीहरूलाई पनि खुसी दिनुपर्छ
कान्छी जुरुक्क उठी
कम्मरमा घुसारिराखेको थैलीबाट
कच्याककुचुक परेका
गोडा दसेक हजारका नोट झिकी
र सानो स्वरमा हिसाब गर्दै गई-

तीन हजार घर भाडा
दुई हजारको रासन पानी
दुई हजारको छोरीहरूलाई लुगा
पन्ध्र सयको मासु
पाँच सयको खत्र्याकखुत्रुक
दुई हजारको टीकाटाला
दशैँ आइगो नि ! !
केटाकेटीको पो दशैँ
म बुढीलाई के को दशैँ ?
भोलिपर्सि नयाँ लुगा लगाउँला
खुसी मनाउँला
कान्छी फिस्स हाँस्तै
आफैसँग कुरा गरी

उसको मनले उसैसँग प्रश्न गर्यो
कहिले आउँछ भोलि पर्सि ?
यतिखेर उसले अनन्त देखि
सन्तानको आगमनमा
आँखा बिछ्याउने आफ्ना वृद्ध बा आमालाई सम्झिरही
सन्तानको आगमनमा
आँखा बिछ्याउने आफ्ना वृद्ध बा आमालाई सम्झिरही ।


लक्ष्मी घिमिरे
[email protected]