डिमचरी !
उसबेला त सङ्लो थियो
शीतको थोपा बग्ने- यो खोलाको पानी !
कलिलो घामजस्तै एउटा बालक
हरेक दिन,
त्यही पानीको ऐनामा
हेर्ने गथ्र्यो आफ्नो अनुहार
र मुस्कुराउँथ्यो- खुसीको खुर्पे चन्द्रमा !
डिमचरी !
वर्षौंवर्ष पछि आज
त्यही खोलामा फेरि बगिरहेछ- धमिलो पानी !
कहाँ हराए होलान्
पानीसँगै पिरती साट्ने वैँसका धुनहरू ?
कसरी उडाइलगे होलान्
निष्ठुरी बादलले उमेरका सप्तरङ्गी सपनाहरू ?
डिमचरी !
आजकल त
डिलमा उक्लिएर
खोला आफैँ हेरिरहेछ
हजारौँ अनुहारहरूको ऐना !
किन होला
यी ऐनाहरू ऐनाजस्तै लाग्दैनन् ?
हो डिमचरी !
आफ्नै दियालो निभाएर
उज्यालो खोज्न हिँडेको श्यामसरणलाई
के थाहा होस् र
यो खोलामा,
पानी होइन- आमाको मन बग्छ भनेर ?
(प्रथा चर्चित कवि हुन् ।)
[email protected]