पूर्वको नाम चलेको सुन्दर शहर धरानमा रहेको “थ्री स्टार“ होटलमा बिहान र दिउँसो भन्दा साँझ ढलेपछि बढी चहलपहल हुन्थ्यो । तीनजना युवतीले सञ्चालन गरेको हुँदा होटलको नाम “थ्री स्टार“ राखिएको थियो ।
तीन युवतीमध्ये “पारिजात“ सबैको आँखाको फूल र हृदयको धड्कन थिईन् । उनीसँग एक नजर जुधाउँन सबै मरिहत्ते गर्थे ।
उनी बिछट्ट सुन्दरी मात्र होइन चतुर पनि थिईन् । उनलाई रूपवान नगरबधूको नजरले हेरिन्थ्यो । वास्तवमा पारिजात रातभर ढकमक्क फुल्थिन् र बिहानै झर्थिन् ।
शहर; उनको आकर्षक शरीर र रूपको छायाँमा थियो । उनको मोहक सुन्दरता हेर्न कै लागि पनि मानिसहरू होटल छिर्थे । पारिजातलाई आँखामा लुकाएर निस्कन्थे । छातीको कुनामा सजाएर राख्थे । होटलको व्यावसाय पनि राम्ररी फस्टाएको थियो ।
शहरमा जताततै उनकै चर्चा हुन्थ्यो । उनको रूपको जादुमा सबै नतमस्तक थिए । उनलाई स्पर्श गर्न पाउँने पुरूषहरू आनन्दले पुलकित हुन्थे ।
उनको रूपमा महिलाहरू पनि डाह र ईष्र्या गरेर जल्थे । कोहीकोही त वेश्या भन्न समेत पछि पर्दैनथे ।
उनका विरूद्धमा प्रशासनमा उजुरी समेत पर्दथ्यो । उच्च प्रशासनिक अधिकारीसँग उनको राम्रैसँग गोप्य हिमचिम थियो । सम्झाउन जाने प्रहरी अधिकृतहरू उल्टै पारिजातको प्रशंसक बनेर फर्कन्थे ।
उनको बोलीमा पनि सबैलाई सम्मोहन गर्नसक्ने मिठास थियो । यदाकदा उनी सार्वजनिक ठाउँमा निस्कदा सबेैका नजरले उनैलाई डसिरहेका हुन्थे । हावामा रूपको खुसबू फैलन्थ्यो ।
यसरी होटल धाउनेमा शहरका बौद्धिक र सभ्रान्तहरू पनि हुन्थे ।
पर्दा पछाडीको काममा महिलाहरू नै बडी संलग्न थिए । भद्र भलाद्मीदेखि बेलाबेला आउने ठूला नेताको बास बस्ने मनपरेको होटल थियो थ्री स्टार ।
शहरका आदर्श मानिएका रंजित देखि भद्रताका प्रतीक सुरेशमात्र होइन नैतिकताको वकालत गर्ने श्यामप्रसाद पनि कुनै बहना मिलाएर बारम्बार होटलमा सुटुक्क छिर्थे ।
पारिजात भने कोठामा छुपाएर राखेको गोप्य क्यामराले आफूसँग अन्तरङ्ग समयका मानिसको रेकर्ड गरेको भिडियो तस्बिर खिचेर जतनले राख्थिन् । अनावस्यक पात्रको भने तस्बिर मेटाउने गर्थिन् ।
उनलाई लाग्थ्यो कुनै भवितव्य भएमा तस्बिरहरू प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्छ । तर उनको कसैलाई फसाउने नियत थिएन् । उनी आफ्नू पेशाप्रति इमान्दार थिइन् ।
तर एकदिन बिहान होटलको कम्पाउण्डमा भीडभाड बढेको थियो । प्रहरीहरू र महिला संगठनका पदाधिकारीहरू पारिजातलाई घेरेर केरकार गरिरहेका थिए ।
पारिजातका मनमा भने अनेक कुराहरू नदीको छालझेै आउँथे, हराउँथे । निकैबेरको सोधपुछ पछि उनले आफ्नू तीन महिनाको गर्भ रहेको कुरा स्वीकार गरिन् । तर बच्चा कसको थियो उनैलाई थाहा थिएन, उनी चुप थिइन् ।
उनले पैसाको गड्डी फ्याँकेर आफ्नू शरीरसँग खेल्ने सबै पुरूषहरू लाई एक एक गरेर मन मनै नियालिन सुरेश, रंजित, श्यामप्रसाद लगाएत करिव बीस जनालाई त त्यहाँ उपस्थित गराइएकेै थियो । सबैको अनुहारको रौनक हराएको थियो । सबैलाई पारिजातको इसाराको भयले डसिरहेको थियो । सबेै आरोपी डराएका थिए ।
पारिजातको कामुक र चतुर ओठबाट कसको नाम उच्चारण हुने हो । सबै सशंकित थिए ! पारिजात कतिपय अन्तरङ्ग सम्पर्कका कुरा त मिर्मिरे बिहानीसँगै बिर्सि दिन्थिन् । सबैलाई सम्झिएर साध्य पनि थिएन । सम्पर्कमा रहेका मध्ये रंजित भन्दा उपयुक्त र उत्तमपात्र कोही देखिनन् । चालिसको हाराहारीमा पनि गहुँगोरो छफुटे रंजितमा बेग्लै चुम्बकिय आकर्षण थियो ।
उसको नौ बर्ष अगाडी तुलसासँग प्रेमविवाह भएको भएपनि बच्चा जन्मिएका थिएनन् ।
तुलसा चालिस किलोमिटर टाढा रहेको माइतीघर गइरहने भएकाले बेला बेलामा जोईपोइ बीच सामान्य ठाकठुक भने हुने ग¥थ्र्यो । सानो तिनो विवादमा पनि तुलसा माइत हिंड्दििन्थिन् । यसैमा रंजित चित्त दुखाउँथ्यो र कहिले काही बहकिन खोज्थ्यो । रंजित होटलमा गएर गफिन्थ्यो, खान्थ्यो र फर्कन्थ्यो ।
तर एकरात नारी सौन्दर्य सामु रंजितको बहाना बाजी र आदर्शले आत्मसमर्पण गरेरै छाड्यो । रंजितको सुन्दरता र व्यक्तित्वप्रति पारिजातको विषेश लोभ र आकर्षण थियो नै । केही समयदेखि पारिजात एउटा त्यस्तो पुरषको खोजिमा थिइन् जसले उनको जीवन चरित्र बुझेर पनि हृदयबाट प्यार गरोस् ।
उनको मनमा वासना भन्दा पनि अब गाढा प्रेमको भोक जागिरहेको थियो । उनी आफ्नू पेशालाई घृणा गर्न थालेकी थिईन् ।
पारिजातले अन्तिम पटक एकएक गरेर लामबद्ध सबैको अनुहार नियालिन । रातका सारा पात्रलाई रूप र क्षणिक शारीरिक प्यासका भिखारी ठानिन् । वासनाका दास भन्दा माथिल्लो दर्जामा राखिनन् ।
विवाहित भएपनि रंजित सँगै आफ्नू भविष्य सुरक्षित देखिन् ।
अनि रंजित तर्फ मायालु इसारा विछ्याउँदै भनिन..।
“मेरो पेटको बच्चाको हकदार ! रंजितबाबु हुनुहुन्छ ।“
रंजितको अनुहार पहेँलियो । पारिजात तर्फ पुलुक्क आँखा घुमे; दुबैका आँखाले मूर्छित सम्वाद गरे ।
अरू दोषीहरूको अनुहारमा रौनक फर्कियो इसाराको भय हरायो ।
यतिबेलै तुलसा हावाको गतिमा होटलको कम्पाउण्डमा प्रवेश गरिन् । भीडमा भएका कसैले पहिलेनै मोबाइल फोनबाट विपरित परिस्थितिको सूचना तुलसालाई दिइसकेका थिए ।
तुलसाले रंजितलाई धिक्कारिन् । कैयौं अपशव्द निकालेर गाली गरिन् ।
पारिजातलाई कुट्न तम्सिन तर महिला प्रहरीले रोके ।
तुलसा भन्दै थिइन् ।
“पारिजात ! तँ नारीको कलङ्क र धरतीको बोझ होस् । दुनियाँसँग लाज बाँडेर रंजितलाई मात्र कसरी दोषको भागिदार बनाइस् ।“
पारिजात मौन बसिन् ।
तुलसाले डिएनए टेस्ट गर्नुपर्ने मांग राखिन् । रंजितले ठाडै इन्कार गरिदिए ।
तुलसा जसरी रिसले रन्थनिदै आएकी थिइन् । उसरी नै सटासट बाहिरिइन् ।
वातावरणमा एकछिन सन्नाटा छायो । सबैको नजर रंजितमा गएर स्थिर भयो । झमझम झरीपरेको मौसममा आफू चुकेको एकमात्र रात र पारिजातसँगको एकान्त साथ सम्झदै रंजितले सबेैका सामुन्ने पारिजातसँग एकरात बिताएकोमा स्वीकारोक्तिको टाउको हल्लाए ।
(दमक, झापा, निवासी बाबुराम न्यौपाने “उत्स“ चर्चित साहित्यकार हुन् ।)
[email protected]