• २०७९ मंसिर २१ बुधबार

रम्बास कविता : कवितामा नयाँ आयाम

देवीचरण सेडाईँ

देवीचरण सेडाईँ

साहित्यको मूल विषय नै मानिस अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्ने सँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा आएका यावत कुरा नै साहित्यले समेटेको हुन्छ । एउटै धारा वा एउटै गतिमा साहित्य चल्नुपर्छ भन्ने सोच्नु धृष्टता हुन्छ । समाजमा सोचको परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउनु निश्चित हो । यसमा मानिसमा भएको सोचले कार्य गरेको हुन्छ । कसको सोच कति छ त्यति नै उसको उपलब्धि हुन्छ ।
यस लेखाइमा कुरा राख्न खोजिएको हो रम्बास कविताको । रम्बास कवितालाई रम्बास भनुन वा रम्बस त्यो गहन वा सोच्ने विषय हैन । सोच्ने विषय हो रम्बास कवितालाई ठोस कविता भन्नु वा कवितै हैन भन्नु । कविता हो कि हैन त्यसको उत्तर त पाठकले दिन्छन तर ठोस कविताको उत्तर दिने कसले ? ठोस कविताको धारणा कहिले, कसरी, कहाँबाट शुरू भयो त्यसको जानकारी नभै त भन्न सकिँदैन । ठोस (Concrete ) कवितालाई नै चित्र कविता, आकार कविता वा शक्ति कविता भनेको कुरा साहित्यबाट थाह लाग्छ । त्यस किसिमको कवितामा कुनै नीतिगत कुरालाई ल्याइएको पाइँदैन । एउटा चित्र बनाएर त्यस चित्रको विषयमा लेख्नु नै चित्र कविता हो । त्यसको प्रचलन खृ.पू. तेस्रो र दोस्रोमा ग्रीकमा थालिएको देखिन्छ । ती कविताहरू कुनै चित्र भित्र हुन्थे र कवितामा त्यही चित्रको विषयमा लेखिएको हुन्थ्यो । त्यो प्रक्रिया धेरै दिनसम्म रहेन तर सम्पूर्ण रूपमा विलोप पनि भएन ।
कुनै नयाँ कुरालाई प्रतिष्ठा गर्न एउटा लामो समयावधिको प्रयोजन हुन्छ । त्यही लामो समयमा पनि उसले आफूलाई प्रतिष्ठा गर्न सकेन भनेँ विलुप्त प्राय हुन्छ । साहित्यमा अध्ययन गर्ने विधा धेरै छन । त्यस मध्येको एउटा प्रमुख विधा हो कविता । कविताले मानिसको अन्तर्मंनको भावनालाई व्यक्त गरेर एउटा साहित्य सृजना गर्छ । त्यो कविता एउटै धारा वा गतिमा हिँड्नुपर्छ भन्ने वाध्य वाधकता रहँदैन । यदि त्यस किसिमको धारणा हुन्थ्यो भनेँ साहित्यमा हरेक वादको आवश्यकता नै हुने थिएन । साहित्यको कविता विधालाई नयाँ प्रयोग गरेर उपविधाका रूपमा आएको पक्ष हो रम्बास कविता । यसको अवधारणा भारतको असम राज्यका एकजना साहित्यानुरागी मिलन बोहोराज्यूको हो । यसलाई एउटा नीतिमा बाँध्नु पर्छ भन्ने अर्का जना व्यक्ति हुन प्रा. देवीचरण सेडाईँ । एउटा कविता लेखेर त्यसलाई रम्बासको आकृतिमा मिलाउन सक्नु यसको धारणा हो । एकसय अक्षर भित्र आफ्नो मनको भावना व्यक्त गर्न सक्षम हुने र रम्बासको आकृति भित्र राख्न सक्षम हुने व्यक्ति नै रम्बास कवि मानिन्छ । विशेष गरि शुद्ध र सबल विषयलाई अँगालेर लेख्नु नै रम्बास कविहरूको लक्ष्य हो । यो रम्बास कविता पारम्परिक कविता विधाको रूखमा पलाएको ऐँजेरू हैन । यो त्यही पारम्परिक कविताको रूखको एउटा डालो हो जहाँ थोरै पात र स साना फूल फुल्ने गर्छन । यसलाई ऐँजेरू भन्नेहरूलाई थाह हुनु पर्थ्यो कि यसले पारम्परिक कवितालाई विनष्ट गर्ने कुनै किसिमको रोग लिएर आएको छैन । कुनै पनि उपविधाले एउटा सबल विधालाई विनष्ट गर्छ भन्नु त्यस विधा माथि ऊ अनभिज्ञ हुनु मानिन्छ । हुन त पूर्वमा आकृति कविताको धारणा चौथो शताव्दीमा चीन देशमा आरम्भ भएको थियो । सु हुइ जुआन्जि (Su Hui Xuanji) ले चीनमा आकृति कविताको आरम्भ गरेका भएता पनि उनको समय पछि यो विधा सकिएन, रह्यो नै ।
विश्वका पूर्व पश्चिम दुवै तर्फका मुलुकहरूमा यस विधाले जन्म त लियो तर धेरैदिन नरहेता पनि आफ्नो छाप भनेँ राखेकै छ ।
चित्र काव्यको धारणा संस्कृतमा भएको उल्लेख छ । त्यस अतिरिक्त हिन्दी, मराठी र तामिल साहित्यमा पनि उल्लेख नभएको हैन । चित्रकाव्यको धारणा र आजको यो रम्बास कविताको धारणामा भनेँ धेरै अन्तर छ । चित्र काव्यले चाहिँ त्यही चित्रको वर्णन गर्दछ जस्तो चित्र हुन्छ तर रम्बास कविताले रम्बास भित्र रहेर पनि रम्बासको या ज्यामितीय आकृतिको वर्णन गर्दैन । कविले आफ्नो मनको भाव सूक्ष्म रूपमा व्यक्त गरेर रम्बासको आकृतिभित्र राख्ने धारणा नै रम्बास कविता हो । यसमा भाव, शिल्प, अनुभूति र विषयवस्तुलाई यथाशक्य छर्लङ्ग्याउने गरिएको हुन्छ । छोटो समयमा छोटो लेखाइले पाठकलाई मनोविनोद दिने त्यसको सूक्ष्म ज्ञान दिनसक्नु उत्तर आधुनिक कालको साहित्यिक धारणा हो । यसले सोही अनुरूप कार्य गर्न सके कविता सफल भएको मानिने छ । साहित्यको कविता विधालाइ यसले अफाल्न भने खोजेको कदापि नै हैन , तर केही साहित्य लेख्नेहरूले (जसले रूचाएन) भने यसलाई वकवास व कविताको विध्वङ्शी शत्रु पनि मानेको देखिन्छ, जुन चाहिँ सम्पूर्ण अशुद्ध धारणा हो ।
जहाँसम्म रम्बास कविता लगायत अरू कविताका उपविधाहरू असमका कविहरूले लेख्ने कि नलेख्ने प्रश्न छ यस विषयमा यतिनै भन्नु छ कि कसले के लेख्न मन पराउँछ त्यो उसको व्यक्तिगत चयन हो ।  कसैले श्रुतलिपि दिएर या निर्देश दिएर काव्य सिर्जना हुँदैन । असम जस्तो ठाउँमा जहाँ नेपाली भाषाको पठनपाठन गर्ने वुनियादी सुविधा नै छैन त्यहाँ छन्द कविता या गद्य कविता लेख्ने परामर्श दिनु चाहिँ सरासर अपरिपक्व सुझाव हो । गजल, मुक्तक, हाइकु, रम्बासजस्ता कविता लेखेर जसैतसै एउटा भाषाचर्चा गर्ने माहोल बनिसकेको बेलामा यस्तो आह्वानले हत‍ोत्साह गर्नु बाहेक अर्थोक केही गर्दैन ।


देवीचरण सेडाईँ, प्रवक्ता, नेपाली विभाग, डिगबोइ ,असम, भारत
[email protected]