• २०८३ आश्विन १२, सोमबार

श्रीओम श्रेष्ठ ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को तेस्रो नियात्राकृति ‘विदेशमा देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । यसअघि उनका दुई नियात्राकृतिसहित डेढ दर्जन पुस्तक प्रकाशित छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले कृति लोकार्पण गर्दै साहित्यकार रोदनको साहित्यिक साधनाको प्रशंसा गरे । श्रीओम एक इमानदार लेखक भएको उल्लेख गर्दै राजकर्णिकारले आफ्नो नियात्रा लेखनको समय स्मरण गरे ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै श्रीओमको यो कृति पठनीय रहेको बताए । कृतिमा १५ देशका ३१ नियात्रा समेटिएको चर्चा गर्दै समीक्षक प्रधानले भ्रमणका समयमा देखे भोगेका सानासाना कुरालाई रोचक तरिकाले ‘रोदन’ले आफ्नो नियात्रामा प्रस्तुत गरेको बताए । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नियात्राकार रोदनलाई शुभकामना दिँदै उनको लेखनमा देखिएको इमानदारिताको चर्चा गरे ।

नियात्राकार ‘रोदन’की श्रीमती ललिता श्रेष्ठले आफूले चिनेदेखि उनी साहित्य साधनामा निरन्तर लागिरहेको बताइन् । यो पुस्तकको प्रकाशन हुँदा आफूलाई खुसी लागेको बताउँदै उनले भनिन्, “उहाँको साहित्यिक दौडादौड सधैँको हो । अहिले रिटायर भएपछि पनि उहाँको दौडादौड घटेको छैन । झन् व्यस्त हुनुभएको छ ।”सुनकोसी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रकाशक केशव पराजुलीले पुस्तक एक वर्षअघि नै आउनुपर्ने बताए । उनले पछिल्लो समय लेखक अमेरिका र चीन यात्रामा गएकोले त्यसका पनि केही यात्रा समेट्ने सल्लाहले कृतिको प्रकाशनमा ढिलाइ भएको जानकारी गराए ।

कार्यक्रममा छविरमण सिलवाल, सुभद्रा अधिकारी र प्रदीप सापकोटाले आफ्ना धारणा राखेका थिए ।