कुरा २०४८ सालतिरको हो। म मुस्ताङ होटलबाट हिँडदा झलमल्ल घाम लागिसकेको थियो । हटिया लाइनमा मान्छेको चहलपहल निकै बढिसकेको थियो । उता बजारका शटर कवलहरू पनि धमाधम खुल्दै थिए । अगरबत्तिको मिठो बास्ना बजारमा यत्रतत्र फैलिएको थियो । काँधमा झोला बोकेका एक हुल मान्छे मङ्गलगढी बसपार्कतिर जाँदै थिए । म चाहिँ जुम्लीकाँदे झोला भिरेर उँभो लाग्दै थिएँ । आँखा सालघारीको घना जंगल हँदै लादे पुग्थे र माथि सिद्धपाइला गएर रोकिन्थे । त्यो कहाली लाग्दो उकालोले मलाई नचढ्दै थकाइसकेको थियो । चढ्दो घाममा दुई घण्टा लगातार हिँडन् पनि जानु त थियो नै । किन कि मैले भोलीपल्टै स्कूलमा हाजिर हुनु पथ्र्यो । कम चुनौतिपुर्ण थिएन । र माथिल्लो बजारको पिपल चौतारीमा मैले एकजना आफ्नै गाँउले दाजुलाइ भेटेँ । रित्तो डोको चौतारीमा बिसाएर कछाड कस्तै थिए उनी । म उनको नजिकै गएँ र जुम्ल्याहात गरेँ । उनले मलाई पुलुक्क हेरे अनि टाउको हल्लाएर उनी प्रतिको मेरो आदरलाई सकारे र भने, “कैले आइस्, कान्छा ?”
म तिन दिन अघि सुर्खेत झरेको थिएँ । खासै काम त थिएन, तिन, चार दिन बिदा परेकोले न्यास्रो मेटूँ जस्तो लागेर हिडेको थिएँ । दुई दिन बजार घुमे । होटलको भात मारेँ । साँझ साँझ भिडियो हेरेँ । अनि पसिपल्ट म उकालो लाग्दै थिएँ फेरी । “काँ ? घरतिर हिँडया हो, कान्छा ?” उनले सोधे । भन्दैथिए, “घरतिर जान लाग्या हो भन्या सँङै जाउँला दुइभाइ गफ अर्दै।”
उनी रित्तो डोको बोकेर अघि लागे । म उनको पछि पछि हिँडे । मेरो झोलामा कट्टु, गन्जी, तौलिया र मन्जन बुरूस थिए । काँधमा पानासोनी रेडियो झुण्डिएको थियो । भनूँ भने त्यो बेलाको मेरो हितैषी भनेकै त्यै रेडियो थियो । म जहाँ जान्थेँ, रेडियो पनि सगंसंगै लिएर जान्थेँ । उनी चाँहि आलु बेच्न आ‘का रे । अघिल्लो साँझ आइपुगेका रहेछन् । त्यै साँझ हटियामा आलु बेचेर दुर्गा प्रसाद दाइको होटलमा बसेछन् । बिहान आठ बजेतिर हिड्न कछाड कस्तै गर्दा म टुप्लुक्क आइपुगेँ । उनलाई भेट्दा मलाई पनि बेशै लाग्यो ।
दुवैजना रित्ता, फाँट काटेर उकालोको सँघारमा पुग्न बेरै लागेन हामीलाइ । जब उकालो लाग्योैँ, उनको गफ सुरू भो । उमेरले झण्डै दोब्बर, अनुभवका पक्का, त्यसमाथी बिष्ट जातका, मैले त बोल्नै परेन । उनी मात्र बोलीरहे । बैंस बेलाका कुरा गरे, बलबुताका कुरा गरे, परदेशका कुरा गरे अनि गाउँ समाज, रीतिथिति, धर्मकर्म आदि सबै समेटे । अन्तमा उनले कुरा मतिर घुमाए । भन्दै थिए, “तँ त चाइन्या हाम्रो गाउँको गहना होस् । गाउँमा कसैले अर्न नसग्या काम तैँले अरिस् । नाम राखिस् चाइन्या जो । बाउन बिष्ट कसैले पढ्न सगेन, कामीको छोरो भैकिन पनि तैँले एसेल्सी पास अरिस् । मास्टर भइस् । भउत धन्याबात् छ तँलाई ।”
त्यति सुनेपछि म पनि मक्ख । नाक फुलेर घिरौला जत्रो भयो । कद पनि हलक्क बढेजस्तो लागेर आफ्नै छायाँ हेर्न खोजेँ तर घना सालघारीभित्र घाम पस्न पाए पो छायाँ देख्नु । छायाँ थिए त केवल रूखका । जता हेर्यो त्यतै छायाँ ।
सालघारी नटुप्किउन्जेल गर्मीको त्यति अनुभव भएन । जब रूख पातलिँदै गए, गर्मी बिस्तारै बढ्दै गयो । कटुकादेखि माथी जाँदा त खलखली पसिनै आए । घाम पनि निक्कै माथी आइसकेका थिए । तल पैतला पोल्थे माथी तालु पोल्थ्यो । पसिना कान पछाडीको खहरे हुँदै घाँटी उँधो बग्दै थिए । बिहान चिया पनि नखाई हिँडेको, भोकले रन्थन्याउँदै थियो । फट्कै चल्न नसकूँला जस्तो पो लाग्दै थियो मलाई त । तैपनि उभिंदै, सुस्केरा हाल्दै बल्लतल्ल हामी लादेको गल्छेनासम्म पुग्यौं । खाना त्यहि खाने सल्लाह भयो । तल्लो होटलमा सोधेको, साहुले खाना छैन भन्यो । अलि मास्तिर अर्को होटल थियो । त्यहाँ त कस्सो नपाइएला भनी हामी माथि उक्ल्यौं । होटलमा त्यस्तै तिस, बत्तिसकी महिला कुच्चोले भुइँ बढार्दै थिई । ग्राहक त उसकोमा पनि कोहि थिएन । त्यहाँ पनि खाना नपाइए माथि सिद्धपाइला नै पुग्नु पथ्र्यो । सिद्धपाइला पुग्न त्यहाँ देखि अँझै आधि घण्टा उकालो चढ्नु पथ्र्यो । त्यति ताकत हामीमा थिएन ।
“खाना छ, साउनी ?” वर बाटोबाटै सोधेँ मैले । “खै, छ भनूँ कि छैन भनूँ ।” उ अन्कनाई । भन्दै थिई, “दाल र तरकारी त थ्यो कि, भात चैं पकाउनु पर्छ।छन्त छ अलिकति । दुई जानालाई पुग्दैन ।”
मैले दाजुलाई हेरेँ । दाजुले मलाई हेरेँ । भोक दुवैजनालाई उत्तिकै लागेको थियो । त्यसैले खाएरै जाने निधो गर्यौं । दाजुले डोको होटलको खाँबोमा अड्याएर राखे । मैले झोला काखमा राखेँ र दुवैजना खाँबा गाडेर बनाएको बेन्चमा बस्यौँ । प्यास अति धेरै लागेकाले मैले पानी मागेँ। साउनीले अम्खोरा भरी पानी दिई् । मैले दुई हात लाएर अम्खोरा समातेँ । पछि पो मलाई याद आयो दाजु पनि पिउँछन् होला भन्ने। अनि सोधेँ, “दाजु, पानी…….?”
उनले टाउको हल्लाएर नखाने भने । त्यसपछि मैले ठाडो घाँटी लाएर अम्खोरा आधा रित्याएँ । मनमा भने कस्तो कस्तो लाग्दै थियो, “यिनी म संगै बसेर भात के खालान् खै ! यिनकै कारणले अलक्क बसेर खानु त पर्ने होइन कतै ? खा‘को भाँडा माझ्नु पर्ने त होइन कतै ?” मन भित्र भित्रै पोल्न थाल्यो । पकाउन लगाइ हालियो, नखाई हिंड्नु पनि भएन । खान बसूँ, क्षेत्री न परे उनी, प्वाक्क भनी हाले भने…….!”
डोरीले टन्टनी बाँधिए जस्तो महसुस गर्दै थिएँ म । बस्ता-बस्तै भात पनि पाकिसकेछ, साउनीले अगेनाको छेउमै गुन्द्री फिजाउँदै भनी, “यतै आउनुस्।” म बाठो हुँदै खुरूक्क गएर गुन्द्रीमा बसिहालेँ । तर दाइ उठेनन्।
“दाइ पनि यतै आउनुस् । त्याँ अप्ठेरो होला नि । खाना राख्ने बेन्ची बनाकै छैन।” साउनी उनलाई बोलाउँदै थिई ।
दाइ मसंग बस्न मानेनन् । भने, “यतै ल्याउनोस् । म हीँ बसिगिन खान्छु ।” त्यसपछि साउनीले म छेउ आएर सोधी, “वाँ के, भित्र नआउने जात हो र ?” “खै, था‘छैन । त्यैं तल्तिर भेट भा हो । सोध्न भ्याँइन ।” मैले पनि उसैगरी भनेँ खाना खाइवरी दुई भाइ फेरी बाटो लाग्यौँ । उनी त्यो घटना बारे पक्कै कुरा झिक्छन् जस्तो लाग्दै थियो । अहिले झिक्छन् कि, पछि झिक्छन् कि भनी कान थाप्तै हिडेँ म । मनमा जग्जगी लागिरह्यो ।
उकालो काटेर हामी सिद्धपाइला पुग्यौँ । त्यसपछि रातानाङ्ला, त्यहाँबाट जिल्लाने, अनि बुबैराखे हुँदै बेलुकीपख गाउँ पुग्यौँ ।
तर उनले त्यो कुरा कहिल्यै झिकेनन् । गाउँ पुगुन्जेल राम्ररी बोल्दा पनि बोलेनन् ।
खै ! था’छैन उनले त्यो कुरा किन झिकेनन्, किन राम्ररी बोलेनन् त्यति लामो बाटोभरी!
वीरसिंह विश्वकर्मा