नास नहुने अविनाशी अर्थ बोकेको अक्षय तृतीयाको आफ्नो गरीमा छ हिन्दु धर्ममा । यस्तो दिन जो लक्ष्मी नारायण सहित शिव पार्वतीको प्रिय छ । चार युगको सुरूवात भएको दिन भनेर पनि आजको दिनलाई मानिन्छ । वेदव्यास र गणेशले महाभारत लेख्न सुरू गरेको, यही दिन महाभारत युद्ध समाप्त भएको र अरू धेरै शुभकार्यको प्रारम्भ भएको आजको दिन विशेष शुभकार्यको लागि समर्पित छ ।
सानैदेखि अक्षय तृतीयाको महत्व र प्रचलन देख्दै आएको थिएँ, सुन्दै आएको थिएँ । विशेषगरी यस दिन जल दान गरेमा अक्षय पूण्य फल प्राप्त हुनेछ भनेर अन्य ग्रन्थहरूमा पनि व्याख्या गरिएको छ र मैले पनि सुन्दै आएको हुँ । तर मैले यति कुरा अलि पछि मात्र बुझेको हुँ । भविष्य पुराणमा आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।
वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो भन्ने जनश्रुति पहिलेदेखि नै चलिआएकै हो ।
सम्झनामा यो दिन बारम्बार आइरहन्छ मिठो सर्वत बनेर । अक्षय तृतीयाको नाम सुने पछि मुख सराउथ्यो केटाकेटीमा । खै के के मरिच, दालचीनी अरू मसला र चिनी, सख्खर हालेको पेय पदार्थ । त्यो बाल्यकालमा सारै प्रिय थियो । साथमा जौको सातु । सातु खाँदा भने घाटिमा अडकिने डर । एउटा रमाइलो भने अझै संझनामा छ सातुको । सातु मुखमा हालेर फूपू भन्न पर्छ सबै सातु मुख बाहिर । राम्रोसँग नचालिएको सातुको चोकर गएर च्चापुमा टासिदाको बेहाल पनि छ संझनामा । त्यसैले सातुसँगै सर्वतको गिलास दिनु हुन्थ्यो आमा । सर्वत भने मीठो । थपिथपि खाऊ जस्तो । बैशाखको गर्मीमा चिनी या सक्खर मिश्रित सर्वतको मजा नै बेग्लै ।
मेरो वालवयमा अक्षय तृतीयाका अनेक संझनाहरू छन् । दशकौँ विते समय कहाँबाट कहाँ पुग्यो तर यसको महत्व उत्तिकै छ महत्वसंगै सम्झनाहरू उस्तै मिठा छन् । आज यो पावन दिनमा संस्मरणलाई लिपीबद्ध गर्न मनलाग्यो र सम्झदै, गमदै लेखेको छु । अक्षय तृतीया ! यो तिम्रै प्रशस्ति हो स्विकार । विगतमा अहिले जस्तो कुटानी पिसानीको लागि आधुनिक मिल सर्वसुलभ थिएन । कुटने ढिकी र पिसने जाँतो । ढिकी- जाँतो कै भरले चलेको थियोे जनजीवन ।
अक्षय तृतीया आउने संकेत दुई- चार दिन अघिदेखिनै गराउथ्यो आँगनले । सातुको लागि जौ सुकाउँने- केलाउने काम ।
प्रारम्भ हुन्थ्यो घरमा । अरू कुराको प्रयोगमा भन्दा विशेष ध्यान दिएर केलाउनु पर्छ भनेको सुनेको छु मैले । जौ भगेरा र अन्य चराचुरूङ्गीले नखाने भएर कुर्नु भने पर्दैन थियो । नत्र बिस्कुन सुकाए पछि चराचुरूङ्गी धपाउने काम मेरै हुन्थ्यो । जौका टुँडा, खोस्टा, कन अनेकलाई अलि मसिनो गरि केलाउने काम हुन्थ्यो भाउजू दिदीहरूको । अहिले जस्तो अत्याधुनिक जालीहरू थिएनन् । बासको स- साना चोयाले बुनेको चाल्नुको सहायताले केलाउन पर्दथ्यो । नाङ्लोमा सानो सानो घान हालेर घुमाई घुमाई छिन्कनी लाउदै, निछोट्दै जौ केलाउने काम हुन्थ्यो । त्यो प्रारम्भिक काम पछि कमलो आगोको मन्द आँचमा हाडीमा भुटेर फेरि केलाउदै चाल्दै तयार हुन्थ्यो सातुको लागि जौ ।
अक्षय तृतीयाको अर्को झल्को दिलाउथ्यो जाँतोले । जाँतो हाम्रो घर र अरू एकाध घरमा मात्र थियो । तर छिमेकीहरू हाम्रै घरको जातो सजिलो भनेर आउँथे पिसपासका लागि । कुनै दिन त पालो समेत पर्खनु पर्दथ्यो सातु पिध्न । मलाई संझना छ,पालो पर्खनेमा राधिका नानीआमा, मञ्जरा, लक्ष्मी भाउजू च्याठ्ले, रामेश्वर दाइको आमा । मलाई उहाँको नाम के हो अझै हेक्का छैन । लौ घ्याम्पे पनि आयौ भनेर जिक्याउनु हुन्थ्यो ठुलो बुबा । अलि मोटि हुनुहुन्थ्यो र घ्याम्पे भनेको होला सायद । आज पर्यन्त उहाँको नाम के भन्ने पत्तो छैन । रामेश्वर दाइको आमा भन्यो बोलायो ।
त्यतिबेलाका बुढापाका हुँदाखादाको नाम बिगार्न र अरूको चालढाल र स्वभाव अनुसार उपनाम नाम राख्न सिपालु । अनेक नाम दिन्थे । आमा, काकी, भाउजू र बुहारीहरूलाई । घ्याम्पे, घारे, बाराही, लुति, अनेक नाम दिने । ऐकार नलागेका नाम कमैका हुन्थ्यो ।
रामेश्वर दाइको आमा उर्फ घ्याम्पे । आमाको प्रिय । आमाले दिदी भन्ने उहाँ बहिनी । राम्रो मित्रता थियो आमा र उहाँकोबिच । उहाँ पनि खासै गाउँमा अरूको घरमा नजाने मेरो आमा पनि । प्रायः आमा हुँदा पनि आई राख्नु हुन्थ्यो अैचो- पैचो, दुःख- सुख साट्न । लाग्छ आमा खुवाउने औशीको भोलिपल्ट, गौरी भाउजू सातु पिस्दै हुनुहुन्थ्यो जाँतोमा । ठुलै थियो उहाँको सातुको घान । रामेश्वर दाइको आमा सानो दिउरी फरियाको सप्कोले छोपेर सातु पिस्न आउनु भयो । ढोकाको सैठेलोमा निहुरेर हातले छुदै ढोगेर पस्नु भयो भित्र । जहिले आउँदा पनि त्यसै गर्नु हुन्थ्यो । मैले पिर्का दिएँ बस्नलाई । बुबाले भन्न भ्याई हाल्नु भयो,“ए ठुलो पिर्का दे, अट्दिनन् घ्याम्पे ।
“बुढा सधैं जिस्क्याउनु पर्छ त“
“ दुब्लाएर मर्न लागिसके आफू“ यति भन्दै पिर्कामा थचक्क बस्नु भयो ।
बुबा पूजा चौकामा हुनुहुन्थ्यो । हामी सबैजना ठुलो बुबालाई बुबा भन्ने गर्दथौ। पूजाचौकीको छेवैमा थियो जाँतो । गौरी भाउजू चुपचाप जातो पिसदै हुनुहुन्थ्यो । खै कसरी हो जाँतो घुमाउने हातो हतेसो फुत्केछ । बुबाले देख्नु भो र कराउनु भयो।
“लौ गरि दुसादले”
बुबा गाली गर्दा पनि मायामा पनि दुसाद भन्नुहुन्थ्यो । बुढाको आशिष जस्तै ठानेर पचाई सकेका थिए सबैले । जाँतोको कहिले हातो फुत्कने, कहिले माने खुस्कने त्यो पुरानै रोग हो बुबाले दुसाद भने जस्तै । पूजापाठ सकेर शालिग्रामको जल सेलाउन निस्कनु भयो । यै बिचमा जातोबाट सातु उठाई वरी हातो ठोकठाक गरेर गौरी भाउजू गनगनाउन थाल्नु भयो
“हेर यो सातुले बिहान बित्यो ।
“कति मानाको घान हो गौरी” घ्याम्पे आमोई सोध्दै हुनुहुन्थ्यो हातमा जल सेलाएको करमपात्र लिएर बुबा भित्र छिर्दै गर्दा । गौरी भाउजूले भन्नुभयो “चारमाना भुटेको थेँ खै अब सातु कति बस्छ”।
“यसका जहानै ठुला चाहिहाल्यो नि“
“तिमीले कति ल्यायौ नि ?“
“बाचा मात्रै छ,के काम धेरै ! देउतालाई चडायो यसो प्रसाद खायो पुगि गो नि बुढा कति चाहियो र”
“मजाले खाओ न दुसास हो औषधी हो यो बेलाको सातु”
फेरि दुसाद लगाउन भ्याउनु भयो बुबाले ।
“ल आमा मेरो सकियो बस्नोस् जाँतोमा तपाईं, मैले राम्रोसँग सफा पनि गरेकी छैन ।
“म त हिडे” यति भनेर गौरी भाउजू निस्कनु भयो ।
“म त फुकी माग्छु बासँग कस्तो जिउ भारी भा छ,अनि दलौला सातु । लौ न बा यसो नारी हेर्दिनोस्, लगान हो कि” ?
यति भनेर चोलोको बाहुला सारेर बुबा तिर हात बढाइन।बुबाले खरानीको टिको लगाएर फुकफाक गरिदिनु भयो । पुनः सुरु भयो सातु पिधने कर्म ।
रामेश्वर दाइको आमा बिस्तारै जातो धुमाएर सातु पिसदै हुनुहुन्थ्यो,सुरू भयो बुबाबाट अक्षय तृतीयाको महत्त्व वर्णन ।
यता सुन ए घ्याम्पे खाली खानि मात्र काम कुरा गरेर हुन्न । तिथि, पर्व, चाडबाडको महतत्त्व पनि बुझनु पर्छ । यो अक्षय तृतीयाको महिमा भविष्य पुराणमा छ । शिव पार्वतीको बिबाह भएको दिन भनेर त सुनेकै छ सबैले । अक्षय तृतीयाका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । बैशाख शुक्ल तृतीयाका दिन स्नान, जप, तप, हवन, आदि कर्म सकेर सातु सर्वत दान गर्यो भने अक्षय पूण्य प्राप्त हुन्छ भनिएको छ।
मत्स्य पुराण लगायतका अन्य ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । अक्षय तृतीया कै दिनबाट त्रेता युगको शुरुवात भएको मानिन्छ । अक्षय तृतीयाका दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर दान गर्यो, खुवायो भने ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवान्को अक्षय आशिर्वाद प्राप्त हुन्छ भनेर भनिएको छ ।
उहाले भनेका कुरा मैले पनि चाख मानेर सुनी रहेको थिए जो अहिलेको लेखनीलाई सहयोगी बन्यो ।
अक्षय संस्कृत शब्द हो ’अक्षय’ को अर्थ हो ’शाश्वत’, नाश नहुने,नघट्ने भन्ने हो। शरीरको शक्ति नाश नहोस् । शरीरमा जलतत्वको कमी नहोस् भन्ने दृढ संकल्प लिएर यो पर्वलाई विशिष्ट बनाउने काम शास्त्र र पुर्खाले बताउँदै आएका छन् । अक्षय तृतीयालाई सुख,सफलता र आनन्दको पर्व भनेर पनि भनिन्छ । धार्मिक मान्यता अनुसार अक्षय तृतीयाका दिन सुन चाँदी र गरगहना किनेर धन संचय गर्दा शुभ हुन्छ भन्ने मान्यता पनि छ । यो दिन शिव पार्वतीको विवाह भएको पवित्र दिन भएको हुँदा कुनै पनि शुभ कार्यका लागि साइत जरूरी पर्दैन भन्ने मान्यता छ ।
वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातु स्वास्थ्यका हिसाबले पनि फाइदा हुने नै भयो । आयुर्वेदले जौको विशेष महत्त्व उल्लेख गरेको छ । जौमा अनेक रोगहरू नास गर्ने शक्ति हुन्छ। बल प्रदान गर्छ, प्राणलाई रक्षा गर्छ । ओज युक्त भएकाले बुद्धिलाई शुद्ध राख्छ भनिएको छ।
अक्षय तृतीयाका दिन निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने कुरा मत्स्य पुराणमा वर्णन गरिएको छ ।
जौलाई संस्कृतमा “यव“ भनेर भनिन्छ । श्रीमद्भागवतमा वामन अवतार रूपी कृष्णले “औषधिनमहं यव“ अर्थात औषधीहरूमा म जौ हुँ भनेर भनेका छन् । यस्तो औषधीय गुणले युक्त जौको सातु र सर्वत अहिले अभाव र स्वभावका कारण हराउदै छ। केटाकेटीहरूलाई जौ मिश्रित पिठोको लिटो सारै पोषिलो भनेर खुवाइन्थ्यो । ऐले वोस्ट बिस्कुट भन्यो भने खान्छन् । जौ भन्यो भने “छ्या“ भन्ने दिन छ ।जौ खेतीका कारण अभावपूर्ण बन्दै छ । सर्वतको ठाउँ कुनैबेला “टाकुरा“ले लिएको थियो। अहिले “ट्याङ“को छ । अन्य रियो,फ्रुटो, अप्पि, रियल, जुसि अनेक छन बजारिया भेटिने सर्वतका बहुरुपहरू । आजका आधुनिक घरहरूमा दालचीनी, मरिच आदि औषधीय गुणले युक्त हितकारी सख्खर मिश्रित सर्वत कमै बन्छन् जस्तो लाग्छ।
अक्षय तृतीयाको पावन दिनमा भगवान् विष्णुको सातौँ अवतारका रूपमा जमदग्नि र रेणुकाको सुपुत्रका रूपमा परशुरामको जन्म भएको थियो । अक्षय तृतीयाका दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाउने चलन छ ।
अक्षय तृतीयालाई ठाउँ विशेष फरक फरक रुपमा मनाउने प्रचलन छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर तराई क्षेत्रमा बनाइन्छ भने प्रायः घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाएर अतिथि सत्कार गर्ने हाम्रो पुरानो मान्यता आज छ । सातुलाई ठाउँ अनुसार फरक फरक सम्बोधन गर्ने गरिएको छ। सातु, सत्तु,सतुवा । कति घरमा यो पर्व लोप पनि भै सकेको छ । आफ्ना सन्ततीलाई मौलिक र वैज्ञानिक आधार भएका पर्वहरूको बारेमा अभिभावकले नबताउदा पर्वहरू लोप हुदै जान्छन् । हाम्रा राम्रा र उपयोगी पर्वलाई गच्छ अनुसार मनाउन सक्यौं र जान्यौ भने स्वस्थ्य हुने धेरै आधार पर्व र संस्कृतिले अङ्गिकार गरेको छ । यस्ता सवालमा हाम्रो संस्कार र संस्कृति धनी छ ।
केही समय अघिसम्म बाटाबाटामा गाग्रीका गाग्री सर्वत लिएर खुवाउनेहरूको घुइँचो देखिथ्यो । त्यो सम्झदा पनि कथा जस्तै लाग्छ ।पढ्नेले के संझेर पढ्ने हुन, तर त्यो सत्य थियो ।
हाम्रा रीतिरिवाज,परम्परा र पर्व विशेष खाने परिकार आदि हराउदै जाँदा चिन्तन र चेतना पनि हराउने हो की भन्ने डर लाग्छ । समय सापेक्ष परिवर्तन र नवीन चिन्तन हुनु समयको स्वभाविक माग हो भने परिवर्तनकामी चेतले सातु “छ्या“ र सर्वत छोडेर मेसिने ड्रिङ्कसलाई “वा“ भन्नू अस्वभाविक आधुनिकता हो कि भन्ने लाग्छ । म पनि मान्छु समयानुकूल जीवनशैली बदलिनु पर्दछ भन्ने । जीवन बदल्ने नाममा संस्कार र संस्कृति बदलियो भने जीवन मखुण्डे हुन्छ।
सबै विषय प्रति बिस्तृत चिन्तन र ज्ञान हुन्छ भन्ने छैन । सातु प्रतिको मेरो ज्ञान “अल्प बिद्या भयंकरी“ हुन सक्छ। अक्षय तृतीयाको सातु- सर्वत चिन्तनधाराले अलिकति बिर्को खोली दियो भन्ने लाग्छ । सातु दाँत नउम्रेका केटाकेटीका लागि लिटो रूपी साथी,दाँत नभएका बुढापाकाको खाजा रूपी साथी, तिर्थाटनको समयमा भोजनीय साथी । सातु त्यत्तिकै अनुभवसिद्ध साथी बनेको रहेनछ जीवनको । त्यसैले अक्षय तृतीयामा सर्वतको साथी भएर संगै आउदो रहेछ ।
आधुनिकतासँगै कतिपय सवालमा हाम्रा पर्वहरू हराउदै छन् । छान्दोग्योपनिषदमा खानपानका धेरै नियमहरू बताईएको छ । खानपानले चित्त शुद्धी होस्, शरीर पुष्ट होस्, भावना शुद्ध बनोस् भन्ने विहङ्गम सोचबाट प्रतिपादित भएका छन् हाम्रा चाड- पर्व रिति- रिवाज र संस्कारहरू । यसको जगेर्ना सबैले गर्नु जरुरी छ ।
जलको महत्व जीवन पर्यन्त छ । जलको धैर्म भनेकै शीतलता प्रदान गर्नु पनि हो । पानीले निर्मल आनन्द दिन्छ । जौले पोषण । जल र जौको महत्त्वलाई सधैं स्थापित गर्न अक्षय तृतीया एक खालको अर्चना बनेको रहेछ । हाम्रा कतिपय स्थापित मान्यता, पर्व संस्कार,पद्धति र जीवनशैलीहरूलाई यस्ता अक्षय तृतीया र अन्य चाड- पर्व अझै अर्चना योग्य बनुन् । अक्षय तृतीया तिमीलाई सतत शुभकामना ।।
(ऋषभदेव घिमिरे चर्चित साहित्यकार हुन् ।)
[email protected]