“आमा” अर्को शब्द छैन यसलाई विस्थापित गर्ने ।आमा यथार्थ वा विश्वास ।आमाले बा हुन भने पछि विश्वास गर्ने जवाना छ अझै पनि । विज्ञानले डि.एन.ए. भन्छ फेरि पनि बा हुन लाई आफू सम्पन्न र सुखी छन् भने बनि दिने बा धेरै हुन्छन् तर आमा पाइँदैन । संसारमा सबै थोक किन्न पाइन्छ रे तर आमा कहिलेकतै पाइँदैन भन्ने उक्ति नै छ । आमाले तानेकि छन् आज । उनैसँग रङ्गिन मन लागेको छ । कवितामा पोखिएकी छिन आमा, कथामा बगेकी छिन् । यस्तै यस्ता साहित्यका सबै विधामा अटाएकी छिन् । निबन्धमा पनि नअटाएकी त होइनन् तर म पनि यस्तै कोसिसमा छु । आमा ! जननी धर्ति, सृष्टिकर्ता, वा पृथ्वी । कयौँ उपमा छन् आमाका । सृष्टिकी मूल, त्यागकी मूर्ती । सन्तान हाँस्दा आफैं हासेझैं मान्ने । बयान गर्न कुनै शब्दले तछाड मछाड गर्दैनन् आमाको । म त फिका पर्छु है भनेझैँ गर्छन शब्दहरू आफैं । मैले के भ्याउने थिएँ र आमालाई परिभाषामा बाँध्न । सूर्यलाई दियो देखाएर लज्जित पार्न खोजेकी होइन । सहनशीला सुशीला, नारीरत्न, सीता, सावित्री, कुन्ती, यशोदा, देवकी अनि थुप्रै यी मनन गर्न योग्य माताहरू ।
बालाई सँगसँगै नहिँडाइ आमा पूर्ण हुने भईननकिझैं लाग्यो । त्यसैले आमासँगसँगै बग्न बा पनि आइ पुगेका छन् मेरो निबन्धमा । बिहे अघि उनी आमा बनेकी होइनन त्यसैले आमा बन्न सफल बनाउने बा लाई किनार लगाएर आमा नदिको रूपमा यस निबन्धमा बग्नै सकिनन् बिहे अघि उनी उनकै आफ्नी थिइन् । निधार आफ्नो, सिउँदो आफ्नो, गला आफ्नो अनि ती अङ्गसँग जोडिएर आउने पहिरन उनको आफ्नो । रिबन धागो आफ्नो, माला आफ्नो, आफ्नै लागि लगाउने सबै आफ्नो, व्यवस्थापन गरिदिने जोसुकै हुन् । बा अथवा दाजु । होइन भने आफैंले बटुलेका आफ्नै दक्षिणा आफ्नै निधारमा टिको थापेर पाएको । औंसी, पूर्णे संक्रान्ति, द्वादशी, श्राध्दलगायत दसैँ तिहार भैली, गठेमंगलमा बाटो छेकेर कमाएकी किन नहोस सब आफ्नो । अब न टिको आफ्नो, न सिन्दुर न त पोतेनै तैपनि भिर्नुपर्छ शरीरभरि । एक चुट्की सिन्दुर किन्ने सामथ्र्य छैन आमाको । कन्या केटी हुँदा पाउने दक्षिणा पनि हरण भएको छ । अब आफ्नो आर्जन तर पनि सिउँदो भर्नुपर्छ खाली सिउँदो देखे बा को बादल लागेको अनुहार देखिन्छ सिउँदो किन खाली भन्दै ।
आज जीऊ दुखेको छ आमाको । झरीबादल, जाडो न गर्मि एकनाशले चलिरहनुपर्छ आमालाई । नदुखोस पनि किन, तातो न्यानो गरेर बस्ने फुर्सद कहाँ छ ? चार दिन अघि खुट्टीको झोल पिएथे बा ले जीऊ दुख्यो भनि । दाउरा सकिएको छन, बल्नबाँकी छ खुट्टीको झोल पकाएर । बल्न बाँकी दाउरा चुलामा घुसार्दै आमा सागको सुकुटी उमालेर झोल पिउँदै थिइन् । खुट्टी किन्ने पैसा छैन आमासँग, आमाको जीऊ कमजोर हुन्नभन्ने भ्रम बाँचेकाछन् बा । भोग गर्न जान्दिनन आमा, नजानेर पनि सुख पाउँदिनन् तर माया गर्न जान्दैनन् बा नजान्नु सुख पाउनु हो बा का लागि । घरायसी कामलाई आर्थिक उपार्जनको काम होइन भन्ने भूल बाँचेका बा ले आमाको कामको महत्त्व बुझ्नै सक्दैनन् ।
बरू खेती किसानीमा केही सुख हुन्छ । वस्तु भाऊ पालेपछि भोक र प्यासको ख्याल गर्नुपर्छ रे । कहिलेकाहीं भोलि खनजोत गरे हुन्छ खेतबारी तर पानी घाँस पराल भोलि दिएर हुन्न बस्तु भाऊलाई । गाईको पेटभन्दा बा को आगमनले महत्त्व पाउँछ घरमा आमाको डोकोमा भारी पुगोस्न पुगोस् ।भोलि बस्तु कराए बा कै डाको ठुलो हुन्छ गाई भोकै भए भनेर । दैलो पोत्नु, भकारो सोर्नु सबै आमाको भागमा । चाहे दुई हात चलाउन चाहे चार हात जोडुन समयमा काम सक्नुपर्छ आमाले ।
जाडो हुन्छ बालाई धेरै, अगेनाको दाउरा बलिसकेर गोल बनोस नबनोस मकलमा आगो चाहिन्छ कोठामा । चार बजेदेखि सुरू हुन्छ आमाको चहलपहल । टुसुक्क बसेर भूईं पनि तात्न पाउँदैन आमाको समय । पाँच बजे उठछन् बा । पुजा बाको जिम्मेवारी तर पुजा सामग्री ठिक पार्ने, फूल टिप्ने, बत्तीकात्ने सबै काम आमाको । पुजा सकिने बित्तिकै चिया चाहिन्छ बालाई तर चुलामा आगो सल्काउन मन लाग्दैन बालाई । भाइलाई कोठामा चिया पुर्याईदिन्छिन् आमा । “मुख धोएर आइज है” भन्छिन् मलाई । हात दुईटा भएर पनि चिया बोक्न सक्दिनन्आमाले मेरा लागि । बाको छोराले छोरीले आफैं काम गर्नुपर्छ भन्ने मान्यतामा बाँचेका छन् बा । आमाको संस्कारले दिएपनि बाको सोच हावीहुने गर्छ । आमा बा चिसो पानीले नुहाउँदैनन् तर तताउन सक्दिन भन्छन् । हात पोले के गर्नु भन्छन् । नजान्नु नसक्नु सुख पाउनु हो, आमालाई सुख पाउने सुविधा छैन् । आमाको हात पोले ढंग नभएकी भनि उल्टै उपमा थोपरे पुग्छ ।
घरभित्रको कामका लागि संस्कार विहीन मेरा बा तर माइज्यू घाँस दाउरा गर्दा मामा भात भान्सा गर्छन् । मावल हजुरआमाले दिएको संस्कार सही भएर होला । त्यसैले आमा पनि संस्कारी छिन् तर मामाले जस्तो आफ्नो घर भन्न पाइनन् माइतीलाई । आमालाई बा को घर आफ्नो हुनैसकेन । रिसमा बा भन्ने गर्थे तेरो बाउको विर्ता हो र ? ”खोइ त आमाको घर ? मेरी बा की आमाले के गरिछन उनलाई पनि घरमा डर थियो कि, हजुरबाको पुस्तौनी संस्कार । घरभित्रको काम मेरो पनि हो भनेर जानेनन बा ले । उदाए चल देखि अस्ताए चलसम्म मेरी आमाले सुस्ताएको देखिँदैन कहिले, तर बाहिरबाट आउने बित्तिकै खुइया सास फेर्छन बा । फरक छ नि त बा र आमामा । मेरी आमाले सास फेरेको कसैले सुन्दैन पानी पँधेरो, ढिकीजाँतो, मेलापर्म कहिले छुटेन आमाको निधारबाट पसिनासंगै ।
घरको काम गर्न जन्मिएको हो म ? जानेको छैन घरको काम गर्न मैले । “बा आफैं स्वर ठुलो गरि झोक्किन्छन् । कहिले काहीं जे होस नजान्नु सुख पाउनु हो । टाउको दुख्नु, पेट दुख्नु कसैले देख्नु छैन भनिदिए पुग्छ । पत्याउनै पर्यो उनका मुलीले भनेपछि ।
आमाले आफ्नै जीवनको किताबको पानामा आफ्नै कलमले आफ्नै लागि कति लेखिन होला । आमाका बाबुआमाले आफ्नो निम्ति लेख्न सुरू गरेका मेरी आमाको जीवनको किताब हजुरबा, हजुरआमा, काकाकाकी, फुपू, दाजुदिदी, भाइबहिनी हुँदै सासूससुरा, नन्दआमाजू, देवरजेठाजु, देउरानी जेठानी हुँदै लोग्ने श्रीमानले लेखेपछि मामामाइज्यूले केही लेखे होलान अनि छोराछोरी हुँदै नातिनातिनीको पालो आउँदा आफ्नो कलमको लागि कति पाना रह्यो होला । कति ईच्छा बाँचिन होला यस धर्तीमा आमा ? कुन सपना राम्रो लाग्यो होला । बा ले सँगै बसेर आमाको कति सपना सुने होलान ।
बरफ जस्तो चिसो पानीले जाडेमा भाँडा माझ्दै गर्दा बा ले तापेर बाँकी रहेको मकलको आगोले कतिबेर हात सेकाइन होला । पट्ट-पट्ट फुटेका आमाका कुर्कुच्चा गाईको घ्यू यसो दल्दा बा कराउँछन् तँलाई सिङ्गार्नु पर्ने, ओठमा लगाउने चिल्लो छैन धसिङ्गरे पुवा” पछाडि फर्केर तप्प आँसु झार्छिन आमा । डराउँछिन् आमा, घाँस, कुडो पानी भकारो आफैंले गरेको बिर्सेर ।
बा ले असरल्ल गरेको ओछ्यान मिलाउने काम आमाको । छोराछोरी रोए फकाउने काम आमाको, दुध त आमाले चुसाउने जिम्मेवारी भित्रै पर्ने भयो ।प्रकृतिले अंग जो दिएको छ उनलाई । दिशा पिसाबको हेक्का राख्नै पर्यो ।भुङ्ग्रो जस्तो ज्वरो आएको बच्चोलाई काखमा लिएर रातभरि बाँच्ला कि मर्ला भनि आँसु पनि आमालेनै बगाउनु पर्यो । प्रसव पीडा बा लाई के थाहा होस् । हिक्क-हिक्क सन्तानसँगै रूने सामथ्र्य आमाकै त हुन्छ पुत्र कुपुत्र हुन सक्छ तर माता कुमाता हुन सक्दिनन भन्ने त उक्ति नै छ । सन्तानको मायाभन्दा ठुलो अरू के छ आमाका लागि ? बा लाई त भोलि अफिस जानु छ, रातमा निद्रा बिथोलिए भोलि अफिसमा गाह्रो पर्छ । त्यसैले बिरामी सन्तान लिएर बा को कोठामा बस्न पनि पाउँदिनन आमा ।
घाँस, दाउरा, कुँडो पानी पँधेरो, मेलापर्म सबै आमाको भागमा रातको मिठो निद्रा बा को भागमा । माई र गाई बोल्दैनन आफ्ना लागि, गाई नियाल्छिन् माई भाषा बुझ्छिन् । । सबै भ्याउनुपर्छ आमालाई । आफ्नो सिउँदो अनि गला पनि आफ्नै, बा हुन भनि देखाउन सिङ्गार गर्नुपर्छ आमालाई ।
तीजको ब्रत किन थाहा छैन आमालाई तर निराहार बस्छिन् । बिहान बा का लागि भातभान्सा गरेर फेरि बेलुकि भातभान्सा गर्नुपर्छ तीजै किन नहोस, माइती जान दशैँ कुर्नपर्छ । बा बुझ्दैनन् आमाको तीज । बा लाई ठानि दिए पुग्छ, घाँस दाउरा, बस्तुभाउको निम्ति आमाको दैनिकी । आज तीज हो कसले बुझाइदिने बा लाई । गलेकी छन् आमा आज तीजले गर्दा । न उमेर ढल्केको बुझ्छन् बा न चाडपर्वको व्यस्तता । केहीले फरक पार्न सकेन बा लाई ।
बा को गोडाको पानी खानुपर्छ तिजको भोलिपल्ट आमाले । गलेको आमाको अनुहार देखेर उल्टै झोक्किए बा “खाइथिस्त दर”भनेर । धन्य मेरी आमा ।
समिना खनाल पृथा
[email protected]