यहीँ देखेको हुँ मैले
प्रथम पटक आकाशधर्ती
आमाको काखमा बसेर
यहीबाटै..
यही घरको पेटीबाट
हेरेको हुँ जूनतारा
प्रथम पटक कविताक्षर कोरेको
यहीँबाटै हो
सेल्मे र ट्याम्केले
निर्निमेष हेरेको मलाई
यहीँ हो
यही घरको अग्लो अटाली…
जहाँ आमाका पीडाका थुप्रै दीव्य मन्त्रहरू
चैतन्य छन्
यही घरको बार्दलीमा उभिएर
मैले उडिरहेको जहाज हेरेको हुँ
यहीँबाटै छरेको हुँ
परेवालाई आँगनभरि चारो…
यहीँबाटै पल्टिएका हुन् जिन्दगीका पानाहरू
र छापिएका हुन् ठुल्ठुला अक्षरमा भरोसा
लाखबत्तिजस्तो आमाको उज्यालो अनुहार हेरेर
मेटिएका हुन् जिन्दगीको बेचैनी पेन्टिङ
यही घरको कुनाकुनाबाट
टिपेको हँु मैले
आमाको ममता र वात्सल्यको असङ्ख्य सितारा
अहो ! यही घरको आँगनबाटै
हेर्दाहेर्दै विसर्जित भए
वात्सल्यरूपि करूण ती पूर्ण घडा !!
किन आउँछन् यी बेइमानी छालहरू
र स्वाट्ट बगाएर लैजान्छ जिन्दगी !!
वर्षादले भिजेको मुढो
बल्दछ कसरी अग्निशिखामा हुरूरू
आजकाल यहीँ छन्
यी सग्ला दिनहरू
पट्यारलाग्दो बनेर गिज्याइरहन्छन्
बाँसझ्याङबाट
झ्याउँकिरीले गिज्याएजस्तै
आमाले छोडेर गएको
भयानक उदासी
छाइरहन्छ मनको बगैचामा
आफ्नाहरूको भीडमा
म पराइ बाँचेको
नसोध्नू मेरो हाल…
सुनसान जङ्गलको बाटो भएर
हिँडेको धेरै पछि
आज अचानक बाडुली लाग्यो
सम्झिएँ… आमा !!
मातृदिवस अमावस्याको पूर्वसन्ध्या
धेरै सम्झिएँ…
बाडुलीले मात्र सम्झिरहेँ…
आमा !!!
(गीता कार्की चर्चित कवि हुन् ।)
[email protected]