• २०८१ भाद्र २७ बिहीबार

हीरा परियारका पाँच मुक्तकहरू

हीरा परियार

हीरा परियार

तिम्रै यादमा हरेक दिनरात रून थालेकी छु
वेदनाका खाडलहरू सम्झनाले टालेकी छु
छिट्टै हाम्रो भेटहोस् भनि मनको दियो बाली
देवी देवतासँग मिलनको पल मागेकी छु

तिम्रा ती कोमल स्पर्श र चोखो माया
अझैँ आँखा मै छ तिम्रो मुहारको छाया
भुल्न कदापी सक्दिन म सम्झना मै ज्युँला बरू
हृदय भरी हाँसेको छ तिम्रो सुन्दर काया

भेट हुने त कुरै भएन सपनीमा आउँला
निदरीको माला लगाई चोखो प्रित लाउँला
सम्झनाका पाइला संगै हामी घुम्न जाउँला
नभए पनि सपनी मै मिलन मनाउँला

आज भोली जिन्दगी झोक्किएर बित्दैछ
भित्र भित्रै जिन्दगी खोक्रिएर बित्दैछ
तँछाड मछाड गर्दै आफन्त सँग यहाँ
थोत्रो भयो जिन्दगी च्यातिएर बित्दैछ

तिम्रो यादले हेर मेरो मन जलेको छ
चोटमाथी चोट बोकी यो मन गलेको छ
अधुरो मायाले डडेल्लो लायो जिन्दगीमा
मन मुटु सबै मेरो आगो भै बलेको छ


हीरा परियार, काठमाडौँ
[email protected]