तृप्ति हो वा तिर्खाको त्यो ध्वनि प्रायः म सुनिरहन्छु । रातको पूर्ण सन्नाटामा भनुँ भने म आफै सरयाक सुरूक्क आवाज निकाल्दैछु । आफ्नै पैतालाले शून्यता विथोल्दैछु । म हिंडिरहेको छु । रोकिन्न । शहरमा लोडसेडिङ्ग छ अनि शहरमा सयौं गल्ली छन् । म यही गल्ली हुँदै मेरो गन्तव्यमा पुग्छु ।
खोला किनाराको त्यो बुढो रूखको पछाडि स्वाँ स्वाँको लामो श्वास निक्लन्छ, अँ… आँ… यस्तै यस्तै । सुनसान रातमा एउटा बालकले त्यो ध्वनि सुन्दो हो त त्यो ठाउँलाई भूतगल्ली भन्दोे हो तर म वयस्कले त्यसो भन्न सक्दिन ।
हेमन्त ऋतु सुरू भएको छ । गल्लीमा तुषारो टेक्दै हिंड्ने दिनहरू अझै शेष छन् । शेष छन् अझै जीवनका सपनाहरू ।
हिंडिरहँदा देख्छु, गल्लीमा अनुहारहरूको भीड छ । एकपछि अर्को अनुहार ठोकिंदै आउँछ र क्रमशः हराउँछ तर सबै अनुहार दृश्य वा मानसपटलबाट सहजै विलय हुँदैनन् । प्रायः म भेटिरहन्छु उसलाई ।
मान्छे आफ्नो देहको श्रृङ्गारलाई प्रस्तुत गर्न चाहन्छ तर उसले आफूलाई लुकाउन खोजेको प्रस्टै देखिन्छ । लुकाउनु पर्ने अमूल्य चीज केही छैन उसित । म यस्तै भन्ठान्छु तर कहिले जिङरिङ्ग झरेको कपालमा आँखा लुकाउने त कहिले ठूलो बोराको पछाडि आफूलाई असफल लुकाउने प्रयास भने जारी छ उसको ।
जाडो वा गर्मी मौसम अनुकूल वस्त्र लगाउन उसलाई कर छैन । फोहोर र सफाको हिसाब छैन । रूनु वा हाँस्नुको कुनै औचित्य छैन सायद । तर ऊ पनि मान्छे हो । आफ्नो आयुसम्म बाँच्नुको अभिनय उसले पनि त पूरा गर्नु छ ।
हरेक गल्लीले ऊ जस्तो मान्छे कहीं न कहीं पालेकै छ । श्वास चल्नु नै बाँचिनु हो भने ऊ बाँचेकै देखिन्छ ।
म धेरै वर्षदेखि यो गल्ली हिंडिरहेको छु । उसलाई मैले केही महिनादेखि देखेको छु । ऊ जस्ता मान्छे शहरको गल्लीमा नौलो होइन ।
त्यस दिन छिटै अफिसबाट घर फर्किएको थिएँ । बाटोको पेटीमा ऊ बसिरहेको देखें । कस्तो बसाइ भने एउटा घुँडा भुँइमा छोएर दोब्रिएको अर्को घुँडा उसको च्यापू नजिकै उठेको । त्यही उचालिएको घुँडाको अग्लाइमा टेको लगाएर उसले एउटा हात पसारेकी थिई । उसको त्यो हत्केला आकाशतिर फर्किएको थियो । रित्तै ।
छेवैमा पुगेपछि झोलाबाट एउटा सुन्तला झिकेर उसको त्यही खुल्ला हत्केलामा राखिदिएँ । न दिनेको अनुहारमा हेर्नु, न पाउनुको खुसी । प्रतिक्रिया विहीन । सिर्फ मौन !
श्यामले वर्ण, लाम्चा र ठूला आँखा, अचल परेला । म उभिएँ । हेरें र हेरिरहें । कुनै दृढ मुद्रा, कुनै सिद्ध शिल्पीकारले बनाएको स्थिर श्यामले मूर्ति वा कुनै जीवन्त नाटककारले रचेको प्रस्तुति कला वा अभिनय-गहन भाव मुद्रा ।
त्यो पलभरको स्पर्शित दृश्य नै उसलाई गल्लीमा खोज्नुको कारण बनिदियो मेरा लागि । घरदेखि मूलबाटो नपुगुञ्जेल म उसलाई प्रायः देखिरहेकै हुन्थें अनेक तालमा ।
उसका लुगा फाटेका थिए त्यो नौलो कुरा होइन । गल्लीको अलिकति घुम्ती परेको ठाउँमा फराकिलो पेटी थियो । त्यतिमात्र फराकिलो की कुनै पनि पसललाई बाधा नपर्ने गरी उसको ठूलो बोरा र ऊ अट्ने गरी ।
उसको बोराको मुखबाट देखिंदै थियो- कार्टुनका टुक्रा, प्लास्टिकका बोतल वा त्यस्ता चिजहरू जुन यस्तै मानसिक अवस्था भएका संसारका मान्छेहरूले संग्रह गर्ने गर्दछन् । घाम नलागेको दुईदिन भइसकेको हुँदा चिसो झन् बढेको थियो । उसको देह काँपिरहेको थियो । मैले छेवैको पसलबाट न्यानो रातो वस्त्र किनेर उसलाई दिएँ ।
वल्टाई पल्टाई हेरेपछि उसको हात झन् बढी काँप्यो, आँखा अनौठोसँग तन्किए, दाँतबाट कटट् आवाज आयो र त्यो लुगा च्यातियो धुजा धुजा भएर । म हच्किएँ । उसको कम्मर मुनि राता टाटाहरू लिएर मैलो लुगा पनि काँपिरहेको थियो ।
केही दिनपछि फेरि अर्को गल्लीमा मैले उसलाई देखें । गला मुनिको मांसल उचाइलाई उसले थिचिरहेकी थिई । आफूले लगाएको कमीज माथिबाट लामो लुगाको धरोेले आफूलाई बेर्दै थिई पटकपटक तर त्यो धरोको मुखलाई कतै घुसार्न नजान्दा फेरि पनि त्यो फुस्कन्थ्यो । ऊ हतार हतार फेरि पनि त्यो धरो कस्थी र चारैतिर भयात्तुर आँखाले हेर्थी । बल्ल बल्ल कसिएको त्यो छातीलाई उसले घाँटीदेखि पेटसम्म हात खेलाएर सम्याउन खोजी र लामो श्वास फेरी मानौं, अब ऊ लोग्ने मान्छे हो ।
फुर्सदले उसले आफ्नो कपाल कन्याई । च्याप्पुसम्म आएको कपालको त्यान्द्रालाई उठाई र पलभर घोरिई । अब हत्पत उसले धोक्रोभित्र हात घुसारी । त्यहाँबाट एउटा शिशाको टुक्रा निकालेरआफ्नो लम्बिएको कपाल रेट्न थाली । काटिएका कपाल भुँईमा झर्नुअघि उसको औंलाबाट रगतका थोपाहरू झरिरहेका थिए ।
ऊ मेरो मानसपटलबाट पटक्कै झरिन । शहरका गल्लीमा यस्ता दशौं मान्छे देखिन्छन् र बेवास्तामा पर्दछन् तर उसको पृथक हरकतको प्रभावले मलाई तानिरह्यो ।
ऊ आइमाई हो तर आइमाई जस्तो देखिन चाहन्न किन ? गिजोलिनुको पीडाबाट लोग्नेमान्छे उन्मूक्त छ यसका लागि वा…! आफू, आफू जस्तै भएर बाँच्न नखोज्नु । आफू, आफू जस्तो देखिन नचाहनु, यो कस्तो अभिनय, कस्तो विवश कला ?
उसलाई आइमाईको रूपसँग, आइमाई वस्त्रसँग किन यस्तो वितृष्णा ? सधैं लोग्नेमान्छे जस्तै पोशाकमा देखिन चाहन्छे ऊ तर के उसले लोग्नेमान्छे भएर बाँच्न पाएकी छे, एकान्तमा ?
ऊ बस्ने गल्ली फेरिरहन्छे म घर जाने गल्ली फेरिरहन्छु । अफिसबाट फर्कंदा, किनमेल गर्दा जताबाट अनुकूल मिल्छ त्यताबाट घर फर्कन्छु । मूलबाटोबाट करिब दश मिनेटको दुरीमा मेरो घर छ । शहर प्रशस्त गल्ली ओछ्याएर बसेको छ । जुनसुकै गल्लीबाट हिंडेर घरपुग्नु शहरमा नौलो कुरा होइन ।
त्यस रात पनि घर फर्कंदा अबेर भएको थियो । खोला किनारको बाटो हुँदै फर्केको थिएँ । बुढो रूख भएको झाँसतिरबाट उही र उस्तै आवाज आइरहेको थियो जुन म पहिले पनि बेला- बेलामा सुन्थें- स्वाँ, स्वाँ, अँ, आँ यस्तै यस्तै ।
यस गल्लीका प्रायः बत्तीका पोलहरूमा बत्ती बल्दैन थिए । ठाउँ सुनसान जस्तो पनि थियो तर पनि यो बाटो छोटो पर्ने भएकाले म कहिलेकाँही हिंड्थें । अबेर भएपनि रात छिप्पि नसेकेको हुँदा म त्यो रूखको पछाडिको सरयाक सुरूक्क आवाज पछ्याउँदै गएँ किनकि पर कतैतिरबाट आएको बत्तीको मधुरो प्रकाशमा धोक्रो जस्तो केही चिज त्यो रूखको आडमा देखिएको थियो ।
एउटा पुरूष आकृति भर्खरै खोलाको किनार हुँदै लुसुक्क तेर्सियो । ऊ अलपत्र पसारिरहेकी थिई । उसको लोग्नेमान्छे बन्ने कला हराएर अहिले ऊ पूर्णतः आइमाई देखिएकी थिई । यो गल्लीमा भद्र देखिने पुरूष अनुहारदेखि ठिट्यौलाहरूको चहलपहल किन भइरहेको छ अहिले महसुस गरें ।
वल्लो पल्लो र तल्लो गल्ली उसको बसाइ फेरिरहने स्थान, कहिले एकदमै मौन, कहिले मन्द मुस्कान, कहिले रोदन, कहिले अस्वाभाविक हाँसो त कहिले भयात्तुर चित्कार । अनि कहिलेकाहीं उसले गीत गाउँथी । त्यो गीतको भाषामा परदेशी लय थियो तर उसको जीवनको लय थिएन । उसको छेवैमा रहेको त्यो ठूलो धोक्रो भने उसको छाया जतिकै समीप थियो । सायद मान्छेलाई जस्तोसुकै अवस्थामा पनि भरोसा चाहिन्छ बाँच्नुमा, अर्को वस्तुको । उसँगै रहेको त्यो धोक्रो नै उसको सर्वस्व । ऊ चिच्याइ रहन्छे, सुमसुम्याइ रहन्छे त्यसकै आड लागेर झोक्राइ रहन्छे । ऊ जतिकै उसको धोक्रो पनि ओझेल छैन दृश्यमा । हुनसक्छ त्यो धोक्रोलाई पनि उसले सजीव सम्झन्छे ।
दृश्यमा रूचि हुनु, करूणाबोध हुनु तर पनि चार हात पर पुगेपछि यस्ता अनुभूति स्वयम्बाट विलय हुनु चेतनशील मान्छेको उच्चता होइन ।
मैले उसको उद्धार चाहें अनि आफैमा अलमलिए अब के गरू ?
केही दिनको प्रयासमा मैले उसका लागि उद्धार गृह खोजें तर ऊ यी गल्लीहरूबाट एकाएक विलय भई जसरी उठेको आँधी कतै गएर विलय हुन्छ ।
खोजें गल्ली र घुम्तीहरूमा, प्रशस्तै खोजें तर कतै थिइन ।
मैले उसलाई बिर्संदै जानु थियो । सम्झनै पर्ने कारण पनि खासै थिएन तर गल्लीमा, घुम्तीमा र त्यो बुढो रूखको छेवैमा म उसलाई सम्झिन पुग्थें ।
विकसित शहर पनि अँध्यारो थियो लोडसेडिङ्गले । अबेर पनि भएको थियो चिसो पनि । हतारिंदै घर फर्कंदै थिएँ । बाटो अलि सुनसान थियो । एउटा घुम्ती जहाँ अझै सुनसान हुन्थ्यो त्यहाँनेर पुगेर म अनायाश रोकिएँ । मैले देखें कोही गुडुल्किरहेको छ छेवैमा भरिएको ठूलो बोराको आडमा । हतपत बोलाउँझै लाग्यो तर बोलाइँन । त्यही धोक्रोको मुखैमा रहेको प्लास्टिकको लामो बोतल झिकेर उसलाई घोचें अझै भनुँ बेस्करी घच्घच्याएँ ।
ऊ उठिन । उठ्दै उठिन । उठोस् पनि कसरी र चारैतिर फिजारिंदै उडिरहेको हावाले त उसको श्वासेनलीलाई घच्घच्याउन छाडेछ मेरो घच्घच्याइको के अर्थ ? उसको नाक नजिक पुगेका मेरा औलाहरू त्यसै लत्रिए । म जुरूक्क उठें । मेरो शरीरमा पनि कम्पन उठिरहेको थियो । म डराएँ तर भाग्न सकिँन । अवाक् मैले उसको निस्प्राण शरीरलाई हेरिरहेँ ।
मैले खोजिरहेको ऊ फेरि भेटिइ र अब निरर्थक । उसको एउटा हातले धोक्रो अझैपनि समातिरहेको थियो । त्यही हातको पाखुरामा उसले आफ्नो चिउँडो अड्याएकी थिई ।
पर गल्लीमा फाटफुट मान्छेहरू हिंडिरहेका थिए । प्रायः सबै पसलहरू बन्द भइसकेको थियो । कतै कतै घरका झ्यालहरूबाट निक्लिएका धमिलो उज्यालो बाटोमा देखिएको थियो । त्यो गल्लीमा उसको मृत्युको हल्ला गर्नु सायद कुनै औचित्य थिएन । भोलि उज्यालोमा छेउछाउका पसलेहरूले आफूहरूलाई बाधा पर्ने देखी उसलाई त्यहाँबाट हटाउने व्यवस्था गरिदिने छन् त्यो भने निश्चित थियो ।
म चुपचाप थिएँ । कस्तो अनौठो चुपचाप भने आलाप विलाप रहित, म लास अघि उभिएको थिएँ तर भित्रि मनमा भने केही गह्रुँगो चिजले धक्का दिएझैं दुखिरहेको थियो ।
अब मैले उसको अनुहारलाई छाडेर उसको हातलाई हेरें अझै उसले समाइरहेको त्यो बोरालाई हेरें । ठाउँ ठाउँमा च्यातिएको त्यो बोरा घुचुक्क बसेको थियो जसरी गल्ली छेउमा घरहरू बसेका थिए । झ्याल ढोकाले टालिएका वा भनुँ झ्याल ढोकाले उघ्रिएका ती सबै घरहरूलाई अहिले मैले यही बोरा जस्तै देखें उही जीवनको निर्वाहको संग्रह, सुरक्षा र लोभको संग्रह ।
बाटो, दोबाटो र गल्लीमा उसले घिच्याइरहेको त्यो बोराभित्रको संग्रहलाई मैले हेरिरहें । अनायाश मेरो मानवीय न्यास्रोले त्यो बोरा खोतल्न पुग्यो । उसले असाध्यै प्रेम गरेको त्यो पोको, त्यो धोक्रो खोस्रिंदै गएँ । खै किन हो रोकिएन मेरो हात । उठाएर हेरें, कार्टुनका टुक्रा, थोत्रा लुगा, कुच्चिएका बोतल यस्तै यस्तै ।
झण्डै बोराको पिंधैमा पुगेको मेरो हातका औंलाहरू एक्कासी रोकिए किनकि मैले अघिसम्म झिक्दै हेर्दै र भुँईमा थुपार्दै गरेका वस्तुको वजन र आकृतिभन्दा त्यहाँ फरक चिज छ भन्ने महसुस भयो । तुरून्तै झिकें र नियालेर हेरें त्यो सानो बाक्सा जस्तो थियो । मेरो कौतुहलता रोकिएन त्यो उघ्रियो ।
झस्किएँ म, मेरा बन्द ओठहरू खुलेर यतिसम्म भन्न भ्यायो, ओहो !
मलाई त्यहीं थुचुक्क बसुँझैं भयो मैले उसको अनुहार हेरें । को हो ऊ, किन, कसरी, कहाँबाट आएकी छे ? यस्तो अवस्था ? एकै श्वासमा धेरै शब्दहरूले स्वयम्लाई प्रश्न गरें ।
त्यसभित्र थियो उच्च खानदान झल्कने खालका प्रशस्त गहनाहरू । गह्रुँगो हार थियो जसका पत्थरहरू यो धुर्मइलो अँधेरोलाई जितेर पनि टल्किरहेको थियो ।
मैले देखेको उसको यो जीवन, मृत्यु र यो खजानालाई तौलिएर हेरें, म छट्पटाएँ । चिट्चिट् पसिना छुट्यो । हात काँप्यो । सायद म स्तब्ध भएँ ।
मैले त्यो बाक्सालाई भित्रैसम्म खोतलें त्यसभित्र अझै थियो एउटा डायरी । हतपत मैले त्यो डायरी हातमा लिएँ । त्यो सानो बाक्सा त्यही बोरामाथि राखें । मेरो कौतुहलताले ती पाना पल्टाउन थाल्यो । करिब पाँच सात मिनेट बितेको हुँदो हो म त्यहाँ उभिएको ।
यतिबेलासम्म पर कतैबाट आएको हल्का उज्यालोले मात्र नपुगेर मैले मेरो मोबाइलको बत्ती बालिरहेको थिएँ । अब मोबाइलमा चार्ज सकिंदै थियो । हतार हतारमा ती पानाहरू हेर्न थालें तर त्यो भाषा मेरो थिएन । भाषा परदेशी भएपनि म त्यो भाषासित पूर्णतः अनविज्ञ भने थिइन ।
सर्सती पल्टाउँदै जाँदा मैले अन्त्यको पाना छिटो छिटो पढें । म न्यायको लागि लडिरहेको बस्ती अब अलिखित बन्यो…। मैले देखे परबाट एक हुल पिचासहरू म तिर नै कुदिरहेछन् । भयात्तुर भएर म काँपिरहेकी छु । कतै मेरो मानसिक विचलन भयो भने धर्तीको कुनै गल्लीले मलाई कसरी चिन्ला ? अनि यी दिन र रातका उपक्रमले बाँच्नुमा मलाई कसरी आस्रय देला…।
एक हातले समाइरहेको मोबाइलको बत्ती झ्यापै निभ्यो । अब बाँकी रह्यो अँध्यारो गल्ली, एउटा लास, म र अपूर्ण कथा ।
(काठमाडौँ निवासी पवित्रा अधिकारी चर्चित साहित्यकार हुन् ।)
[email protected]