सखारै जब पुजा कोठाबाट
बग्दै बग्दै आउँछन्
घाम झैँ उज्याला मन्त्रहरूका ध्वनि
तव व्युँझन्छ घर,
घरसंगै बिउँझिन्छौँ हामी घरभित्र बस्नेहरू
घरको आँगनीमा
झुलिरहन्छन् तुलसी फुलिरहन्छन् पारिजात
सुगन्ध बोकेर दौडिरहन्छ बतास,
छानोमा चारो खाएर अघाएका चराहरू
गाइरहन्छन् जीवनको मिठो गीत
घरमा आइरहन्छन् इष्टमित्र
आइरहन्छन् साथीभाइ
घरभित्र सँधै यौटा व्यस्तता छ
एकादशी आउँछ
सङ्क्रान्ति आउँछ, औँशी आउँछ पूर्णिमा आउँछ
किनभने घरमा आमा हुनुहुन्छ !
विहान अबेरसम्म सुत्न पाइँदैन
समय मै पाक्छ भात
नखाइ बाहिर जान पाइँदैन
साँझबत्तीसम्म घर फर्कनुपर्छ
घरमा यौटा नियम छ, कानुन छ
किनभने घरमा आमा हुनुहन्छ !
त्यो आत्मविश्वास, त्यो उर्जा
लाग्छ बुढो हुने त मान्छेको मन रहेछ
मात्र समय अलिकति फर्किएको छ
अफिसबाट घर जाँदा
लानु छ अलिकति फलफुल र गुलिया बिस्कुटहरू
जसरी आमाले ल्याउनु हुन्थ्यो म सानो हुँदा
किन्नु छ आमालाई मन पर्ने
अमलाको बास्ना आउने तेल एक बोतल
त्यसरी नै कोरिदिनु छ आमाको कपाल
जसरी म सानो हुँदा आमाले बाटि दिनुहुन्थ्यो दुई चुल्ठी !
आमालाई आजकल गफिन खुब मनपर्छ
रामायण, महाभारत, गीता, उपनिषद्
बिर्सेपनि अहिलेका कुरा
याद छन् पुराना सबै कुरा
उहाँ यसरी दोहोर्याईरहनु हुन्छ
विगतमा माइतिघर फिल्म हेरेका कुरा
सायद मैले त्यसरी नै दोहोर्याए होला
तेते बोली बोल्न खोज्दा शब्दहरू
फरक मात्र यत्ति हो कि
बेफुर्सदमा पनि फुर्सदिला हुँदारहेछन् आमाहरू
म भने सँधै हतारको गीत गुन्गुनाइरहेकी हुन्छु !
आमाका दाँतहरू झरिसके
तर अनुहारको हिस्सी उस्तै देख्छु
चाउरिएका ती हातहरू
जसलाई थामेर म हिँडन सिकेँ
म त आज पनि बलिष्ठ देख्छु
यस्तो लाग्छ
पीडाहरू आउने छैनन्
दुःख दर्द छाउने छैनन्
म त्यो भाग्यमानी हुँ
जसलाई न चिन्ता न डर छ
किनभने मेरो घरमा आमा हुनुहुन्छ !!
(पहाडी चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]