• २०८१ बैशाख ८ शनिवार

बुवा

बाबा बस्नेत

बाबा बस्नेत

बुबा !
सार्है गार्हो हुँदोरहेछ
स्वाभिमानको आकाश ओढेर
आदर्शको धर्ती टेक्न !

म सम्झँदैछु यतिखेर
कति गार्हो हुन्थ्यो होला तपाईंलाई
स्फटिक भई बाँच्न !

आफ्नै श्रम र सिपको भर्याङ टेक्दै
सफलताको उचाई अग्ल्याउनेहरू नै
टाकुरामा टिकिरहन्छन् ! भन्दै
न कसैको बुइ चढ्न सिकाउनु भो
न कसैको काँध !
नभन्नुभो कहिल्यै
”अगाडी बढ्नलाई
चाहिन्छ कसैको हात !”

ताते ताते गराउँदै गर्दा
आफ्नो हत्केलाबाटै
फुत्काएर छोडिदिनु हुन्थ्यो
मेरा स-साना औंलाहरू..
गौँथलिले बचेरालाई
पखेटा चाल्न छोडिदिए झैँ !

अलमल्ल परि
निसासिँदै म लड्दा त्यतिखेर
भन्नुहुन्थ्यो ”उठ !
आफैँ उठ्नुपर्छ छोरी
आफैँलाई टेको बनाएर !
तिम्रो बाबा कहाँ हुन्छु र सधैं
तिमी सित ! ?”
अरूको काँध
र अरूको बुईको त
ब्याज तिरी रहनुपर्छ निरन्तर !”

बुबा !
साउँ ब्याज र कर नलाग्ने
तपाइँको त्यो निश्वार्थ
मायाको गुरूकुल
पुरिएपछि समयको पहिरोमा
उत्खनन गरि गरि त्यहि ठाउँ
उप्काएर विश्वासको थुन्सेभरि
तपाईंको आदर्शमय कमेरो…
मेरो जीवन भित्तो लिपिरहेछु म !

हो
सेतो कमेरोको
मौलिक रङ नै त रहेछ
सबैभन्दा असली रङ !

मैले सकिन बुवा
कमेरोको ढाँचा बिगार्न
सकिन आफूलाई ईन्द्रेनी बनाउन
पटक्कै सकिन बुबा,
शरीर काँचुली फेर्न !

त्यसैले त चालिरहेकी निरन्तर
निर्भिक माझीझैँ एकोहोरो
समुद्रमा जीवन डुङ्गा !!

यहाँ सर्प झैँ फँडा फैलाउन पनि
जान्नु पर्दो रहेछ !
आदर्श र स्वाभिमानलाई
बिकाउमा राख्न पनि जान्नुपर्दो रहेछ !

तपाईंले हिँड्न भन्नु भएको बाटो
जव बाङ्गिन्छ बाटै नदेखेर
तपाईंले पुग्न भन्नु भएको गन्तव्य
जव टाढिन्छ आँटै नभेटेर
तव बुवा !
डुवाएर समुद्रमै यो मायावी डुङ्गा
स्थिर गराई केहि समय पानीलाई
प्रकृतिलाई नै स्तब्ध तुल्याउँझैँ लाग्छ !!

मृत्यु झेलि सकेपछि
बाँकि हुँदैन डर कुनै मान्छेमा !

अहिले जस्तो लाग्छ बुबा !
बोलि पनि प्रष्ट नफुट्दै
फिट्फाट गराएर मलाई
तपाईंले बाह्रखरी घोकाएको !

ठस् ठस् परि
आँखा र नाकपुस्दै
दारा किटि किटि’ कपुरी क !’ रट्नु
कुहिरो भित्रको कागले
गन्तव्य खोज्नु सरह हुन्थ्यो !

तपाईं भनिरहनु हुन्थ्यो-
“आफैँ भर्नुपर्छ आफ्नो जीवनमा
सबैले टिप्ने लय,
जीवन सारङ्गी बनोस्
सबैको दु:ख रेट्न सक्ने !
जीवन यसरी तिखारियोस्
बाँसुरी बनोस् !
अनि मात्रै जीवन
जीवन जस्तो हुन्छ ।”

निश्वार्थ रेटिँदै तिखाँरिदै
सारङ्गी र बाँसुरी बनेको जीवन
यो ब्यापारी हिसाव कितावको
व्यस्त बजारमा
निश्चित मूल्यको ट्याग बिना
जीवन जस्तो हुँदो रहेनछ !

बुबा ! तव यो जीवन ,
तपाईंको ईच्छाको बाँसुरीको धून
र सारङ्गीको तारमा कसरी समेटुँ म ?


बाबा बस्नेत, काठमाडौँ
[email protected]