• २०८१ असोज २९ मङ्गलबार

मौन दशैं

बिमला निरौला

बिमला निरौला

हर्ष, उल्लास र आनन्दको
दस्ताबेज बोकेर
प्रवासबाट हाम्फाल्दै आउंदा
खुशीका कहानीहरू सुनाउने
र पीडापोकाहरू विसाउने
मेरो मूर्धन्यता हराए पछी
मेरो दसैं अनायस्
बिगत बनिसकेछ !

हृदयमा बिछोड पीडाको
चाङ्गहरू चुलिंदै छ
स्मरणले छिया छिया
कोपेको मुटु र
पुराना पलपलका
तस्बिरमा झुण्डीएका यि दृष्टिहरू

कल्पेका र विश्वासमा कुँदेका
खुशीका मेरा ताराहरू
भुँई झरे पछि
बिलाएको रहर र
ढलेको छहारी मा
मौन छ मेरो दशैं !

खल्लो शरद,
मुर्झाएकाझैं रङ्गीन
फूलहरूका सुन्दरता
सुन्य चोटा कोठा र बार्दली
टोलाएको आँगन, करेसो र गोठ
खेतका गरा र बारीका कान्लाहरू
नियास्रीएका पूर्व पश्चिम
खोली किनाराहरू
घर भरी सेता बस्त्रको घुंइचो
अनि स्वयंको गरूङ्गो छांयामा
मौन छ मेरो दशैं  !

दसैंको रिमझिंमसंगै न्यानो पनमा
मुस्कुराउँदै त्यो पुरानो घरको
अटालीबाट हरेक बिहान
मलाई चिहाउने रवि
यति बेला धमिलो लाग्दैछ
हरेक साँझ मेरो छाँया बनी
मलाई पछ्याउँदै हाँस खेलमा
गाउँ डुल्ने चाँदनी
कालो बादलको घेरोमा मौन देख्छु
हो, त्यसरी नै मौन छ मेरो दशैं

पिंगको चचहुइ,
साथीभाइको रमाइलो
खेल, खाना, नाचगाना
अनि राता अक्षता र
पहेंलो जमरामा टक्क सजीएर
शिर भरी आशिष थाप्दै गरेको आफू
झस्किंदै निदार पुगेका हातमा
चिट चिट पसिना पुछिंदा
म हल्लाउन खोज्छु आफ्नै प्रतिबिम्ब
म जगाउन खोज्छु मेरा दशैं रहरहरू
तर ऊ मौन छ
हो, ऊ संगै मेरो दशैं पनि मौन छ
सायद म जस्तै असंख्य दशैंहरू
यस पाली चुपचाप छन् होला
मौन छन् होला
जसरी मेरो दशैं मौन छ !


बिमला निरौला
[email protected]