रोक्यो कि आमा दैवले त्यतै, कि बाटो पाइनौ
फर्केर आयो यो दिन फेरि, तिमी चाहीँ आइनौ ।
आजकै दिन गएकी थियौ, संसार छोडेर
लाला र बाला, सन्ततिसँग मुख उता मोडेर
त्यही दिनदेखि पर्खी बस्याछौँ, के थाहा पाइनौ ?
फर्केर आयो यो दिन फेरि, तिमी चाहीँ आइनौ ।
आकाश रोयो, बादल रोयो, रोएको छ है दिन
बलेँसी धारा, परेली सारा, भिजेर छिनका छिन
त्यो एक्लो गाउँमा खोजेर मलाई, के तिमी रोइनौ ?
फर्केर आयो यो दिन फेरि, तिमी चाहीँ आइनौ ।
गाको दिनदेखि पुकारा हाम्रो, फर्केर आऊ भनी
बसेका छौँ है विश्वास गरी, आउने दिन गनी
कि सन्देश हाम्रो पुग्दैन आमा, किन आउनै चाहिनौ
फर्केर आयो यो दिन फेरि, तिमी चाहीँ आइनौ ।
यहाँ त थियौँ रोक्ने र छेक्ने, त्यहाँ कसले रोक्छ नि ?
नजानू आमा छोडेर भनी, को बाटो छेक्छ नि ?
पर्खिरहेकाछन् छोरा र छोरी, कसैलाई भनिनौ ?
फर्केर आयो यो दिन फेरि, तिमी चाहीँ आइनौ ।
(इलाम निवासी, पुष्पा खनाल चर्चित कवि तथा गीतकार हुन् ।)
[email protected]