• २०८१ श्रावाण ११ शुक्रबार

छोटो परिचय र रम्बास कविताहरू

मिलन बोहोरा

मिलन बोहोरा

प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो । यसैले गर्दा प्रयोगवादीहरूले निषिद्ध क्षेत्रहरूलाई उघारो पारेका छन । कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन् । पाश्चात्य साहित्यमा यसको प्रयोग गरेको सयवर्ष पुगिसकेको छ।
नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग सुरूमा बैरागी काइँलाले गरेको थाहा लाग्छ । त्यसपछि रङ्गवादी कविहरूले अनि ”सृजनशील अराजक समुह” ले पनि यसको व्यापक प्रयोग गरेका छन् । यी सबको विवरण गोविन्दराज भट्टराईको ”उत्तर आधुनिक विमर्श” नामक ग्रन्थमा पाइन्छ ।
यथास्थितिवादी मनोभावदेखि फुत्किएर परम्परागत पर्खाल नाघेर उत्तर आधुनिक चेतनाजाग्दा मात्रै सिर्जनामा बहुरङ्ग र नविनता आउन सक्छ भन्ने कुरामा आज साहित्यजगतका साथ साथै संसारनै लम्किरहेको छ । यथार्थवादका नयाँ भेद्, विनिर्माणवाद, सन्दिग्ध सिद्धान्त, परिवृत्तीय, निसर्ग नारीवाद आदिहरू आज साहित्यमा समालोचनाका तत्व बनेका छन् । साहित्याकाश फराकिलो पार्नलाई यो धारणा नितान्त जरूरी छ भन्ने चिन्ता समय सापेक्ष हो । पुरानो धरोहरको संरक्षण गर्नु र नविनताको खोजी गर्नुनै विकासोन्मुख जातिको लक्षण हो । नयाँ संसार देख्ने रहरले सिर्जनामा, कलामा, दर्शनमा, लोक जीवनमा सर्वत्र नै यो धारणा व्याप्त भइरहेको समयमा यस लेखकले पनि कविताको शैलीमा चतुष्कोण आकृतिमा चित्रात्मक कविता सिर्जना गर्ने जमर्को लिएको हो । यस प्रकारका कवितालाई पाश्चात्य जगतमा ठोस कविता (Concrete poetry), चित्रकविता जस्ता नामले जानिन्छ । यसै धारणाको वशवर्ति भएर भारतको असम प्रदेशमा रम्बास् कविता नामले चतुष्कोणी कविता लेख्ने विनम्र प्रयास भइरहेको छ । मैले हालै ‘तानाबाना’ नामले मेरो पहिलो कृति प्रकाशनमा ल्याएको छ । नेपालीभाषामा यही नै पहिलो प्रयोग हो । हाल असम (भारत)मा यो रम्बास उपविधाको कविता जनप्रिय हुँदैछ र नेपालमा पनि कसै कसैले लेख्न थाल्नुभएको छ ।

लेख्ने नियमः-

यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ।
१). यसमा जम्मा सय अक्षर र उन्नाइस पंक्ति हुन्छन् ।
२). एउटा अक्षरको शब्ददेखि शुरू भएर एउटै अक्षरमा समाप्त हुन्छ ।
३). एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सातगर्दै एक   अक्षरमा टुङ्गिन्छ।
४). सुरूको र अन्त्यको अक्षर भिन्ना भिन्नै या एकै हुनसक्छन् ।
यस कविताको आकृति रम्बास्को जस्तो बनाउन टंकणको स्पेस् कीको बढी मात्रामा व्यवहार गर्नुपर्ने हुन्छ । हालै मेरो पहिलो कृति (सायद नेपाली साहित्यमा नै पहिलो) “तानाबाना” प्रकाश भईसकेको छ । असममा अहिले थुप्रै नवीन, प्रवीण कविहरू, डा. जगन्नाथ उपाध्याय, अर्जुन उप्रेती, भीम धमाला, मीना पौडेल, प्रकाश कुइँकेल, प्रीतम आचार्य, सृजना अधिकारी, दुलुमनि देवीआदिले यो शैलीमा कविता लेख्न थाल्नुभएको छ । नेपालमा पनि युवाकवि रेहित सैजुले थालनी गरिसक्नु भएको छ ।
हाम्रो नेपाली साहित्यको बगैंचामा एक नयाँ प्रजातिको फूलको बिरूवा हो यो । अब यसको जीवन यसलाई रूचाउनेहरू माथि निर्भर गर्छ ।
उदाहरणको लागि केही कविता दिएको छु ।

 


मुल्याहा

फूल
बर्सियो
नअक्षता
न यज्ञ भयो
न होमको धुवाँ ।
लेख्या रैनछ कोही
लगन गाँठाको सङ्गी ।
देख्न अरू जस्तै रूप छ
दोष छ त जन्मिदाको डाम ।
रूढताको सिकार बन्यो
कल्कलाउँदो सिउँदो,
मौलाएका सपना,
सपनाको घर ।
आँखाभएको
अन्धो दृष्टि ।
मुल्याहा
अरे
ऊ ।

मिलनबोहोरा

 

२.
अपशासन

हे
ध्वजा
वाहक
शब्दनृप !
पक्षपाती छ
तिम्रो शासन ।
उच्च मन्यता छ
तिम्रो सोच्ने आधार ।
दृष्टिकटु आचरण
श्रुतिकटु बोलिवचन
अचम्मको छ तिम्रो शासन ।
फलिफापको आशा थियो,
फाँड्ने तर्खर देख्छु,
मौलाउन नपाइ
सुक्नेभए शब्द ।
अक्षम्य जस्तै
अपराध
तिमीले
गर्दै
छौ ।

पुष्कर अथक रेग्मी
पाल्पा, नेपाल

 

३.


यौटा
कविता
विधा भित्र
उपविधाभै
प्रस्तावित यात्रा
जन्म र मृत्युु बिच
सत्य सौन्दर्य शक्तिको
भावोद्रेकको अभिव्यक्ति
बिम्ब प्रतीक र रसपूर्ण
कथ्यले ओतप्रोत भई
अनौठो यो गणितीय
शैलीमा फैलिएको
जीवनको सार
शब्दचित्रमा
संक्षेपमा
रम्बास्
काव्य
हुँ

अर्जुन उप्रेती (अप्रतिम)
असम

 

४.


द्वैत
चरित्र
अँगालेका
अनुहारमा
सक्कली कुन हो ?
नक्कली कुन पो हो ?
ठम्याउनैञ्धौ धौ पर्यो !
सोझा सीधाको के बिसात्
चिनोस कसरी अविकल !
पित्तल बनेको सुन छ
नटल्किने बेहाल छ !
टल्किने मालामाल !
भरोसा तिम्रै छ
हे भगवान !
कतै छिटा
पर्दो हो
आश
छ ।

प्रियङ्का शर्मा
गोवालपारा, असम

५.
मया

हो
प्रिये
राख्छु म
तिमीलाई
अंगालो भरी
तिम्रो निम्ति भनी
चुनौती सहने छु
थाहा छैन तिमीलाई
कत्ति माया छ यो मुटुमा
हिमालको हिउँभन्दा बढ़ी
नदीमा जलभन्दा बढी
माया गर्छु तिमीलाई
अन्यथा नसोच्नु ल
नाघ्ने छु तगारो
जातपातको
दिन्छु तिम्रो
साथ सधैं
कसम
मेरो
हो ।


मिलन बोहोरा (विश्वनाथ असम, भारत)
[email protected]