• २०८१ श्रावाण ११ शुक्रबार

म, मेरो छोरा र पश्चताप

देश सुब्बा

देश सुब्बा

मेरो छोरा स्कूलबाट आयो
शिक्षकले सजाय दिएको सुनायो र
सम्झी सम्झी आँसु बगायो
त्यसले चिर्यो छाती
म दुःखि रहे
उसको घाउलाई मायाले मुसारिरहें

ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें
जब यो हिँड्छ, शीत पर्छ छातीमा
आँखामा वर्षा हुन्छ

कतिपय उसको सानो प्रश्नले
मेरो फुल्दै गरेको दिमागको पुरानो रूख हल्लाउँछ
ती सानो प्रश्नको
उत्तर नपाएर हैरान हुन्छु
यस्तै जिज्ञासा खेलाउँदै
ऊ हुर्किन्छ र जवान हुन्छ

ऊ सुतेको बेला नरम हेरिरहन्छु
मायाले छोप्छु
त्यो मायाको रंग के होला सोच्छु

आज उसको आँगनमा बस्नुछ
धेरै पटक टारेको छु अनुरोधलाई
ऊ खेल्छ
ऊ मलाई बोलाउँछ र जोड्छ
यो विचित्रको अनमोल अनुभूति
विचार गर्छु कुन सुनसँग तौलौँ

ऊ सानो हातले घचेटेर दौडाउँछ सानो संसार
ऊ हाँस्छ, ऊ हाँसेको हाँसोमा म हाँस्छु
हामी छुट्टै प्रकृति बनाउँछौ र खेल्छौ

मैले उसको खेल खेलेँ
खेल्दै सोचें मेरो साथीको छोरालाई
उसले पनि यसरी खेलाएको देखेको थिएँ
उसले पोखेको त्यो बेलाको माया
मेरो अगाडि फुलिरहेको छ

म उनीहरूको  छिमेकी
मैले देखेको छु सिस्नुको भात खाएर काटेका दिन
मैले सुनेको थिएँ आँसुले टालेका रात
मेरो साथीको काँधमा
अझै होला छोराले टेकेकोे घाउ

जब त्यो छोरा हुर्किन्दै गयो
त्यसमा देखियो साँढे आँट
स्वतन्त्रताको हुँकार पनि सुनिन थाल्यो
मैले परैबाट बाढी पैरोको आवाज सुन्न थालेँ
यो सुक्खा मौसममा उदेक हुने कुलक्ष्यण देखेर
काम्थें  भित्रभित्रै

जुँगाको रेखा देखिएपछि
धमिलो आकाश साथीको परिवारमा घुम्न थाल्यो
वरपर साँढे गर्जन सुनिन थाल्यो
बिस्तारै आमाबाबाको जमिन हल्लिन थाल्यो
हेर्दा हेर्दै त्यो मुटुको टुक्रा
परिवार हान्ने भयानक साँढे बनेर निस्कियो

पहिला त उसले आमाको सुन सक्यो
अनि बाबुले पसिनाले जोडेको सम्पत्ति
उसले बिर्सियो त्यो बाबुलाई
जसले त्यागे सपनाको काठमाडौं
उसले बिर्सियो ती आमालाई
जसले त्यागिन् वैंश फुलेको वनपाखा
आमाका थिए सुनका रहर
सबै रहरले सुनौलो भएका बेला
उनी टालोहरू टालिरहेकी हुन्थिन्
पियारो छोराले
आमाबाबाको वैश, सौन्दर्य सम्पत्ति, प्रतिष्ठा
सबै चुसेर खोक्रो बनायो
अनि वृद्ध वृक्ष छोडेर बाटो लाग्यो
फर्केर आएन

म सितै खेल्दै गरेको छोरा पनि
कुनै दिन यस्तै नहोला र
यसको बाढी आएको कुसमयमा
ऊ मात्र अपवाद होला र

समाजमा मडारिन्दै गरेको कालो बादलले
किन मुटु चुस्छ
घरघरमा पसेको चिसो बतासले
मकाउँदैछ सुन्दर घर र
उठाउँछ सुखको बास
सुख शान्ति तोडिदैछ घरआँगनमा
असल नागरिक बन्ने बच्चाहरू
सैतानको हातमा परिरहेका छन्
मैले बच्चालाई सैतान बग्ने हावाबाट
कसरी जोगाउने होला
म जस्तै धेरै आमा बाबालाई हावाले खाएको छ
समयमा जोगाउन सकिएन भने
हाम्रा फूलहरूमा काँडा उम्रिनेछ, विष फल्नेछ
त्यो विष घोलिनेछ सुखको हाम्रो थालीमा
त्यो मन्दविषले हामी पहिला घायल हुनेछौ
र बिस्तारै छटपटिदैं मर्नेछौं ।


(हङकङ निवासी देश सुब्बा भयबादका प्रबर्धक एवं चर्चित लेखक हुन)
[email protected]