• २०८० मंसिर १५ शुक्रबार

कमिलाका कारणले

प्रकाशमणि दाहाल

प्रकाशमणि दाहाल

आफ्नै सुरमा हिँडिरहेको मैले उचालेर टेक्नै लागेको पाइलो अचानक अलिक परतिर टेकेँ । त्यसो गर्दा हिँडाइको बेगका कारण ज्यान अलिकति ढलपलिन पुग्यो । यो भएको थियो पाँच फीट दुई इन्चको उँचाइबाट पनि प्रष्टै देखिएको एउटा कालो कमिलोका कारण । सामान्य धुलोमुलोका फोहोर सहितको सिमेन्टेड छतमा कमिलो प्रष्टै नजरमा परिगयो । नत्र हात्तीका पाइलामा परेको खरायो वा कुखुराको चल्लोजस्तै अचार हुनेथियो । ती त भरे पनि देखिन्थे होला, कमिलो त पक्कै देखिने थिएन । हो, देखिने थिएन । अहिलेसम्म नै मैले कतिवटा कमिलालाई परमधाम पठाइसकेँ होला । यही चैँ कसो नजरमा परिहालेछ र मलाई पनि भरसक त्यो नमरोस् भन्ने विचार आइहाल्यो र बच्यो ! भाग्य भनेको यही होला । यसले निकै पुण्य गरेको थियो होला र त ईश्वरले त्यसप्रकार बचाएको होला ।
तर मेरो चिन्तन अलिक बरालियो सायद । कमिलाका कारणले मेरो सोच कताकता तरङ्गिन थाल्यो हावाले उडाएर कावा खाँदै भौतार्रिरहने सिमलको भूवाजस्तै । उसलाई पुण्य र पापको के ख्याल होला र न भाग्य र दुर्भाग्यबारे ! साँच्चै उसलाई आफ्ना अरु बन्धुबान्धवको पनि कति ख्याल होला ? उसलाई आफ्नो गुँड वा गोलो, मान्छेका भाषामा परिवार, खानदानको पनि ख्याल छ होला ? त्यो एक्लै कहाँ कुदेको होला ? त्यो आफ्नै खुसीले बिछुडिएर हिँडेको होला कि बाटो भुलेर वा कुनै काम विशेष वा कुनै समस्याका कारण एक्लिएको होला ? अब त्यो आफ्नो समूहमा पुग्न सक्ला ? कहिले, कसरी पुग्ला….? प्रश्नहरु निस्किँदै थिए बिना खासै प्रयोजन पनि ।
हामी मान्छे पनि हिँड्छौँ नि फगत एक्लै वा समूहमा वा लगिन्छौँ निश्चित ठाउँ, उद्देश्य गन्तव्यमा कुनै प्रयोजनले वा जहाँ पुगिएला, जे होला भन्दै खुसीखुसी । समयमा त्यही समूहबाट पनि छुट्तैछुट्तै पूरै एक्लिन पनि सक्छौँ ।
तर प्राय मान्छे जहाँ पुगे पनि मान्छेका समूहमा मिसिन सक्छ । उसको पुरानो पुख्र्याैली क्रमशः लोप हुँदै जान सक्छ सुम्निमामा सोमदत्तको छोरो किराँतीसंसारमा लोप भएको जस्तै । अथवा विभिन्न ठाउँमा बस्तै हिँड्दै ट्रिनिडाड र टोबागो द्विप पुगेको लेखक भी. एस. नयपालको पुख्र्यौलीजस्तै । अथवाफिजी पुगेका नेपाली वा भारतीयजस्तै । पच्चीस हजार वर्षअगि हिउँदमा बेरिङ सागर जमेका बेला सिकार खेल्दै क्यानडा पुगेर त्यतैका आदिवासी हुनपुगेका रसियाली जस्तै । यस्तो उदाहरण दिएर साध्य नहोला ।
तर मान्छे र कमिलाको तुलना हुन सक्तैन अत्यन्त थोरै र अत्यन्त आधारभूत कुरामा बाहेक । दुवै जीवित प्राणी हुन् । दुवै जन्मिन्छन् (कमिलोचैँ अण्डाबाट), केही काल बाँच्छन्, सन्तानोत्पादन लगायत आ–आफ्ना गतिविधि गर्छन् र दुवै एक दिन मरेर जान्छन् । सायद कमिलो मान्छेका तुलनामा त्यति लामो बाँच्तैन ।
कोरोनाका कारण बन्दाबन्दी भएको पन्ध्र दिन भैसकेको छ । बाहिर निस्किन पूर्ण बन्द छ । त्यसैपनि असीको छेउछाउ पुगेको यस बूढालाई कहाँ के गर्न जानु छ र ! महिनामा चार शनिवार चार गोष्ठी भ्याउने गरेको थियो । त्यहीपनि बन्द छ ।त्यसैले दिनको २–३ हजार पाइला छतमा हिँड्ने गरेको छ खाइपचनी, ३०–४० फन्का ।
आजसम्म कति कमिला परे होला मेरा पैतालामा ! अचम्म लाग्यो । मैले तिनलाई मार्न चाहेको होइन । न मलाई तिनले केही गरेका छन् न मलाई कमिला मार्दै हिँड्नको सोखै छ । तर संयोगवश मर्ने रहेछन्, मैले मार्नेरहेँछु । यसरी हिँडाइका र अरुकामका दौरान अरुअरु मान्छेले पनि मार्नेरहेछन् । यसलाई नियतवश नगरिएका तर संयोगवश हुनगएका मृत्युका खातामा हाल्नुपर्ला । तर त्यसै भएपनि मर्नेको त कमिलै भएपनि जीवन समाप्त भयो ! जीवनको अर्थ त्यत्ति हो ? त्यसो भए दिनैपिच्छे कति कमिला, झिँगा, कीरामीरा यसरी मर्दा हुन् ! कमिला त कमिला, अलिक ठुला र अझ ठुला हुँदै सबैभन्दा ठुला हात्ती, गैँडा सिंह, बाघजस्ता जीव पनि मर्दा हुन् विभिन्न किसिमले दिनैपिच्छे । कति कालगतिले मर्दाहुन् उमेर पुगेर भने कति ऊभन्दा ठुलाको नियतवश भएको मारमा परेर वा भवितव्यमा परेर । त्यसको कुनै लेखो हुँदैन । न जन्मिनुकै लेखो हुन्छ त्यसो त ।
अचेल कति जनावरको लेखो रहने गरेको छ सम्बन्धित सरकारबाट, खासगरी संरक्षित जनावरको । कति जनावर मारेकोमा त सजाय पनि हुन्छ । तर जति लेखो राखे पनि वा नराखेपनि मर्नु भनेको मर्नु हो, त्यसका जीवनको खाता बन्द हुनु, त्यसको कथा सकिनु । यो सबैको हुन्छ किनकि सबै नै मर्छन् एक न एक दिन । अनि प्रत्येकको खाता बन्द हुन्छ ।
सबैभन्दा बढी औपचारिकतापूर्वक लेखो रहन्छ मान्छेको किनभने ऊ लेखो राख्न पनि जान्दछ नि । उसले लेखो राख्ने साधन, तरिका र पद्धति पनि बनाएको छ । उसको त जन्मको पनि लेखो रहन्छ । अझ उसको त विभिन्न किसिमले रहन्छ । कुनै राज्यको सीमा अन्तर्गत जनताका रूपमा जनगणनाद्वारा जम्मा संख्या रहन्छ । उमेर, लिङ्ग, जाति, पेशा, शिक्षा आदि ऊसँग सम्बन्धित विभिन्न जानकारीसहित लेखो रहन्छ । स्कुलमा विद्यार्थी तथा शिक्षकका रूपमा, खालखालका अफिसमा खालखालका कर्मचारीका रूपमा लेखो रहन्छ । त्यसबाहेक पनि टोल, मुहल्ला, धुरी इत्यादि विभिन्न किसिमले र विभिन्न प्रयोजनले लेखो रहन्छ ।
तर मृत्यु सबैको हुन्छ कुनै न कुनै दिन, कुनै न कुनै कारणले र कुनै न कुनै किसिमले । मानिसको भने मृत्युको पनि लेखो रहन्छ विभिन्न किसिमले- मान्छे अनुसार, मृत्युकोे किसिम अनुसार, त्यसको असर अनुसार र मरेपछि प्रचलित कर्मकाण्ड अनुसार बिदाइ पनि गरिन्छ ।
तर मरेपछि सबैको खाता भने बन्द हुन्छ र कथा समाप्त हुन्छ । मान्छेको हकमा उसको जीवनका गतिविधि र मृत्युको कारण र किसिम अनुसार लामो वा छोटो समयसम्म धेरैथोरै कथा रहनसक्छ । राम्रो भए ख्यातिका, नराम्रो भए कुख्यातिका रूपमा । अथवा मृत्युको केही पुस्तासम्म नामसम्म रहनसक्छ । राम, कृष्ण, बुद्ध, यिशु, आदि वा रावण, कंश, चंगेज खाँ एक वा दुई औँलाभरिका मान्छेको नाम र कामको चर्चा अहिले २।४ हजार वर्षसम्म रहिरहेजस्तै । धेरैको त श्राद्धमा तर्पण दिने बेलामा नाम स्मरण गरिन्छ । तर श्राद्ध पनि सबैले गर्छन् भन्ने कुरा छैन । बढीमा तेस्रो चौथो पुस्तासम्म नाम रहनसक्छ उसका सन्तानहरुमा । त्यसपछि समयको महाकाशमा हराउँछ कहिल्यै नभएसमान ।
मलाई मेरा बाको नाम, रूप, स्वभाव र धेरै काम थाहा छ । तर हजुरबाको भने नाम, बसेको ठाउँ, ससुरालीको थर र पेसा मात्र थाहा छ । बूढा हजुरबाको नाममात्र थाहा छ ।  त्यसभन्दा उताको नामपनि यथायथा ।
हुन त यथायथाको पनि मेरा बाको वा मेरोजस्तै जीवन थियो होला ।स्त्रीको चुल्ठो र पुरुषको जुँगा थियो होला । घरबार थियो होला जसलाई उनिहरु मेरो भन्थे होला । त्यसका निमित्त हुनसक्छ समयमा लाप्पा पनि खेले होला, धाक लगाए होला, कतिलाई सताए पनि होला । कतिबाट सताइए होला । तर अहिले भने पूरै यथायथा भए कहिल्यै थिएन जस्तै, मेरा पैतालामा परेर समाप्त भएका कमिलाजस्तै ।
यस्तो विगतका पुस्ताको बढी जानकारी रहेको हुन्छ राजघराना र ठुल्ठुला खानदानी परिवारको । उनिहरुको त वंशावली र इतिहास नै लेखाउने र नियमित अद्यावधिक पारेर राख्ने चलन हुन्छ । तर उही कागतमा नामसम्म हुन्छ, कसैको उल्लेख्य भए मुख्यमुख्य कामसमेत । त्यो पनि कुनै कुनामा थुपारिएको हुन्छ जहाँबाट मिहिनेतसाथ खोजेर धूलोमुलो टक्टक्याएर हेरेमा त्यो हेर्नेले थाहापाउँछ । अचेल भए त्यसले फेरि अर्को लेखोट बनाएर छपाउन र एकझमट वाहवाही बटुल्न पनि सक्छ, बस् ।
तर यही त इतिहास हो, यसैबाट त संस्कार, संस्कृति र सभ्यता बनिन्छ र मानव कमिलाभन्दा फरक हुन्छ । अर्थात् मानव मानव बनिन्छ, कमिलो कमिलै रहिरहन्छ ।
मैले आफैँसँग तर्क गरेँ । तर त्यही पनि कतिको राखिन्छ र ? लाखौँलाखौँ करोडौँ मान्छे त कमिलैजस्तै हराउँदै जान्छन्, होइन र ? रामायणका दशरथ राम, उनका भाइ, आमाहरु, रावण, मारिच, हनुमान, सुग्रीव, आदि केहीको उल्लेख रहेर आयो र कथित केही पठितलाई थाहा भयो । बाँकी लाखौँलाख किसान, सेवक, सिपाहीको उल्लेख कहाँ रह्यो ? के तिनको समाप्ति मैले र मजस्तै अरु मान्छेले हिँड्दा कुल्चिएका र काम गर्दा किच्चिएका बेहिसाब कमिलाको भन्दा फरक भयो ? बारीमा भएका र बेला भएपछि ढलेका मकैका बोटजस्तै त भयो ! क्रमश आइरहने, उम्रिरहने, जन्मिरहने र मर्दै, हराउँदै गइरहने, होइन र ?
तर यो त निराशावादी वा हीनमति कुरा पो भयो,  मनले अर्को तर्क तेस्र्यायो । त्यसो भए झारपात, रूखबिरुवा, कीटपतङ्ग, पशुपन्छी र मान्छेमा के फरक भयो त ?
सायद प्राकृतिक दृष्टिले वस्तुगत फरकभन्दा केही फरक छैन । अर्थात् हावा वा पानीका लागि मान्छे- मान्छेमा पनि एउटा सामान्य मान्छे, विद्वान्, सन्त, हाकिम, राजा, स्त्री वा पुरुष, कालो वा गोरो, धनी वा गरीब, यो जात वा त्यो जात वा कुनै पशु, कुनै ढुङ्गो वा रूख सबै उसको मार्गका अवरोध बाहेक केही होइनन् जसले उसको प्रवाहमा सानोठुलो बाधा पुर्याउछन् र जसलाई ऊ लडाउनु, बगाउनु, धुल्याउनु, गलाउनु, उडाउनु अर्थात् मार्गबाट हटाउनु भन्छ, त्यसको प्रयास गर्छ र हटाउँदै, बगाउँदै पनि रहन्छ ।
उत्पत्ति, अस्तित्व र समाप्तिका दृष्टिले सबै एकएकवटा वस्तु हुन्, सास वा बिसास । सासलाई जीव भनिन्छ बिसासलाई वस्तु । जीवको पनि वर्गीकरण हुन्छ, उसको किसिम र कामअनुसार । ती सबै नै कुनै समयमा उत्पत्ति हुन्छन्, कुनै समयमा समाप्त हुन्छन् र यो क्रम चलिरहन्छ । सम्भवत सबै वस्तु र जीवको यो गतिक्रमको संयुक्त नाम नै प्रकृति हो । कामका रूपमा यही सृष्टि- स्थिति- संहार हो, व्यक्तिवस्तुका रूपमा यही ब्रह्मा- विष्णु- महेश हो जहाँ भावनाको कुनै अर्थ छैन । वस्तु वा जीव अनुसार यस गतिक्रममा हुने तरिका वा त्यसको परिमाण वा दुवैको मात्रा मात्रै केही समान र केही फरक हुन्छ । अर्थात् एउटा कमिलाले पनि बाँच्नको लागि, अस्तित्वको लागि आफ्नो किसिमले सकेसम्म संघर्ष गर्छ एउटा ढुङ्गाले नलड्न वा नफुट्न वा नबग्न संघर्ष गरेजस्तै । तर संघर्ष सबैको समान हो । कमिलाको बँचाइ र मराइ तथा एउटा मान्छेको बँचाइ र मराइ फरक हुनसक्छ किसिमका दृष्टिले तर त्यसको बँचाइ पनि मराइ पनि उही हो प्रकृति वा सिद्धान्तका दृष्टिले, त्यसको प्राकृतिकता उही हो ।
यतिबेलै सम्झना हुन्छ पागल भनेर कति जनाबाट होच्याइने ग्रिक दार्शनिक डायोजिनससँग सम्बद्ध एउटा घटना । एक दिन ऊ मेसेडोनियाको एउटा पाखामा थुप्रिएका नरकंकालको चाङमा केही खोज्दै थियो अरे । फिलिपपुत्र महानायक अलेक्जान्डरले देखेर एउटा हवल्दारलाई सोध्न पठाएछन् ‘सम्राटले सोधि पठाइसिएको ए, डायजिनस, तिमीले के खोजेको यो नरकंकालको चाङमा ?’ उसले कंकालहरु यताउता पल्टाउँदै एक्लै फतफताएझैं भनेछ ‘सम्राट फिलिपको लास पनि यहीँ राखेको थियो अरे । तर खोइ ? सबै कंकाल उस्तै छन्, कुन हो कुन हो छुट्याउनै सकिँदैन !’
भर्जिनिया वुल्फले एउटा पुतली moth मरेको र मर्नुभन्दा अगि उसले गरेको संघर्षको भावपूर्ण चर्चा गरेकी छन् उनको प्रसिद्ध निबन्ध पुतलीको मृत्यु Death of the Moth मा(मधुपर्क ….) । उनले पुतलीले मृत्युसँग बहादुरीसाथ लडेको र अन्त्यमा सानसँग मृत्युको महत्ता स्वीकारेको अर्थ लगाएकी छन् । तर त्यो पुतलीले जानेर बुझेर त्यसो नगरेको र लेखकको भावपूर्ण आरोपण मात्र हुनसक्छ । मान्छे पनि त्यसो त संघर्ष गर्छ नमर्न । मृत्युसँग नहार्न । ऊ त स्वाभाविक भन्दा अतिरिक्त पनि प्रयास गर्छ- औषधि, चिकित्सक, झारफुक इत्यादि । तैपनि मर्न त मर्छ पुतली समान ।
त्यसो भए के सबै जीव र वस्तुको बाँच्नु मर्नुमा कुनै फरक छैन त ? कमिलो हुनु र मान्छे  हुनुमा कुनै फरक छैन त ?
लाग्छ फरक छ । कमिलो कमिलै हो, मान्छे मान्छे । बाँचुन्जेलको अनुभूति वा महसुसनै सायद मुख्य कुरा हो । कमिलाले कस्तो महसुस गर्छ होला हामीलाई सायदै अनुमान छ । तर हामी आफूबारे, आफ्नो स्थान र कामकाजबारे आफू आफूजे ठान्छौँ, जे महसुस गर्छौं त्यही हाम्रो मान्छे र अझ फलानो मान्छे  हुनुको अनुभूति होला र त्यति नै होला सबैथोक । त्यही होला ‘सत्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत । श्रद्धामयोऽयं पुरुषो यो यच्छद्धः स एव सः (जन्मिन्छ स्वयंको श्रद्धा स्वयंबाट स्वयं अतः । स्वयंका प्रतिको श्रद्धा नै हो श्रद्धा,विशिष्टता)’१७।३ भन्नुको तात्पर्य पनि । त्यही मरेपछि पनि चलेको वेगमा पाइडल चलाउन छोडेपछि पनि केही बेर कुद्ने साइकलको वेगजस्तै सो वेगअनुसार केही मिटरसम्म याद रहने गर्दछ। त्यसपछि सबै समाप्त ? समयको महाकाशमा विलीन भएपछि सबै समान कुन वस्तु, कुन मान्छे, कुन पशु । कुन कमिलो, कुन प्रकाश कुन श्याम ।कुन हाकिम कुन पिउन । हाकिम र पिउन त पेन्सन थाप्ने वा अस्पतालमा पुर्जी बनाउने लाइनमै समान भैहाल्छन् । त्यसपछि त त्यो पनि समाप्त कि बेपत्ता र महासमानता वा सर्वसमानता !
हो, सायद स्वयंप्रतिको श्रद्धा वा स्वयंलाई स्वयंले दिएको स्थान नै उसको कमिलोत्व वा मानवत्व र मानवमा पनि महत्ता वा हीनवत्ता हो । अर्थात् आफूलाई आफूले निर्धारण गरेको स्थान वा स्तर नै वास्तविक स्तर वा गुरुता हो । सामान्यत त्यो स्तर वा स्थान निर्धारण उसको आत्मिक, बौद्धिक, भौतिक हैसियत वा गुरुत्वको आर्जन वा कायम वास्तविकताको सचेतना अनुसार धेरैजस्तो स्वत नै हुने गर्दछ । मान्छेको हकमा त्यस स्वतलाई सचेतनाको पूर्वाग्रहले प्रभावित गरेको देख्न सकिन्छ भने वस्तुको वस्तुगत स्वाभाविकताले । अर्थात् पानी होचो ठाउँतिरै बग्छ; होचो ठाउँमै बस्छ कम भएमा, बढी भएमा अग्लो ठाउँ पनि डुबाइदिन्छ र अझ उतै गएर बगिदिन सक्छ । एउटै स्कुल र कक्षामा पढने साथीमध्ये कुनै प्रवेशिकै नपुग्न सक्छ, कुनै त्यहाँ पुगेर पनि त्यत्तिकै खेती पाती गरेरै रमाउन सक्छ भने अर्को पल्टन नगै छोड्दैन वा नेता नभै नछोड्न सक्छ । पानीको यस आफ्नो स्थानजन्य स्वभावमा सचेतना होइन भौतिक वा प्राकृतिक गुणजन्य स्वाभाविकता हुन्छ भने मान्छेमा भने त्यो सत्वबोधक सचेतनाजन्य महत्वाकांक्षा हुन्छ जसअनुसार ऊ हेरेर, ठहराएर आवश्यकता वा स्थिति अनुसार अगि बढ्ने, पछि सर्ने, यथास्थितिमा रहने गर्छ । तर उसको त्यो गराइमा, उसको सचेतन ठहराइमा पनि उसको अवशिष्ट गुरुत्वले नै काम गरिराखेको हुन्छ । अर्थात् त्यही होला स्वत्व वा उसको सत्व जसको निर्माण वा विकास सायद जन्म पूर्वदेखि नै उसको पैतृक, शैक्षिक, शारीरिक आदि आरम्भिक यथार्थद्वारा हुँदैआएको हुन्छ । यसैअनुसार त कोही विभिषण बनिन्छन् शरणमा गएर त कोही रावण बनिन्छन् छाती थापेर । कोही सबैजसोले मरिहत्ते चाहना गर्ने नोबेल पुरस्कार ली डक थो, जाँ पाल सात्र्रे आदिलेझैँ बहिष्कार गर्छन् ।एउटा निहायत गाउँले सुपरिचित अब्राहम लिंकन हुन्छन् अमेरिकाको राष्ट्रपति र राष्ट्रपतिमा पनि दासप्रथाको अन्त्यगर्ने विशेष अग्रणी ।


प्रकाशमणि दाहाल
[email protected]