जिन्दगी यस्तै त हो कान्छा !
उमेर चढ्दै गएपछि
सन्तान परदेशिएपछि
रूखो सुखो घर कटेरामै
बाँधिएपछि
बिग्रेको बाटोमा चिप्लेपछि
घरि-घरि लडिन्छ
उठ्यो लडखडाएर फेरि हिंड्यो
यस्तै त छ हो कान्छा
यो जिन्दगी
बाऊ-बाजेको बिडो थामी खाको
कहिलेकाहँँ त लाग्छ
पुरानो बिग्रेको मोटर जस्तो
एउटा चक्का पञ्चर हुन्छ
टाल्यो काम चलायो
घरि-घरि हावा खुस्किन्छ
बनायो फेरि स्लिप खान्छ
स्टेरिङ्गै बटारिने गरी
ठोक-ठाक गरेर दगुर्यायो
फेरि कहिले त
अँध्यारोमा बल्दैन हेडलाइटनै
गुलुब जलेछ भन्यो
मधुरो साईड लाईटले
जेनतेन बाटो धान्यो
लोडसेडिङ्ग हो क्यारे
झ्याप-झ्याप बत्ति जाने
टुकि बालेर अलि-अलि फुटेको
निक्कै पहिला नेपाल शहर जाँदा
छोराले हाल्देको
पावरको चेश्माले काम चलाए जस्तै
अलिक अप्ठेरो बाटोमा त
जिउ पनि हल्लिन्छ
एक नम्बर गियरमा हिड्दा पनि
पुरानो मोटरको
हर्न बाहेक सबै बजे जस्तो
शायद-उमेरले थिचेपछि
समस्याहरूले किचेपछि
ढोकाहरू पनि बन्द हुन्छन्
पुरानो मोटरको ढोका
स्टार्ट गर्न तम्सिदा-नखुले जस्तै
ऊ त्यहाँ पर-घुम्तीको
दोकाने साँहिलीले पनि
उधारो माग्छ भनेर हो कि
किन हो ?
देख्ने बित्तिकै मुण्टो बटार्छे
र, एक्लै फत्फताउँछे
साँझ त उधारो पनि-मिल्दैन
होला-आफ्नो-आफ्नै रीति
घरमा चामल र भुटुन थिएन
छोराहरू अम्रिका बसेर, के भो र ?
यसो जाडोमा-निगारको तलतलले
उधारोमा आधा तोङबा तानु कि भनेर
तिनघरे कान्छीको मा
छिरेको मात्रै
सितन बिनाको तोङबा ‘बात’ है
सुनेपछि
लाग्यो कान्छा यो जिन्दगी
बिग्रेको बाटोमा पुरानो मोटर लडखडाएर चल्दोरैछ
तेल सकिनै लागेको टुकी जस्तै
निभ्न-निभ्न खोजेर पनि
धिप धिपाएर बल्दोरैछ !
धिप धिपाएर बल्दोरैछ !!
(युबराज अधिकारी चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]