समाचार

जीवनका
उकाली ओराली
चड्दै र झर्दैगर्दा
ती सुन्दर अतीत
बाल्यकालका
रमाइलापल
मानसपटलमा आउँछन्
पारिवारिक र
आफन्तजनको जमघट
मिठो मसिनो खानु
नयाँ कपडामा सजिनु
खुशीहुनु
शायद
त्यो नै
असीम आनन्द थियो ।
जीवन सङ्घर्ष र चुनौतीमा
सांसारिक दल्दलमा झर्दै गर्दा
साथी सङ्गीको जमघट
भेटका अवसरमा हुँदा
फेरि दोहरिँदो रहेछ सम्झना
हेर्दाहेर्दै कैयौँ वर्ष बिते
हरेक वर्ष आउने दशैँ
पोहर जस्तो हुँदो रहेनछ
खुशीलाई
बाध्यताले थिचेर हो कि ?
समयले
हामीलाई खोसेर हो कि ?
धेरै बदलिए जीवन शैली
धेरैं हराए रम्झमका चाहनाहरु
तीज दशैँ र तिहार आएर
घर घरमा खुशी दिँदा
जीवन बितेको
पत्तै हुँदो रहेनछ
आजकल
समय प्रतिकूल हुँदै छ
मानवीय संसार
कोरोना एवं
कोभीडको जालोमा
त्राहीमाम हुँदा
छिमेकीको घर सुनसान छ
आफन्तको आँगनमा परदेशीको पर्खाइ
कति पीडादायी छ चाडपर्वको
रमाइलो रम्झम सम्झेर
परदेशगएकाआफन्त
अझै आउन पाएनन्
कति
भक्कानिँदै होला मन ?
कति
दुःखेर रोए होला जीवन ?
देशमा राजनीतिको अँध्यारो
वस्तीमा युवाको अभाव
वृद्ध वृद्धाहरूका आँखाभरि
झल्झली दशैँ देख्छन्
अफसोच !
आफ्ना मुटुका टुक्राहरू
फर्केका छैनन्
नियतिलाई पछ्याउँदै
मनलाई बाँध्नु छ
आज अचानक
घरको कोठा सफागर्दै गर्दा
केही पुराना चीज भेटिए
अचम्मित हुँदै
पुराना
दस्तावेजहरू खोज्दै गएँ
साथीहरूले
पठाएका शुभकामना भेटिए
अतीत नजिकियो
दशैँको टीका सम्झेर
मुग्लानीहरूले पठाएका
कोशेली सम्झेँ
कति सुन्दर थिए !
मन भरिएर आउँदो रहेछ
आखिरी चाडपर्व
दुःख र सुखलाई अँगाल्न
मनाइने बहाना त रहेछ !
पूर्व क्षितिजमा देखिएको
कलिलो घाम
बिस्तारै बिस्तारै दिन
साँझ हुँदै अस्ताउँछ
जीवनका हरेक मोडहरूले
सिकाएका कुराहरू हुन्
दुःखर सुखले
भिजेको जिन्दगानीमा
दशैँ सम्झेर
कति मुग्लानी रुँदा हुन्
कसलाई के थाहा ?
सायद
यिनै चाडपर्वका कारण
हामी हटाएका त होइनौं ?
अचम्म लाग्छ
कस्तो बिडम्बना !
आफ्नै मुलुक जाँदा पनि
धेरै सजाय भोग्नु पर्ने
वर्षौँ भयोे
टीका थाप्न नपाएको
दशैँ सम्झेर
मुटु कुटु कुटु खाई रहेछ
आमा सम्झिन्छु
उहाँ हुनुहुन्न
बाबा सम्झिन्छु
डाँडामाथिका घामझैँ
अनायास झस्किन्छु
मुग्लानी हुनुको पीडा
कति कठोर हुँदो रहेछ
मात्र सम्झिन्छु
त्यो सुन्दर
स्वतन्त्र निर्भीक
बाल्यकाल
चमचार रोटेपिङ
सम्झना बोकेर आउँछन किन ?
यी दशैँ र तिहार,
निद्रा पर्दैन
सम्झेर दशैंलाई ।।
मोहन आचार्य जलद, बाग्लुङ्ग, हाल बेलायत लन्डन
[email protected]