Uncategorized

चपला अबलाहरू एक् सुरमा ।
गुनकेसरिको फुल ली शिरमा ।।
हिँडन्या सखि लीकन वोरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।१।।
यति छन् भनि गन्नु कहाँ धनियाँ ।
खुसि छन् बहुतै मनमा दुनियाँ ।।
जनकी यसरी सुखकी सगरी ।
अलका पुरि कान्तिपुरी नगरी ।।२।।
कहिँ भोट र लण्डन चीन सरी ।
कहिँ माल् भरि गल्लि छ दिल्लि सरी ।।
लखनौ पटना मदरास सरी ।
अलका पुरि कान्तिपुरी नगरी ।।३।।
तरवार कटार खुाडा खुकुरी ।
पिसतोल र बन्दुकसम्म भिरी ।।
अति शूर र वीर भरी नगरी ।
छ त कुन् सरि कान्तिपुरी नगरी ।।४।।
रिस राग् कपट् छल छैन जहाँ ।
तब धर्म कती छ कती छ यहाँ ।।
पशुका पति छन् रखवारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ।।५।।
आदिकवि भानुभक्त आचार्य
(जन्म वि.सं.१८७१ असार २९ गते मृत्यु वि.स. १९२५ असोज ६ गते )