• २०८१ श्रावाण ८ मङ्गलबार

प्रेम मातृभूमि प्रति

डम्बर बिकेल

डम्बर बिकेल

छु म आमा, सात समुद्रपारि
ठूलो सहरमा
किनेको छु मैले सुन्दर एउटा महल
त्यही सहरमा
वरिपरि ठुलाठुला महलहरू बीच
एक्लो छ मेरो महल
त्यही एक्लो महलभित्रका मान्छेहरूबीच
एक्लो छु म
बाँच्न नसकी निसासिएर एक्लो भई
अक्सिजनको खोजीमा, रोपेको छु
सानो एउटा बिरुवा हृदयको गमलामा
ल्याएर हालेको छु नेपालको माटो त्यही गमलामा

हो आमा
किनेको छु
मैले चिल्लो एउटा गाडी
दौडाउँछु त्यही सहरमा
वरिपरि अनगिन्ती गाडीहरूबीच
एक्लो छ मेरो गाडी
त्यही एक्लो गाडीभित्रका मान्छेहरूबिच
एक्लो छु म
हाँस्न नसकी निसासिएर एक्लो भई
मायाको खोजीमा, राखेको छु
सानो एउटा चन्द्रसूर्य झन्डा हृदयको फ्रेममा
ल्याएर सजाएको छु नेपालको नक्सा त्यही फ्रेममा

आमा,
कमाएको छु प्रसस्तै पैसा
उत्तरतिर पैसा दक्षिणतिर पैसा
पूर्वपश्चिम चारैतिर पैसै पैसा
पैसाकै बिचमा पैसामै सुत्छु पैसै ओढेर
निद्रा लाग्दैन तर, शान्ति मिल्दैन
बाँच्न नसकी निसासिएर एक्लो भई
शान्तिको खोजीमा, सजाएको छु
सानो एउटा बुद्घको मूर्ति हृदयको सोकेसमा
ल्याएर राखेको छु सगरमाथाको तस्बिर त्यही सोकेसमा


डम्बर बिकेल
[email protected]