• २०८१ पौष २९ सोमबार

ढुङ्गो

अङ्कुर चन्द

अङ्कुर चन्द

तपतप पानी चुहिरहेको छ कोठाको ठाँउ ठाँउमा । एक कुनामा बुढो मान्छे ख्वाङ ख्वाँङ गरी निरन्तर खोकिरहेका छन् । सायद दमको रोगीहुन् उनी ।
जिजीविषाको खोजमा हिड्यो किशोर छोरो । मालिक देखि साहु, ठालु, आफ्नो बाउको आजीवन पसिनाले उम्रेका जमिन्दार सबैकोमा पुग्यो । घरमा बाउको अवस्थाको ज्ञात गराउँदै सहयोग र ऋणको लागि हात फैलायो । ढुङ्गो जस्तै मन् भएका ती सबैबाट रित्तो हात फर्कियो ।
अर्को दिन बिहानै नुहाइ धुवाई गर्यो । फूलपाती लिएर मन्दिर छेउ पुग्यो । ढुङ्गाको भगवान अगाडि निहुरियो, आँखा चिम्लेर सारा वृतान्त सुनायो र फर्कियो ।
एकोहोरो मुद्रामा खुट्टाले ढुङ्गो खेलाउदै फर्किरहेको उसले बाटामा खसेको पैसामा नजर पर्यो । यताउता हेर्यो अनि समात्यो । अनि मन्दीरको बाटोतिर लागेर पुन उही ढुङ्गाको भगवानलाई ढोग्यो र भन्यो “हे प्रभु मान्छेको मनमा पनि यस्तै ढुंगो विस्थापित गराइदेऊ “।


अङ्कुर चन्द
[email protected]