समाचार

जब मानिस आफ्नो बौद्धिकताले माथि उठ्छ तब उसको चेतना पनि समृद्ध मानिने हुन्छ । त्यस्तो चेतनाको तह नाप्ने कुनै यन्त्र हुन्न । न बौद्धिकताको नै । यदि भए के पो अर्थ हुन्थ्यो होला चेतना र बौद्धिकताको । थाहा छैन मनिसको जीवनमा कतिकति कुराहरूले प्रभाव पार्छ र असल-खराब हुन्छन् । अर्थात ज्ञानी र मूर्ख या भनौँ विद्वान् र भुस्कुल हुन्छन् । जीवनको कसी नाप्न नसके पनि जुन मानिसको व्यक्तित्व असाधरण र सरल हुन्छ त्यो मानिस सधैँसधैँ सबैको प्रिय र अमर हुन्छ । गुरू नरेन्द्र चापागाईं साधरण जीवनशैलीले उज्ज्वल बन्नुभएको असाधारण व्यक्तित्व ठान्छु म । सबैसँग सरल व्यवहार गर्ने मिजासिलो चिन्तक । हुन त सङ्गत नहुनेका लागि निकै फरक प्रवृत्तिको लाग्ला । चुपचाप आफ्नै सुर र तालमा कर्म गर्न रमाउने विद्वान् । कोही मानिससँग भेट हुँदा आवश्यक कुरा मात्र बोल्ने । साधरण पहिरनमा गहकिलो तर झट्ट देख्दा नवोल्ने कस्तो घमण्डी जस्तो लाग्ने । चिनजान भइसकेपछि कसैले बोलाएको ठाउँमा गाह्रो नमानी जाने अझ घरमा नै बोलाएर पनि सरसल्लाह दिने र सहयोग गर्ने नरेन्द्रगुरूको स्वभाव नै सुन्दर पाठजस्तो लाग्छ ।
जुनसुकै क्षेत्रमा पनि मानिसको केही न केही रूचि र क्षमता हुन्छ र कुनै न कुनै विशेषता हुन्छ । तर कोही आफ्नो विशेषता बुझेर अगाडि बढ्छन् र हितकारी हुन्छन्, कसैले बुझ्दैनन् र त्यसै हराउँछन् भने कसैले बुझेर पनि गति छाडेर समाजकै बोझ हुन पुग्छन् । यो बुझ्नु र नबुझ्नु मानिसको प्रवृत्तिमा भर पर्ने कुरा हो । अनि फेरि कसैको आचरण नै गलत प्रवृत्तिको हुन्छ, कसैको राम्रो आचरण हुँदाहुँदै पनि कुनै कारणवश नराम्रो प्रवृत्तिका देखिन्छन् । अनि कोही मेहनतले अघि बढ्ने, कोही धाक-फुर्तीले र घोके दिएर भए पनि अघि बढ्ने मान्छेको प्रवृत्ति हुन्छ ।
इमानदार र मेहनत नै मानिसको सफलताको कडी हो । यसरी भएको सफलताबाटै मानिस अनुकरणीय हुन्छ र महान् बन्छ । निरन्तर साधना, मेहनत र अथक परिश्रमबाट मानव कल्याणका लागि केही गरेर अमर बन्छन् । त्यसो त कोहीकोही अलपत्र परेर बाटामै पनि हराउँछन् ।
यस्तै निरन्तर साधनारत मेहनती, परिश्रमी र चिन्तनशील व्यक्तित्व हुनुहुन्थ्यो प्रा. डा. नरेन्द्र चापागाई । नेपाली समालोचना, भाषा र साहित्यको क्षेत्रमा लामो समयदेखि लागि पर्नु भएका डा. चापागाईं नेपाली भाषाको क्षेत्रमा एक सशक्त भाषा वैज्ञानिकका रूपमा आलोकित हुनुहुन्थ्यो ।
वि. सं २०४१, ०४२ तिर कन्या क्याम्पस विराटनगरमा नेपाली पढाउने मेरा गुरू नरेन्द्र चापागाईं । जीवन पढ्ने क्रममा उहाँ शैक्षिक गुरू मात्र रहनु भएन । जीवनको अन्तिम क्षण अर्थात संसार छाड्ने दिनसम्मनै मेरा अक्षरका गुरू हुनुभयो । साहित्यिक कार्यक्रमहरूमा सधैँ गम्भीर भएर विचरण गर्ने एक शिष्ट अध्योता । भेट हुँदा मेरो साहित्यिक गतिविधिमा चासो राखेर मार्ग निर्देश गर्ने गुरू । मेरो लेखनलाई केही सुधार गर्नुपर्ने भए उहाँले घरमा नै बोलाएर सल्लाह दिनुहुन्थ्यो । कुनै रचना देखाएर सल्लाह लिनु पर्दा सरको घरमा मेरा लागि जहिल्यै ढोका खुला हुने । अझ एक, दुई रचना त गुरूले नै पुनःलेखन गरेर सुन्दर बनाई दिएका सम्झनाले म कहिलेकहीँ द्रभिभूत पनि हुन्छु । आदरणीय अग्रजहरूको अभिन्नदन, सम्मान गर्नुपर्दा गुरूको घर जनपथमा सरर गयो र गुरूलाई लेख्न छाड्यो । अनि भोलिपर्सि कहिले बोलाउनु हुन्थ्यो, लिन गयो र भाँती पुर्याएर लेखेको व्यहोरा ल्यायो । कति सहयोग गर्नु भएथ्यो त्यस सम्झनाले म आफूलाई भाग्यमानी ठान्छु । गुरूले कहिल्यै मेरो अनुरोधलाई अस्वीकार गर्नु भएन । अनि साहित्य सम्बन्धी कुनै कार्यक्रमका लागि सल्लाह दिन कन्जुस्याइँ पटक्कै नगर्ने मिजासिले व्यक्ति हुनुहुन्थ्यो । कार्यक्रममा बोलायो । समयमा नै टुप्लुक्क आउने । उहाँको स्नेहले सधैँ म नतमस्तक हुन्थेँ । गुरूआमा (गुरूकी श्रीमती) सरला भाउजूले गुरूको जीवनकालदेखि आजसम्म मलाई स्नेहवत व्यवहार गरिरहनु भएको छ । उहाँबाट एउटा छुट्टै स्नेहको स्पर्शले म गदगद हुन्छु ।
गुरू निकै बिरामी हुनुभएको वेला उपचारका लागि काठमाडौँ लगिएको थियो । त्यहीँ समयमा काठमाडौँ जाने मेरो काम परेर गएकी थिएँ । काठमाडौँमा गुरूको स्वास्थ्य स्थिति सुधार नभएर दिल्ली लाने कुरा चल्दै रै’छ । मलाई गुरूलाई भेट्ने तीव्र इच्छा भयो । संजोग अनिल पौडेल भाइले एकदिन नरेन्द्र गुरूलाई भेट्न जाने भए जौँ दिदी भन्नु भयो । भाइले त्यसो भनेपछि नजाने कुरै भएन । त्यसवेला म काठमाडौँमा एक्लै कहीँ जान भेउ नै पाउँदिन थेँ । मोबाइलको सुविधा पनि थिएन । हामी बानेश्वर बस्ने उहाँ बबरमहलमा छोरी समीक्षाको घरमा उपचार गराउन बस्नु भएको रहेछ । अनिल भाइको हिँडाएर एकछिनमा गुरू भेट्न पुराउनु भयो । त्यसवेला गुरूरुको हालत देखेर म त बोल्न नै सकिनँ । भाउजूसँग हल्का कुरा गरेर फर्किएको सम्झना छ । त्यसको केही दिनपछि दिल्लीमा लगेर उपचार भयो । अनि निकै समयपछि अलि स्वास्थ्य भएर विराटनगर फर्कनु भयो ।
त्यसपछि पनि उहाँको क्रियाशील जीवनले गति लिएर सबैलाई चकित बनाउनु भएका सन्दर्भहरू मेरो स्मृति पटमा छरपस्ट छन् । फेरि केही समयपछि देखि आफ्नो लेखनको तानावानाको सुझावगुरूबाट मैले लिइरहेँ एउटा विद्यार्थी जस्तो भएर । उहाँको बुझाउने तरिका पनि सजिलो भएर होला, लेख्न इच्छा गर्ने हरेकले बुझ्थे ।
जीवन आफूले सोचे जस्तो हुने भए कस्तो हुन्थ्यो यो सृष्टि । तर आफूले देखेका सारा सपनालाई निष्ठुर समयले टुटाइ दिन्छ । यसरी नै गुरूका सारा सपनाहरू अधुरै पारेर अनायासै लग्यो समयले । जुन दिन राती उहाँले यस धरामा अन्तिम सास फेर्नुपर्ने रै’छ, त्यही दिन केही साहित्यिक सुभाव दिन मलाई बोलाउनु भयो । त्यसैले उहाँको अनन्त यात्रामा लीन हुनुअघि मैले दर्शन गर्न पाएँ । बिहान मलाई खाना खाने गरी आउनु भनेर बोलाउनु भयो ।
त्यस दिन पहिले जस्तै गुरू र भाउजूले बढो हार्दिकताका साथ मलाई स्नेह गर्नुभयो । उहाँको जीवन यति नै हो भन्ने कसलाई थाहा र ? यो नियतिबाट अनभिज्ञ हामी एकै ठाउँमा बसेर खाना खायौँ । निकै बेर कुराकानी गर्यौं र म दिउँसोको चिया नास्ता गरेर घर फर्किएँ । मैले भोलि दिउँसो काठमाडौँ जाने टिकट लिएकी थिएँ ।
समय बगिरह्यो रातको सन्नाटा छिचोल्दै अलिअलि गर्दै बिहान भयो । भोलिपल्ट बिहान १० बजेतिर साहित्यका साधक प्रिय भाइ हरि बराल मेरो घरमा टुप्लुक्क आउनुभयो र भन्नुभयो- ‘दिदी हिजो वैशाख १ २०६१ को साँझ ६ बजेतिर नरेन्द्र चापागाईं गुरू हृदयघात भएर बित्नुभयो । अब एकछिन घाटमा लान्छन् ।’ भाइले यसो भनिरहँदा एकछिन त मलाई विश्वास नै लागेन । तर दैवको नियमलाई स्वीकार्नु बाहेक अरू विकल्प थिएन । बढो संयमित भएर स्वीकारेँ । एउटा साहित्यका गहकिला साधक मलाई स्नेह गर्ने मार्गनिर्देशक मेरा गुरूले यस लोक छाडेको खबरले मलाई निकै चिन्तित बनाएको त्यो क्षण सम्झँदा मलाई एकतमासले उकुसमुकुस हुन्छ । उहाँबाट कति कुराहरू सिक्नु थियो । अपुरो एउटा पूर्ण पाठशाला भत्कियो । उहाँका कति कामहरू आधा अधुरा रहे ।
गुरू बितेपछि पनि कहिलेकाहीँ म काठमाडौँबाट विराटनगर गएका वेला भाउजूले आउनु न बैनी एक छाकसँगै खाऊँ भनेर हार्दिक भावले बोलाउनु हुन्छ । कहिले हुन्छ भनेर जान्छु र कहिले अन्त जानुपर्दा आउन भ्याउँदिनँ भनेर जानकारी दिन्छु । सम्बन्ध विनाको एउटा छुट्टै सुन्दर सम्बन्धमा हामी नजिकिएको आभास भै रहन्छ मलाई यो परिवारसँग ।
भाषिक लेखन तथा साहित्यिक समालोचना र विविध विधामा दर्विलो कलम चलाउने डा. नरेन्द्र चापागाईंले जीवनको अन्तिम क्षणसम्म लेखन धर्म नछाडी बिदा लिनुभयो । नेपाली भाषामा अनुकरण क्षेत्रलाई अपनाउँदै विद्यावारिधि गरेर नेपाली भाषाका विशिष्ट भाषाविद्का रूपमा प्रज्ज्वलित गुरू कतिकति चेलाचेली र अनुजहरूका सारथि बन्नुभएको साक्षीका रूप रहेकी छु भन्दा म गर्वित अनुभूति गर्छु । मेहनत र शिल्पद्वारा अक्षरलाई कुँदेर सुन्दर भावको तरङ्गमा आह्लादित बनाउने गुरू गम्भीर विचारलाई पनि सहजै बुझिने र अर्थ लगाउने तत्सम शब्दयुक्त समालोचना लामो लेख्ने उहाँको विशेषता थियो । उहाँले माक्र्सवादी सौन्दर्य शास्त्रलाई नै आफ्नो समालोचनामा प्रमुखता दिनु भयो । प्रगतिशील दृष्टिकोणलाई विचारको तहबाट सर्वोपरि सिद्धान्तको राम्रो नराम्रो जे भएनि निर्णयात्मक समालोचनाको नाम दिँदै नेपाली समालोचना वस्तुवादीरूपमा अनेक प्रभावहरू देखापरे उहाँको कलमबाट । विशेष गरी कविताको समालोचनामा गुरूको बढी प्रभाव भएको पाइन्छ ।
२०१८ देखि बुङलिङ प्राथमिक पाठशालाबाट शिक्षण पेसा प्रारम्भ गर्नुभएका डा. चापागाईं थुप्रै शैक्षिक संस्था हुँदै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा २०४५ सम्म सेवारत हुनुभयो । यति मात्र हैन, घरलाई नै गुरूकुल जस्तो गरी आफ्ना शिष्यहरूलाई चेतना बाढ्ने काममा एकाकार हुनुभयो जीवनको अन्तिम क्षणसम्म । साहित्य साधना शिक्षण एवं प्राध्यापन पेसामा अनवरत गति दिने डा. चापागाईंले २०२६ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि हासिल गरेर २०५५ सालमा त्रिविबाटै भाषाविज्ञानमा विद्यावारिधि गर्नुभयो ।
विविध विधाका गहकिला कृति प्रकाशित गर्ने नेपाली भाषाका अध्येताले डा. चापागाईंलाई नपढे नेपाली भाषा साहित्यका विद्यार्थीहरू अधुरै रहने तथ्य प्रस्ट छ।
गुरू वितेको केही समयपछि गुरुको नाममा समालोचना क्षेत्रको एउटा सम्मान वनिताकै स्रोत साधनबाट सुरू गरेर गुरूप्रति सम्मान जनाउँदै आएको छ । जुन सम्मान उहाँको प्रियजन मेरा अर्का गुरू दधिराज सुवेदीबाट सुरू भयो ।
(लक्ष्मी उप्रेती चर्चित साहित्यकार हुन् ।)
[email protected]